चीनको अन्तरिक्ष स्टेशनमा पुग्ने पहिलो विदेशी बने पाकिस्तानका जिशान अली

अन्तरिक्ष स्टेशनमा अलीले करिब एक साता बिताउनेछन् ।

काठमाडौं । चीनले आफ्नो मानव अन्तरिक्ष अभियान ‘सेन्झोउ–२४’ का लागि अन्तरिक्षयात्री टोलीको औपचारिक घोषणा गरेको छ । उक्त टोलीमा पाकिस्तानी अन्तरिक्षयात्री मोहम्मद जिशान अली पनि समावेश भएका छन् । उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्ने भएका हुन् ।

यस अभियानका लागि पाकिस्तानले मोहम्मद जिशान अली र खुर्रम दाउदलाई छनोट गरेको थियो । दुवैले चीनमा आवश्यक तालिम पूरा गरेका छन् । तर अन्तिम चरणमा जिशान अलीलाई अन्तरिक्ष अभियानका लागि छनोट गरिएको छ भने खुर्रम दाउदलाई वैकल्पिक अन्तरिक्ष यात्रीको जिम्मेवारी दिइएको छ ।

जिशान अली पेलोड विशेषज्ञका रूपमा चीनको तियानगोंग अन्तरिक्ष स्टेसन जानेछन् । यो अभियान चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्षयात्री सहभागी हुने पहिलो संयुक्त अन्तरिक्ष उडानसमेत हुनेछ ।

अलीले तियानगोंग अन्तरिक्ष स्टेसनमा केही दिन बिताउनेछन् । त्यसक्रममा उनले वैज्ञानिक प्रयोग तथा अनुसन्धान गतिविधिमा सहभागिता जनाउनेछन् । अभियान पूरा भएपछि उनी सेन्झोउ–२३ अभियानका दुई चिनियाँ अन्तरिक्ष यात्रीसँगै पृथ्वी फर्किनेछन् ।

यो ऐतिहासिक अभियानको हिस्सा बन्न पाउनु व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण पाकिस्तानको प्रतिनिधित्व गर्ने अवसर भएको अलीले बताएका छन् ।

‘म पाकिस्तानी जनताको सपना पनि आफूसँगै अन्तरिक्षमा लिएर जाँदैछ,’ उनले भनेका छन् ।

यस्तो थियो जिशान अलीको तालिम

चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत यसै वर्ष पाकिस्तानी उम्मेदवारका रूपमा छनोट भएपछि अलीले चीनमा महिनौंसम्म विशेष तालिम लिएका थिए ।

तालिममा चिनियाँ भाषा सिक्नेदेखि अन्तरिक्ष यानका प्रणालीबारे जानकारी लिने, शून्य गुरुत्वाकर्षणमा अभ्यास गर्ने र कठिन शारीरिक प्रशिक्षण लिने काम समावेश थियो ।

चीनको आधिकारिक अखबार ‘सांघाई डेली’ले सामाजिक सञ्जाल एक्समार्फत अलीको भनाइ सार्वजनिक गरेको छ ।

‘एक पाकिस्तानीका रूपमा म आफ्नो देशका जनताको सपना आफूसँगै लिएर जाँदैछु,’ उनले भनेका छन् ।
उनले चीन र पाकिस्तानका जनताले आफूहरूबाट ठूलो अपेक्षा राखेको बताउँदै अन्तरिक्षमा मिलेर काम गर्नु मानवताको भविष्यका लागि साझा प्रयास भएको उल्लेख गरेका छन् ।

सांघाई डेलीका अनुसार सेन्झोउ–२४ अभियानका क्रममा अलीले पाकिस्तानले छनोट गरेका चारवटा वैज्ञानिक प्रयोग तथा परीक्षण गर्नेछन् ।

‘सीएन स्पेस’ नामक एक्स अकाउन्टमा सार्वजनिक गरिएको अन्तर्वार्तामा उनले तालिमका क्रममा भोगेका अनुभव पनि सुनाएका छन् । लडाकु विमानका पाइलट भए पनि आफूले निकै कठिन शारीरिक तथा प्राविधिक तालिम लिनुपरेको उनले बताएका छन् ।

‘मैले सेन्ट्रिफ्युज तालिम, उद्धार तथा जीवनरक्षा तालिम र आपत्कालीन अवस्थासम्बन्धी अभ्यास गरेँ । तर सबैभन्दा ठूलो चुनौती चिनियाँ भाषा सिक्नु थियो,’ उनले भनेका छन् ।

