काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई भारतको कोलकाताबाट पक्राउ गरेको हो ।
सीआईबीका एक प्रहरी अधिकृतले फरार अर्याललाई कोलकाताबाट पक्राउ गरिएको जानकारी दिए ।
मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप पूर्वमुख्यसचिव अर्यालमाथि छ ।
मलेसिया रोजगारी जाने श्रमिक ठगी प्रकरणमा हाल पूर्व दुई मन्त्रीसहित १० जना पक्राउ परिसकेका छन् ।
सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित केही पूर्व र बहालवाला सरकारी अधिकारी तथा व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
पक्राउ पर्नेमा तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ र तत्कालीन रोजगार व्यवस्था विभागका प्रमुख राजीव पोखरेलसमेत छन् ।
त्यसैगरी, असोज २९ गते चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४५ वर्षीय रामपुकार तिवारी थिए ।
श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालको भूमिका शंकास्पद
श्रमिक ठग्ने नेक्ससमा मलेसियन दूतावासको साथ
रकम विदेश पठाउन मन्त्रालयले नै पठाएको थियो राष्ट्र बैंकलाई पत्र