जाजरकोटमा एकैदिन २ हजारको उपचार, वृद्ध आमाले भनिन्– ‘तपाईं मेरो सातौं छोरा’

काठमाडौं । जाजरकोट जिल्ला अस्पतालमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन २ हजार १५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

गिरिजाप्रसाद कोइराला फाउण्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा बुधवार सञ्चालित शिविरमा महिला, बालबालिका तथा वृद्धवृद्धासहित ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए । 

शिविरमा १६५ जनाको ईसीजी, ३९८ जनाको भिडियो एक्सरे, १८३ जनाको प्रयोगशाला परीक्षण र १२९ जनाको इको परीक्षण गरिएको थियो । 

त्यस्तै, २९ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका १६२ जनालाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको आयोजकले जनाएको छ । 

शिविरमा नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनीलकुमार शर्मा स्वयं बिरामीको स्वास्थ्य अवस्था बुझ्न खटिएका थिए । 

यसक्रममा स्वास्थ्य परीक्षणका लागि दुई दिन लगाएर १८ कोस टाढाबाट आएकी एक वृद्ध आमाले डा. शर्मालाई आफ्नै छोरासरह मानेर आशीर्वाद दिइन् । 

उनले डा. शर्माको हात समाउँदै भनिन्, ‘तपाईंजस्तो मनकारी डाक्टर मैले नेपालभरिमै देखेको छैन । मेरा ६ छोरा छन्, अब तपाईंलाई थपेर सात छोरा बनाएँ । तपाईंलाई केही अप्ठ्यारो परे मेरा ६ छोरा पठाउँछु ।’

शिविरमा सहभागी महिलाहरूले डा. शर्मालाई कटुस उपहारसमेत दिएका थिए । 

कटुस उपहार दिने महिलामध्ये एक जना २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा ज्यान गुमाएका नवराज विकसहित ६ जनामध्ये एकका परिवारकी सदस्य रहेको जनाइएको छ । 

कर्णालीका दुर्गम बस्तीमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले फाउण्डेसन र केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

अभियानअन्तर्गत मंसिर ११ गते डोल्पाको दुनै, मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । 

शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ । थप उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिनेछ ।

रिफर भएका बिरामीको प्रत्यारोपण तथा ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था गरिएको छ । तर औषधिको खर्च भने बिरामी आफैले बेहोर्नुपर्नेछ । 

दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट कर्णालीका विभिन्न जिल्लाका नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Share News