निगमले कर्जा नतिर्दा नागरिक लगानी कोषको अर्बौं जोखिममा, सरकारसँग माग्यो गुहार

काठमाडौं । नेपाल वायुसेवा निगमलाई दिएको कर्जा असुली गर्न नसकेको भन्दै नागरिक लगानी कोषले सरकारसँग विशेष पहल र सहजीकरणको माग गरेको छ । 

निगमको कमजोर वित्तीय अवस्थाका कारण ठूलो रकम भुक्तानी हुन नसकेको र त्यसको ब्याजसमेत अर्बौं रुपैयाँ पुग्न थालेपछि कोषले सरकारी हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीले बिहीबार संसद्को अर्थ समितिको बैठकमा सरकार जमानी बसेर उपलब्ध गराएको कर्जा असुली गर्न कोषको एकल प्रयास पर्याप्त नभएको बताए । 

सरकारले प्रभावकारी पहल नगरे बचतकर्ताको रकम नै जोखिममा पर्न सक्ने उनको चेतावनी छ ।

कार्कीका अनुसार निगमको वित्तीय अवस्था कमजोर हुँदा कोषले उपलब्ध गराएको ठूलो रकम लामो समयदेखि भुक्तानी हुन सकेको छैन । कर्जाको ब्याजसमेत अर्बौं रुपैयाँ पुग्ने अवस्था रहेकाले यो विषय कोषका लागि गम्भीर चुनौती बनेको उनले बताए ।

कोषले आफ्नातर्फबाट कर्जा असुलीका लागि निरन्तर प्रयास गरिरहेको र यस विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल तथा समन्वयसमेत भइरहेको उनले जानकारी दिए । 

तर मन्त्रालयबाट प्राप्त निर्देशन र सुझावले मात्रै कर्जा असुली सम्भव नहुने भन्दै उनले सरकारी तहबाटै थप सक्रियता र ठोस पहल आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘विशेषगरी, नेपाल वायुसेवा निगमलाई प्रदान गरिएको कर्जा अहिले हाम्रो संस्थाका लागि ठूलो चुनौती बनेको छ । उक्त संस्थाको वित्तीय क्षमता कमजोर रहेको छ । ठूलो रकम भुक्तानी भएको छैन । नेपाल वायुसेवा निगममा कोषले गरेको लगानी तथा कर्जा असुलीका लागि सरकारबाट आवश्यक पहल र सहजीकरण होस् भन्ने हाम्रो अपेक्षा छ ।’

अर्थ समितिमा कार्कीले कर्जा असुलीबाहेक कोषको संस्थागत क्षमता, नागरिक पेन्सन योजना, लगानी विस्तार र सेवा प्रवाह सुधारका विषय पनि उठाएका थिए ।

उनले कोषको आवश्यकता र कार्यप्रकृतिअनुसार जनशक्ति व्यवस्थापन गर्न तयार गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) प्रतिवेदन स्वीकृतिको प्रक्रिया छिटो अघि बढाउन आग्रह गरे । 

जनशक्ति अभाव र संगठनात्मक संरचनासम्बन्धी समस्या समाधान गर्न प्रतिवेदन कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै, नागरिक पेन्सन योजनामा सहभागी हुने व्यक्तिले भविष्यमा पेन्सन रकम प्राप्त गर्दा लाग्ने करबारे स्पष्ट कानुनी व्यवस्था गर्न उनले माग गरे । 

सहभागीले आफ्नो आम्दानीबाट कर तिरेर रकम जम्मा गर्ने भएकाले पेन्सन भुक्तानीका क्रममा करसम्बन्धी सहुलियत र व्यवस्थाबारे कानुनमै स्पष्ट हुनुपर्ने उनले बताए ।

कार्कीले स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत समेटेर नागरिक पेन्सन योजना विस्तार गर्ने कोषको योजना रहेको जानकारी दिए । 

योजनाबारे प्रचारप्रसार र जनचेतना अभिवृद्धि गरी बढीभन्दा बढी नागरिकलाई सहभागी गराउने लक्ष्य रहेको उनले बताए ।

कोषले नेपाल सरकारका प्राथमिकताप्राप्त परियोजना तथा क्षेत्रमा लगानी बढाउने, सहभागी कर्जाको दायरा विस्तार गर्ने र निजी पुँजी कोषजस्ता वैकल्पिक लगानीका क्षेत्रमा प्रवेश गर्ने योजना पनि बनाएको छ । 

त्यसैगरी, पुँजी बजारमा लगानी विविधीकरण गर्ने, नयाँ लगानी उपकरण प्रयोग गर्ने तथा बन्दमुखी सामूहिक लगानी कोष सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र लिने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

सहभागीलाई सरल र सहज सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग बढाउने तथा अनलाइन सेवाको दायरा विस्तार गर्ने योजना रहेको पनि उनले बताए । 

कोषले आगामी पाँच वर्षका लागि मार्गनिर्देशन गर्ने तेस्रो रणनीतिक योजना निर्माणको कामसमेत अघि बढाएको छ ।

Share News