काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विभिन्न स्थानमा मङ्सिर १२ गतेदेखि १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
केन्द्रका अनुसार काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली भूमिगत गर्ने काम भइरहेको छ ।
भूमिगत कार्य सम्पन्न भएका केबलमा संरचना जडान, उच्च तथा न्यून भोल्टेजका केबल जडान, केबल जडानसम्बन्धी अन्य काम, केबल चार्ज गर्ने कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
प्राधिकरणले तोकिएका चारै दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग र नापी विभाग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
त्यसैगरी, भोलि (आइतबार) शंखमूल मार्ग, एभरेष्ट हस्पिटल क्षेत्र, मुक्ति टावर, थ्री ब्रदर्स पेट्रोल पम्पप क्षेत्रमा विद्युत् कटौती हुनेछ भने सोमबार बुद्धनगर, अल्फाबेटा र बिजुली बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ ।
मङ्सिर १५ गते मंगलबार ३१ नम्बर वडा कार्यालय क्षेत्र र तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । तोकिएको समयअगावै काम सम्पन्न भएमा निर्धारित समयभन्दा पहिले नै विद्युत् आपूर्ति सञ्चालन हुन सक्ने केन्द्रले जनाएको छ ।