काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सार्वजनिक गरेको पछिल्लो भन्सार शुल्कसम्बन्धी प्रस्तावले एसियाली निर्यात बजारमा भारतलाई आफ्ना प्रतिस्पर्धी देशभन्दा लाभदायक अवस्थामा पुर्याउने देखिएको छ ।
अमेरिकाले भारतसँग लामो समयदेखि रोकिएको व्यापार सम्झौता टुंग्याउने सर्तमा भारतीय वस्तुको आयातमा १७ प्रतिशत भन्सार शुल्क प्रस्ताव गरेको छ ।
तर, व्यापार सम्झौता हुन नसके भारतले अमेरिकी कानुनको धारा ३०१ अन्तर्गत हुने अनुसन्धानका आधारमा २५ प्रतिशतसम्म भन्सार शुल्कको सामना गर्नुपर्ने हुन सक्छ ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले बुधबार सार्वजनिक गरेको प्रस्तावअनुसार बंगलादेश, कम्बोडिया र थाइल्यान्डबाट आयात हुने वस्तुमा १८ प्रतिशत तथा चीन र भियतनामबाट आयात हुने वस्तुमा २० प्रतिशत भन्सार शुल्क प्रस्ताव गरिएको छ । यी शुल्क पनि सम्बन्धित देशसँग हुने व्यापार सम्झौतामा निर्भर रहनेछन् ।
यस प्रस्तावले भारतलाई एसियाका अन्य प्रमुख निर्यातकर्ता देशको तुलनामा प्रतिस्पर्धात्मक लाभ दिने देखिएको छ ।
वासिङ्टनस्थित डीजीए अलब्राइट स्टोनब्रिज ग्रुपका साझेदार अतान त्रिवेदीले सीएनबीसीसँग कुरा गर्दै अमेरिकाले कम भन्सार शुल्कको प्रस्ताव गर्नुको उद्देश्य जी–२० शिखर सम्मेलनअघि भारतलाई व्यापार सम्झौतामा हस्ताक्षर गर्न प्रोत्साहित गर्नु रहेको बताए ।
उनका अनुसार भारतले आफ्ना प्रमुख प्रतिस्पर्धी देशको तुलनामा अमेरिकासँग राम्रो सम्झौता पाएको छ । यसले भारतीय सरकारलाई सम्झौतालाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै घरेलु समर्थन जुटाउन सहज बनाउन सक्छ ।
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग व्यापार सम्झौता भएको घोषणा गरेका थिए । त्यसबेला अमेरिकाले भारतमाथिको भन्सार शुल्क ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने सहमति भएको र भारतले अमेरिकी वस्तुको खरिद उल्लेख्य रूपमा बढाउन स्वीकार गरेको ट्रम्पको दाबी थियो ।
अमेरिकी दबाबमा भारत
भारत र अमेरिकाबीचको व्यापार सम्झौता लामो समयदेखि रोकिएको छ । दुवै पक्षले सम्झौताका लागि थप सहुलियत दिन सकिने ठाउँ सीमित रहेको संकेत गर्दै आएका थिए ।
तर, अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनका भन्सार शुल्कसम्बन्धी कदम खारेज गरेपछि भारतले आफ्ना प्रतिस्पर्धी देशभन्दा अनुकूल भन्सार दरको माग गर्ने अवसर पाएको थियो ।
स्ट्यानफोर्ड विश्वविद्यालयअन्तर्गतको हूवर इन्स्टिच्युसनका भिजिटिङ फेलो रोनक डी देसाईले सीएनबीसीसँग कुरा गर्दै पछिल्लो घोषणाले व्यापार सम्झौता टुंग्याउनुपर्ने दबाब बढाएको बताए ।
उनका अनुसार १७ प्रतिशत भन्सार शुल्कको सम्भावनाले सम्झौता गर्नु आर्थिक रूपमा लाभदायक देखाउन सक्छ । तर, २५ प्रतिशत शुल्क लगाउन सकिने अमेरिकी चेतावनीले भारतीय सरकारलाई संवेदनशील अवस्थामा पुर्याउन सक्छ ।
देसाईले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार अमेरिकाको दबाबमा परेर भारतले सम्झौतामा सहुलियत दिएको भन्ने सन्देश जान नदिन विशेष रूपमा सचेत रहने बताए ।
भारतको वाणिज्य मन्त्रालयले बुधबार यूएसटीआरको अनुसन्धान प्रतिवेदनप्रति असहमति जनाउँदै भारतको कुनै पनि क्षेत्रमा संरचनागत अतिरिक्त उत्पादन क्षमता नरहेको जनाएको छ ।
यद्यपि, मन्त्रालयले भारत–अमेरिका द्विपक्षीय व्यापार सम्झौता चाँडै टुंग्याउन अमेरिकासँग नजिक रहेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
अमेरिकाले भारतमाथिको भन्सार शुल्क बढाएर ५० प्रतिशतसम्म पुर्याएको अवस्थामा पनि दुई देशबीचको व्यापारमा भारतको बचत बढेको थियो ।
सन् २०२४ मा अमेरिकासँग भारतको व्यापार बचत ४५ अर्ब २० करोड डलर रहेकामा सन् २०२५ मा बढेर ५७ अर्ब ३० करोड डलर पुगेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प आगामी डिसेम्बरमा अमेरिकाको फ्लोरिडामा हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा भेट्ने सम्भावना छ ।
केही विज्ञले उक्त सम्मेलनका क्रममा दुई नेताले व्यापार सम्झौतालाई अन्तिम रूप दिन सक्ने विश्वास व्यक्त गरेका छन् ।
रोल्स रोयसलाई चुनौती दिँदै बीवाईडीले ल्यायो ४.६० करोडको अल्ट्रा लक्जरी कार
चीनको अन्तरिक्ष स्टेशनमा पुग्ने पहिलो विदेशी बने पाकिस्तानका जिशान अली
ट्रम्पको एक फोनले एनभीडीया फर्किए जेन्सन हुआङ
‘शिखर सम्मेलन’मार्फत विश्वमा प्रभाव विस्तार गर्दै चीन
बंगलादेशमा बम, आगजनी र राजनीतिक भूकम्प
आणविक युद्ध नलड्ने तीन महाशक्तिको घोषणा
आईपीओमा एन्थ्रोपिकको विश्व रेकर्ड, कम्पनीको बजार मूल्य १.५ ट्रिलियन डलर पुग्यो
जेन्सनको पुनरागमनमा बोर्डको ‘ब्रेक’, जासुसीको छानबिन जारी
एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको नयाँ दाबी
सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी