साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण हुँदा एक नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबको जजान क्षेत्रमा रहेको पेट्रोलियम प्रशोधन केन्द्रमा भएको आक्रमणमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आक्रमणमा विभिन्न देशका अन्य केही नागरिक घाइते भएका छन् ।

साउदी अरबको ऊर्जा मन्त्रालयले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै प्रशोधन केन्द्रलाई लक्षित गरी हवाई आक्रमण भएको जनाएको हो । मन्त्रालयका अनुसार आक्रमणमा प्रयोग भएको हवाई प्रक्षेप्य प्रशोधन केन्द्रमा खसेपछि आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा लिइए पनि सुरक्षाका कारण केन्द्रका केही गतिविधि अस्थायी रूपमा बन्द गरिएको छ । घाइतेहरूको अवस्था फरक–फरक रहेको र उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, यमनको हुथी समूहले पछिल्लो ४८ घण्टामा साउदी अरबले गरेको हवाई आक्रमणमा १९ जनाको मृत्यु भएको र २५ जना घाइते भएको दाबी गरेको छ । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै मृतकमा महिला तथा बालबालिका पनि रहेको जनाएको छ । घाइतेमध्ये छ बालबालिका र पाँच महिला रहेको समाचारमा उल्लेख छ ।

उक्त टेलिभिजनका अनुसार यमनको लालसागर तटीय क्षेत्र होदेदाहस्थित ढल प्रशोधन केन्द्र तथा अन्य स्थान, उत्तरपश्चिमी प्रान्त हज्जाहमा कृषि उपकरण र उत्तरी सीमावर्ती प्रान्त सादाका बस्तीहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो । यद्यपि, हुथी समूहले सार्वजनिक गरेको हताहतीको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

बिहीबार सिन्ह्वासँग कुरा गर्दै स्थानीय बासिन्दाहरूले यमनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको पुष्टि गरेका छन् । विशेषगरी राजधानी साना र होदेदाहमा व्यापक बमबारी भएको उनीहरूको भनाइ छ ।

यमनको हुथी समूह र साउदी अरब नेतृत्वको गठबन्धन समर्थित सरकारी सेनाबीच तनाव बढिरहेका बेला पछिल्ला आक्रमणका घटना भएका हुन् । केही दिनयता हुथी समूहले साउदी अरबका विमानस्थल, बन्दरगाह तथा ऊर्जा केन्द्रहरूलाई लक्षित गरी पटक–पटक आक्रमण गरेको दाबी गर्दै आएको छ । त्यसको जवाफमा साउदी अरबले यमनका विभिन्न क्षेत्रमा हवाई आक्रमण तीव्र बनाएको हुथी सञ्चारमाध्यमले जनाएका छन्। 

Share News