काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन अघि बढाउने बताएका छन् ।
उद्योगमा रहेका पुराना मेसिन तथा उपकरणको अवस्था अध्ययन गरी तिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत उद्योगलाई नयाँ जीवन दिन सकिने उनको भनाइ छ ।
शुक्रबार हेटौँडा कपडा उद्योगको अवलोकन गर्दै मन्त्री पुनले उद्योगमा रहेका मेसिनहरू निकै पुरानो प्रविधिका भए पनि अझै काम गर्न सक्ने अवस्थामा रहेको बताए । विगतमा प्रयोग हुँदै आएका मेसिनलाई तत्काल विस्थापित गर्नुभन्दा तिनको प्राविधिक अवस्था अध्ययन गरेर आवश्यक सुधार गर्नुपर्ने उनको धारणा छ ।
मन्त्री पुनले उद्योगमा आवश्यक पर्ने सानातिना पार्टपुर्जा तथा उपकरण स्वदेशमै उत्पादन गर्न सकिने सम्भावनाको खोजी गर्नुपर्ने बताए । यसका लागि प्राविधिक टोली निर्माण गरी उद्योगका मेसिन र उपकरणको विस्तृत अध्ययन गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘यो कारखानाका मेसिनहरू धेरै पुराना छन् । हाम्रो जिजुबाजेको पालाका हुन् । यो प्रविधि धेरै पुरानो हो । पुरानो भए पनि यो फलामको हो, काम गर्छ । यसबारे केही अनुसन्धान गरेर, नवप्रवर्तन गरेर यसलाई स्वचालित बनाउने किसिमले अनुसन्धान र नवप्रवर्तन गर्न सकिन्छ । साना पार्टपुर्जा हामी आफैँले बनाउन सक्छौँ कि भनेर यसबारे छलफल गर्न आएको हो ।’
उद्योगमा विगत २०३६ सालदेखि काम गर्दै आएका प्राविधिक तथा इन्जिनियरहरू रहेकाले उनीहरूको अनुभव र ज्ञान उद्योगको पुनः सञ्चालनका लागि महत्त्वपूर्ण हुन सक्ने मन्त्री पुनले बताए ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण आर्थिक स्रोत उपलब्ध गराउन नसके पनि अनुसन्धान र नवप्रवर्तनका काममा सहयोग गर्न सक्ने उनले उल्लेख गरे ।
‘अनुसन्धान तथा नवप्रवर्तन’ पैसाले मात्र सम्भव नहुने उल्लेख गर्दै मन्त्री पुनले त्यसका लागि दक्ष र बलियो प्राविधिक टोली आवश्यक पर्ने बताए । उनले तत्काल विगतकै अवस्थामा उद्योग सञ्चालन गर्न सम्भव नभए पनि चारदेखि सात सय जनासम्मलाई रोजगारी दिन सक्ने गरी उद्योगलाई पुनर्जीवन दिने प्रयास गर्नुपर्ने बताए।