काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले रासायनिक हतियार निर्माण गरेको र लुकाएको भन्ने इजरायलको आरोपको कडा प्रतिवाद गरेका छन् ।
विदेशमन्त्री अराघचीले बुधबार इरानमाथि रासायनिक हतियार विकास र लुकाएको आरोप निराधार रहेको बताएका छन् । यस्ता आरोपको उद्देश्य क्षेत्रीय तनाव बढाउनु रहेको उनको भनाइ छ ।
यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानमाथि रासायनिक हतियार विकास गरिरहेको आरोप लगाएका थिए । उनले इजरायलले इरानलाई त्यस्तो क्षमता हासिल गर्न नदिने चेतावनीसमेत दिएका थिए ।
उक्त आरोपको जवाफ दिँदै अराघचीले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले इजरायलले आणविक, रासायनिक वा जैविक हतियार नियन्त्रणसम्बन्धी कुनै पनि सन्धिमा सहभागी हुन अस्वीकार गर्दै आएको बताएका छन् ।
उनका अनुसार इजरायलसँग सयौं आणविक हतियार छन् । उसले यस क्षेत्रका सात देशमाथि आक्रमण गरेको र तीन देशको भूभाग कब्जा गरेको छ ।
उनले भने, 'पछिल्लो एक वर्षमै इजरायलले इरानविरुद्धका दुई असफल युद्धमा अमेरिकालाई समेत तानेको छ । अहिले युद्ध भड्काउने त्यही देश निर्लज्जतापूर्वक इरानमाथि आरोप लगाइरहेको छ । इरान आणविक अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षरकर्ता राष्ट्र हो । साथै रासायनिक हतियार निषेध संगठन (ओपीसीडब्ल्यू) को सदस्य पनि हो ।'
'इरान आफै पनि रासायनिक हतियारको सिकार भइसकेको छ । पश्चिम जर्मनीले तत्कालीन सद्दाम हुसेनको शासनलाई यस्ता हतियार उपलब्ध गराएको थियो,' उनले थपे ।
अराघचीले इजरायलले इरानमाथि औषधी उत्पादन गर्ने कारखानामा खतरनाक हतियार निर्माण तथा लुकाइरहेको आरोप लगाउनु हास्यास्पद भएको बताएका छन् ।
यस्ता अभिव्यक्तिमार्फत इजरायलले अमेरिकालाई फेरि युद्धमा तान्न खोजिरहेको उनको आरोप छ ।
यद्यपि इजरायलका रक्षामन्त्रीले इरानले रासायनिक हतियार विकास गरिरहेको आरोप लगाए पनि त्यसको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेका थिएनन् ।