मेडिकल काउन्सिलको प्रमाणपत्र लिन लेखा नम्बर र कर चुक्ता अनिवार्य

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि स्थायी लेखा नम्बर (प्यान) र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको छ ।

काउन्सिलले मंसिर १० गते सूचना जारी गर्दै प्रमाणपत्रका लागि आवेदन दिँदा आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्न चिकित्सक तथा सेवाग्राहीलाई जानकारी गराएको हो ।

नेपाल सरकार, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३२१ मा गरेको व्यवस्थाअनुसार कर चुक्ता प्रमाणपत्र र प्यान अनिवार्य गर्ने व्यवस्था कार्यान्वयन गर्न काउन्सिलले यस्तो निर्णय गरेको जनाएको छ ।

काउन्सिलको असोज १ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार मंसिर १५ गतेदेखि यो व्यवस्था लागू हुनेछ ।

काउन्सिलबाट जारी गरिने सबै प्रकारका प्रमाणपत्रका लागि प्यान तथा सोको प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

त्यस्तै, गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि हाल कार्यरत रहेको खुल्ने गरी रोजगारसम्बन्धी पत्र पेस गर्नुपर्नेछ । 

विदेशमा कार्यरत चिकित्सकले सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी गरिएको गुड स्ट्यान्डिङ प्रमाणपत्र पनि पेस गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

काउन्सिलले रोजगारीमा संलग्न नभएको अवस्थामा सोको बेहोरा स्पष्ट खुलाएर निवेदन दिनुपर्ने जनाएको छ । 

निवेदनमा उल्लेख गरिएका विवरण वा पेस गरिएका कागजात झुटा वा गलत भएको पाइएमा तथा रोजगारीमा संलग्न रहेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनअनुसार कारबाही हुने र भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र रोक्का हुन सक्ने चेतावनीसमेत दिएको छ ।

काउन्सिलले चिकित्सकहरूलाई प्रमाणपत्रका लागि आवेदन दिँदा वास्तविक तथा सत्य विवरण उल्लेख गरी आवश्यक र प्रमाणित कागजात मात्र पेस गर्न आग्रह गरेको छ ।

Share News