नारायणगढ-मुग्लिङ सडक आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न मंसिर १३ गते आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामको काम गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त समयमा नारायणगढ-मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि प्रयोग गरी रोकथामको काम अघि बढाउन लागेको हो । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका उपाय अपनाउन लागिएको कार्यालयले जनाएको छ ।

पहिरो रोकथामका लागि ठूला ढुङ्गा पन्छाएर भिरको भिरालोपन व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने नेलिङ प्रविधि प्रयोग गरिनेछ । त्यसैगरी, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न तेर्सो निकास प्रविधि र जैविक इन्जिनियरिङका उपायसमेत अपनाइनेछ ।

सडक डिभिजन भरतपुरका अनुसार भिरको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा जैविक इन्जिनियरिङका उपाय अवलम्बन गरिनेछ । पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिनेछ ।

सडक डिभिजन भरतपुरका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिनसम्म सडक बन्द गरेर काम गर्नुपर्ने देखिएको छ । यद्यपि, प्राविधिक मूल्याङ्कनपछि कति समय सडक बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ । तत्कालका लागि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सम्पन्न हुने र पर्सिदेखि राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन भरतपुरले जनाएकाे छ ।

प्रशासनका अनुसार काठमाडौंबाट मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहनेछ । सडक बन्दका कारण यात्रुलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै प्रशासनले आफ्नो यात्राको समय व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

Share News