काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन क्यान्डिडेट क्लब समितिमा सदस्यहरू मनोनयन गर्नुका साथै प्रारम्भिक कार्यसूची तय गरेको छ ।
समितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा समितिमा विभिन्न सदस्यहरूलाई जिम्मेवारी तोकिएको हो । जसमा संयोजक बुर्लाकोटीसहित डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल सदस्यका रूपमा रहेका छन् ।
समितिको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचन लक्षित उम्मेदवार छनोट प्रक्रियालाई प्रणालीगत बनाउने विषयमा गहन छलफल गरेको छ । बैठकले उम्मेदवारका आकांक्षी तथा आवेदकहरूबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि र प्रक्रिया निर्धारण गर्ने एजेन्डा अघि सारेको छ ।
त्यसैगरी, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ‘ल्याटेरल इन्ट्री’ सम्बन्धी आवेदन फारम तयार गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । यसका साथै छनोट प्रक्रियालाई थप निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी-विरोध सम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने निर्णय समेत बैठकले अघि बढाएको छ ।