सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौंको फोहोर व्यवस्थापनलाई राजनीतिक मुद्दाभन्दा माथिको साझा र दीर्घकालीन विषयका रूपमा लिनुपर्ने बताएका छन् । 

उनले सिसडोल र बञ्चरेडाँडामा थुप्रिएको फोहोर क्रमशः घटाउँदै दैनिक तीन हजार किलो फोहोर हटाउने योजना अघि बढाइएको जानकारी दिएका छन् ।

बिहीबार टेकुस्थित बायोमिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा उत्पादनलाई जोडेर अघि बढाउनुपर्ने बताए ।

उनका अनुसार काठमाडौं महानगरपालिकाले अघि सारेका तीन कार्यक्रममध्ये काठमाडौंलाई पुनः रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास उत्पादन गर्ने कार्यक्रम अघि बढिसकेका छन् । 

फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि बाढीका कारण उपकरण बिग्रिएकाले तत्काल उत्पादन गर्न नसकिएको उनले बताए ।

उपकरण मर्मत गरी विद्युत् उत्पादन सुरु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए ।

‘फोहोरको मुद्दा अन्तरपुस्तासँग जोडिएको विषय हो । काठमाडौं र नेपाललाई न्याय गर्ने मुद्दा हो । यो सबैको साझा मुद्दा हो, राजनीतिकभन्दा पनि ठूलो मुद्दा हो,’ उनले भने, ‘१४ किलोवाट विद्युत् उत्पादन गर्न सकियो भने काठमाडौं महानगरपालिकाको १२ नम्बर वडाका लागि आयस्रोतसमेत बन्न सक्छ ।’

फोहोरबाट विद्युत् उत्पादन सम्भव छ भन्ने उदाहरण काठमाडौं महानगरपालिकाले प्रस्तुत गर्न सके अन्य स्थानीय तहलाई पनि यस्ता कार्यक्रम अघि बढाउन सहज हुने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले बञ्चरेडाँडामा व्यवस्थापनका लागि लगिएको फोहोरको परिमाण घटाउँदै दैनिक तीन हजार किलो फोहोर हटाउने योजना रहेको बताए । 

क्रमशः यसको क्षमता बढाउँदै काठमाडौं महानगरपालिकाले आफ्नो एक किलो फोहोर पनि ल्यान्डफिल साइटमा नपठाउनुपर्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले एउटा सपना देख्नुपर्छ– काठमाडौं महानगरपालिकाले आफ्नो एक किलो फोहोर पनि ल्यान्डफिल साइटमा लगेर प्रदूषित गर्दैन,’ उनले भने ।

उनले फोहोरबाट उत्पादन हुने ग्यासले सरकारले अघि सारेको ‘एलपीजीमुक्त स्थानीय सरकार’ अभियानलाई समेत सहयोग पुग्ने बताए । 

उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसद्मा दर्ता भइसकेकाले त्यसमा आवश्यक छलफल गरेर ग्यास वितरणको व्यवस्था मिलाउनुपर्ने बताए ।

उनका अनुसार फोहोरबाट उत्पादन हुने ग्यासको पाइपलाइन र वितरण प्रणालीबारे पनि आवश्यक समन्वय गर्नुपर्नेछ । स्थानीय तहलाई एकैपटक एलपीजीमुक्त बनाउन नसकिने भए पनि यस्ता कार्यक्रमले त्यसको सुरुवात गर्न सक्ने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले घरबाटै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न नागरिकमा जनचेतना बढाउनुपर्नेमा पनि जोड दिए । यसका लागि काठमाडौं महानगरपालिकाले घरघरबाट फोहोर छुट्याउने कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए ।

फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्य स्थानीय तहसँग पनि समन्वय गरेर अघि बढ्न उनले महानगरपालिकालाई आग्रह गरे । यस अभियानमा संघीय सरकार महानगरपालिकालाई सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

Share News