कायरोमा भीषण सडक दुर्घटनापछि आगलागी हुँदा ३१ जनाको मृत्यु, २१ जना घाइते

काठमाडौं । इजिप्टको राजधानी कायरोमा बुधबार साँझ भएको भीषण सडक दुर्घटनापछि आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको थियो । आगो आसपासबाट गुज्रिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो ।

यो दुर्घटना कायरोको वराक क्षेत्रमा पर्ने रिङ रोडमा भएको हो । घटनापछि नजिकैका अस्पतालमा आगोले जलेका तथा धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएका घाइतेहरूको उपचार गरिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राजमार्गमा आगोका ठूला लप्का र आकाशमा उठिरहेको कालो धुवाँको मुस्लो देखिएको छ । आगलागी यति भीषण थियो कि आसपासमा रहेका कैयौं सवारीसाधनसमेत जलेर नष्ट भएका थिए ।

यद्यपि, अधिकारीहरूले आगलागीको आधिकारिक कारणबारे खुलाएका छैनन् । सरकारी सञ्चारमाध्यमका अनुसार इन्धन ट्यांकर पल्टिएपछि त्यसमा रहेको पेट्रोल सडकमा पोखिएको थियो । त्यसपछि आगो फैलिँदा आसपासका सवारीसाधनसमेत चपेटामा परेका थिए ।

सरकारी अखबार अल–अहरामले अनुसन्धानसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै निजी ठेकेदारको स्वामित्वमा रहेको उक्त ट्यांकर राजमार्गबाट गुज्रिरहेको बेला अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेको जनाएको छ । त्यसपछि चालकले सवारीसाधनमाथिको नियन्त्रण गुमाएका थिए ।

नियन्त्रण गुमाएको ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको थियो । त्यसलगत्तै ट्यांकरमा आगलागी भएको थियो ।

Share News