काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकारका नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयनका लागि पार्टीका नेता तथा कार्यकर्ताले निगरानी, विश्लेषण र सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
‘जनताका कुरा सुन्ने’ अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीमा आयोजित पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा उनले सरकारका कामको सूक्ष्म अध्ययन गरी कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्न र समाधानका लागि सहकार्य गर्न पार्टी पङ्क्तिलाई आग्रह गरे ।
सरकार गठन भएको करिब आठ महिनाको अवधिमा भएका कामको समीक्षा गर्दै जनअपेक्षाअनुसार काम भए नभएको मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।
जिल्ला तथा स्थानीय तहका पार्टी नेतृत्वले जनताका गुनासा र अपेक्षा सरकारसम्म पुर्याउने तथा सरकारले गरेका काम जनतामाझ लैजाने सेतुका रूपमा काम गर्नुपर्ने उनले बताए ।
विगत लामो समयदेखि थुप्रिएका समस्याको पहिचान र विश्लेषण गर्ने काम सरकारले गरिसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अब अल्झिएका विषयको गाँठो फुकाउँदै नतिजामुखी काममा केन्द्रित हुनुपर्ने धारणा राखे ।
ऊर्जा मन्त्रालयका गतिविधिबारे जानकारी दिँदै उनले विद्युतमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी विषयलाई सहजीकरण गर्न आफूले पहल गरिरहेको बताए । सम्भवतः आर्थिक ऐन संशोधनका क्रममा यस विषयको सम्बोधन हुने अपेक्षा रहेको उनले उल्लेख गरे ।
स्थानीय तहमा ऊर्जाको दिगो उपयोग र उत्पादन विस्तारका लागि ‘ऊर्जामा आत्मनिर्भर पालिका’, एलपी ग्यासमुक्त पालिका तथा फोहोरबाट ऊर्जा उत्पादन गर्ने लगायत कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय सरकारसँग समन्वय गरी सक्रिय हुन उनले आग्रह गरे ।
मन्त्रालयले अधिकार र बजेट विकेन्द्रीकरणको नीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सम्बन्धित प्रदेश तथा कार्यालयसँग समन्वय गरी आफ्नो क्षेत्रमा सञ्चालित आयोजनाको प्रगति र निर्माण गुणस्तरको नियमित अनुगमन गर्न पनि आग्रह गरे ।
व्यक्ति केन्द्रित कार्यशैलीको सट्टा विधि र प्रणालीमा आधारित शासन व्यवस्था स्थापित गर्ने प्रयास भइरहेको बताउँदै उनले बजेट कार्यान्वयनसँगै विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए ।
कास्कीमा फेवा, रुपालगायतका तालको संरक्षणका लागि प्रदेश सरकारसँग सहकार्य अघि बढाइएको उनले बताए । अन्तरक्रियामा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले सरकारका कामको अवस्था, जनताका गुनासा र अपेक्षा तथा विकास निर्माण र सुशासनसँग सम्बन्धित विषयमा मन्त्री श्रेष्ठसमक्ष आफ्ना धारणा र सुझाव राखेका थिए ।