उनका अनुसार अन्तरिक्ष यानका सबै स्विच, सफ्टवेयर, प्रोग्राम तथा ध्वनिमार्फत दिइने निर्देशन चिनियाँ भाषामा छन् । त्यसैले उनले सामान्य बोलचालको चिनियाँ भाषासँगै प्राविधिक शब्दावलीसमेत सिक्नुपरेको थियो ।

आफ्ना चिनियाँ सहयात्रीबारे बोल्दै अलीले उनीहरू आफ्नो विचारको सम्मान गर्ने र कुनै पनि परिस्थितिमा मिलेर समाधान खोज्ने स्वभावका भएकाले आफू भाग्यमानी भएको बताएका छन् ।

टोलीका सदस्यबीचको सहकार्य, आपसी समझदारी र मित्रताले पाकिस्तान तथा चीनबीचको सम्बन्ध प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।

पाकिस्तानका चार वैज्ञानिक प्रयोग पनि अन्तरिक्षमा

अलीको जिम्मेवारी अन्तरिक्ष यात्रा गर्नुमा मात्र सीमित हुने छैन । उनले अन्तरिक्ष स्टेसनमा पाकिस्तानका तर्फबाट छनोट गरिएका वैज्ञानिक प्रयोगसमेत सञ्चालन गर्नेछन् । 

पाकिस्तानको अन्तरिक्ष निकाय ‘सुपार्की’ले देशका विश्वविद्यालय तथा अनुसन्धान संस्थाबाट ३०० भन्दा बढी प्रस्ताव प्राप्त गरेको थियो । तीमध्ये चिनियाँ विशेषज्ञले चारवटा प्रयोग छनोट गरेका हुन् ।

यी प्रयोग मुख्यतः जैविक प्रविधि (बायोटेक्नोलोजी) सँग सम्बन्धित छन् । खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा भविष्यमा अन्तरिक्ष अन्वेषणका लागि नयाँ जानकारी हासिल गर्नु तिनको मुख्य उद्देश्य हो ।

वैज्ञानिक प्रयोगको तयारीसँगै अभियानको प्रक्षेपणसम्बन्धी प्रशासनिक तथा प्राविधिक तयारी पनि पूरा गरिएको छ ।
पाकिस्तानी अन्तरिक्ष यात्री सहभागी हुने भएकाले चिनियाँ अन्तरिक्ष कार्यक्रमसँग सम्बन्धित निकायले सञ्चालनसम्बन्धी निर्देशन चिनियाँ र अंग्रेजी दुवै भाषामा तयार पारेका छन् । 

त्यस्तै, अलीको खानपानसम्बन्धी आवश्यकतालाई ध्यानमा राख्दै हलाल अन्तरिक्ष भोजनको व्यवस्था पनि गरिएको छ ।

प्रक्षेपण तथा परीक्षणका आवश्यक मापदण्ड पूरा गर्न तापक्रम र आद्र्रतामा निरन्तर निगरानी राख्ने स्मार्ट प्रणालीसमेत प्रयोग गरिएको छ ।

चीनको सेन्झोउ–२४ अन्तरिक्ष यान र लङ मार्च–२एफ रकेट नोभेम्बर १७ मा प्रक्षेपणस्थलमा पुर्याइएको थियो ।

अन्तरिक्ष यानलाई बुधबार बेइजिङ समयअनुसार बिहान ८ बजेर १८ मिनेटमा उत्तरपश्चिम चीनको जिउछ्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने कार्यक्रम छ ।

सेन्झोउ–२४ अभियानको नेतृत्व चिनियाँ अन्तरिक्षयात्री ताङ होङ्बोले गर्नेछन्। टोलीमा वु यी र पाकिस्तानी अन्तरिक्षयात्री मोहम्मद जिशान अली पनि रहनेछन् ।

पाकिस्तान–चीन अन्तरिक्ष सहकार्य

यो अभियान पाकिस्तान र चीनबीच लामो समयदेखि जारी अन्तरिक्ष सहकार्यको एउटा हिस्सा हो । यस सहकार्यअन्तर्गत चीनले पाकिस्तानका विभिन्न भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ ।

त्यस्तै, सन् २०२८ आसपास चीनको चाङअ–८ चन्द्र अभियानमार्फत पाकिस्तानमा निर्मित एउटा रोभर चन्द्रमामा पठाउने योजना पनि छ ।

