तेल ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । इजिप्टको राजधानी कायरोको वराक क्षेत्रस्थित रिङ रोडमा बुधबार राति भएको तेल ट्यांकर दुर्घटना र आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा अनियन्त्रित भई इन्धन ट्यांकर पल्टिएपछि ठुलो विस्फोट भएको र आगो फैलिएको हो । 

आगोको लप्का र तीव्रताका कारण आसपासका अन्य धेरै सवारीसाधन जलेर नष्ट भएका थिए भने सार्वजनिक भिडिओमा घटनास्थलमा ठुलो ज्वाला र बाक्लो धुवाँको मुस्लो उठेको देखिएको छ । जलिरहेका सवारीसाधनभित्र फसेका मानिसहरूलाई उद्धार गरिएको भए पनि ठूलो मानवीय क्षति भएको छ ।

घटनाको एकिन कारणबारे आधिकारिक पुष्टि भइनसके पनि राज्य सञ्चालित अल-अहराम अखबारले अनुसन्धान सम्बद्ध स्रोतलाई उद्धृत गर्दै निजी ठेकेदारको ट्यांकर गुडिरहेका बेला अगाडि उच्च भोल्टेजको बिजुलीको तार खसेको उल्लेख गरेको छ । उक्त तार खसेपछि चालकले सवारीको नियन्त्रण गुमाउँदा ट्यांकर डिभाइडरमा ठोक्किएर पल्टिएको र त्यसपछि आगलागी भएको बताइएको छ ।

Share News