अमेरिकामा भीषण आँधी, ९ लाखभन्दा बढी घरमा विद्युत अवरुद्ध

४५४ उडान रद्द, २ हजार ४११ उडान ढिला

काठमाडौं । अमेरिकामा थ्याङ्क्सगिभिङ पर्वका बेला आएको शक्तिशाली आँधी र भारी वर्षाले लाखौं मानिसको जनजीवन प्रभावित भएको छ । 

मध्यपश्चिम र उत्तरपूर्वी क्षेत्रमा तीव्र हावाहुरी, मुसलधारे वर्षा र बाढीका कारण सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै ठूलो संख्यामा घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

बिहीबार (नोभेम्बर २६) थ्याङ्क्सगिभिङकै दिन आएको आँधीले अमेरिकाको पूर्वी तटीय क्षेत्र र मध्यपश्चिममा बढी असर पारेको छ । आँधीका कारण करिब ९ लाख ८ हजार घर तथा व्यवसायमा विद्युत् आपूर्ति बन्द भएको थियो । 

विद्युत् अवरुद्ध हुनेमा पेन्सिल्भेनिया, न्युजर्सी, मेरिल्यान्ड र भर्जिनिया राज्य बढी प्रभावित भएका छन् । पेन्सिल्भेनियामा मात्रै दुई लाखभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका थिए । 

आँधीका कारण हवाई यातायातसमेत अस्तव्यस्त बनेको छ । उडानसम्बन्धी विवरण राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार बिहीबार अमेरिकाभित्र, अमेरिकाबाट बाहिरिने तथा अमेरिका आउने गरी ४५४ उडान रद्द भएका थिए भने २ हजार ४११ उडान ढिला भएका थिए । वासिङ्टन र न्युयोर्क क्षेत्रका प्रमुख विमानस्थलमा बढी असर परेको थियो । 

अमेरिकी मौसम सेवाका अनुसार केही क्षेत्रमा हावाको गति प्रतिघण्टा ११२ किलोमिटर (७० माइल) सम्म पुगेको थियो । तीव्र हावाका कारण रुख ढल्नुका साथै विद्युत्का तारमा क्षति पुगेको थियो । न्युयोर्कको लागार्डिया विमानस्थलमा हावाको गति प्रतिघण्टा ९० किलोमिटर पुगेको थियो ।

भारी वर्षा र समुद्रको उच्च ज्वारका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रमा बाढीको समस्या पनि देखिएको छ । न्युयोर्क सहरमा थ्याङ्क्सगिभिङकै दिन डेढदेखि दुई इन्चसम्म वर्षा भएको थियो भने केही स्थानमा तीन इन्चसम्म पानी परेको थियो । 

स्टेटन आइल्यान्ड र लङ आइल्यान्डका तटीय क्षेत्रमा पानी पसेको थियो । बाढीका कारण सडकमा सवारीसाधन फसेपछि उद्धारकर्मीले केही चालकको उद्धार गरेका थिए ।

न्युजर्सीका तटीय सहरहरूमा पनि बाढीले ठूलो समस्या निम्त्याएको छ । एभालोन क्षेत्रमा इतिहासकै खराब बाढीमध्ये एक देखिएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

समुद्रको पानी सडकमा पसेपछि केही राजमार्ग बन्द गर्नुपरेको थियो । भर्जिनियाको चेसापिक बे ब्रिज–टनेल पनि तीव्र हावाका कारण केही घण्टा बन्द गरिएको थियो ।

खराब मौसमका कारण सांस्कृतिक कार्यक्रमसमेत प्रभावित भएका छन् । न्युयोर्कमा हरेक वर्ष आयोजना हुँदै आएको प्रसिद्ध ‘मेसिज थ्याङ्क्सगिभिङ डे परेड’ यसपटक स्थगित गरिएको छ । बिहीबार आयोजना हुने तय भएको परेड शनिबारका लागि सारिएको हो । 

परेडको सयौं संस्करणका रूपमा आयोजना हुन लागेको यो कार्यक्रम खराब मौसमका कारण स्थगित भएको पहिलो घटना हो । तीव्र हावाका कारण परेडमा प्रयोग हुने विशाल बेलुन उडाउन जोखिम हुने भएपछि आयोजकले कार्यक्रम सारेका हुन् ।

यसैबीच, अमेरिकामा यस वर्षको थ्याङ्क्सगिभिङ बिदाका अवसरमा ठूलो संख्यामा मानिसले यात्रा गरिरहेका छन् । अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार नोभेम्बर २४ देखि ३० सम्म कम्तीमा ५० माइल (करिब ८० किलोमिटर) यात्रा गर्ने अमेरिकीको संख्या ८ करोड १५ लाख पुग्ने अनुमान छ । 

तीमध्ये ७ करोड २९ लाख मानिसले निजी सवारीसाधनबाट यात्रा गर्ने र करिब ५९ लाख ६० हजारले आन्तरिक हवाई यात्रा गर्ने अनुमान गरिएको छ । 

यात्रुको चाप उच्च हुने पूर्वानुमानकै बीच खराब मौसमले यात्रा थप कठिन बनाएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले वर्षा र तीव्र हावाको पूर्वानुमान गर्दै बिदाको अवधिभर उडानमा ढिलाइ हुन सक्ने चेतावनी दिएको थियो ।

थ्याङ्क्सगिभिङ अमेरिकाको प्रमुख राष्ट्रिय पर्वमध्ये एक हो । हरेक वर्ष नोभेम्बर महिनाको चौथो बिहीबार मनाइने यो पर्वमा परिवार तथा आफन्त भेला भएर सामूहिक भोजन गर्छन् । 

जीवनका सुख, परिवार, राम्रो बाली र प्राप्त उपलब्धिप्रति कृतज्ञता व्यक्त गर्ने परम्परासँग जोडिएको यो पर्वमा टर्कीको परिकारसहित विशेष भोज गर्ने चलन छ ।

तर यसपटकको पर्वमा आँधी र बाढीले धेरै परिवारको खुसी प्रभावित पारेको छ । कतिपयले परिवारसँग बसेर पर्व मनाउनुको सट्टा बाढी पसेका घर सफा गर्न र क्षतिग्रस्त सडक तथा संरचनाको सामना गर्नुपरेको छ ।

उता, मौसम सेवाले पूर्वी तटीय क्षेत्रमा बिहीबार रातिदेखि क्रमशः मौसममा सुधार आउने अनुमान गरेको छ । यद्यपि शुक्रबार पनि केही क्षेत्रमा तीव्र हावा चल्ने र वर्षाको प्रभाव रहन सक्ने चेतावनी दिइएको छ ।

Share News