चीनले सन् २०२२ मा आफ्नो तियानगोंग अन्तरिक्ष स्टेसनको निर्माण पूरा गरेको थियो । अहिले उसले अन्तरिक्ष कार्यक्रमलाई विस्तार गर्दै अन्य देशसँगको साझेदारी बढाउन खोजिरहेको छ । सन् २०३० सम्म आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमामा अवतरण गराउने चीनको लक्ष्य छ ।

पाकिस्तानसँग मानिसलाई अन्तरिक्षमा पठाउन सक्ने आफ्नै अन्तरिक्ष यान वा रकेट छैन । त्यसैले यस अभियानका सबै महत्त्वपूर्ण चरणका लागि पाकिस्तान चीनमा निर्भर हुनेछ ।

पाकिस्तानी अन्तरिक्षयात्री चिनियाँ अन्तरिक्ष यानबाट प्रस्थान गर्नेछन्, चीनमै तालिम लिनेछन् र चिनियाँ विशेषज्ञको निगरानीमा अन्तरिक्ष स्टेसनमा काम गर्नेछन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष स्टेसनमा करिब एक साता बिताउनेछन् । यो अवधि चिनियाँ अन्तरिक्ष यात्रीले सामान्यतया त्यहाँ बिताउने छ महिनाको तुलनामा निकै कम हो ।

अली अन्तरिक्ष स्टेसनमा यसअघि पुगेका चिनियाँ टोलीका दुई सदस्यसँगै पृथ्वी फर्किनेछन् । उक्त टोलीका तेस्रो सदस्य भने लामो समय अन्तरिक्षमा रहँदा मानव शरीरमा पर्ने प्रभावबारे अध्ययन गर्न करिब एक वर्ष स्टेसनमै रहनेछन् ।

रोयटर्सका अनुसार अहिलेसम्म विश्वका करिब ५० देशका नागरिकले अन्तरिक्ष यात्रा गरिसकेका छन् । तर आफ्नै निर्माणका अन्तरिक्ष यानमार्फत मानिसलाई अन्तरिक्षमा पठाउने क्षमता भने रुस, अमेरिका र चीनसँग मात्रै छ ।

पाकिस्तानी मन्त्रीले के भने ?

पाकिस्तानका योजनामन्त्री एहसान इकबालले सेन्झोउ–२४ अभियानका लागि छनोट भएका मोहम्मद जिशान अलीलाई बधाई दिएका छन् ।

उनले अली चीनको मानव अन्तरिक्ष अभियानको टोलीमा समावेश हुने पहिलो अन्तर्राष्ट्रिय अन्तरिक्षयात्री भएको र चीनको तियानगोंग अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री बन्न लागेको बताएका छन् ।

मन्त्री इकबालले वैकल्पिक अन्तरिक्ष यात्रीका रूपमा छनोट भएका खुर्रम दाउदको पनि प्रशंसा गरेका छन् । अन्तिम चरणसम्म पुगेका दुई पाकिस्तानी उम्मेदवारमध्ये दाउद पनि एक थिए ।

उनका अनुसार दुवै उम्मेदवार पाकिस्तानका उत्कृष्ट पाइलट तथा वैज्ञानिकमध्येबाट छनोट भएका थिए । उनीहरूले सेन्ट्रिफ्युज र सिमुलेटर तालिम, आपत्कालीन अवस्थासँग जुध्ने अभ्यास तथा नयाँ भाषा सिक्नेलगायत कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरेका थिए ।

इकबालले जिशान अली अन्तरिक्षमा जाने पहिलो पाकिस्तानी अन्तरिक्ष यात्रीका रूपमा छनोट भए पनि खुर्रम दाउदले समेत आफ्नो प्रदर्शनबाट पाकिस्तानको नाम उँचो बनाएको बताएका छन् । 

ट्रम्पको एक फोनले एनभीडीया फर्किए जेन्सन हुआङ 

‘शिखर सम्मेलन’मार्फत विश्वमा प्रभाव विस्तार गर्दै चीन

बंगलादेशमा बम, आगजनी र राजनीतिक भूकम्प 

आणविक युद्ध नलड्ने तीन महाशक्तिको घोषणा 

आईपीओमा एन्थ्रोपिकको विश्व रेकर्ड, कम्पनीको बजार मूल्य १.५ ट्रिलियन डलर पुग्यो

जेन्सनको पुनरागमनमा बोर्डको ‘ब्रेक’, जासुसीको छानबिन जारी 

एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको नयाँ दाबी 

सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी

Share News