श्रमिक ठग्ने नेक्ससमा मलेसियन दूतावासको साथ

तीन राजदूतको भूमिकामा प्रश्न

काठमाडौं । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुल्ने धन्दामा नेपालस्थित मलेसियन दूतावासकै सहयोग रहेको तथ्य अनुसन्धानबाट खुलेको छ । स्वास्थ्य व्यवसायी कैलाश खड्काले नेपाली कामदारबाट रकम उठाउन पाउने वातावरण बनाउन २०७५ सालदेखि नेपालमा कार्यरत तीन मलेसियन राजदूतबाटै पत्र प्राप्त गर्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा सक्रिय एक अधिकृतका अनुसार खड्काले प्रत्येक राजदूतसँग सम्बन्ध कायम गरी स्वास्थ्य परीक्षणका नाममा रकम संकलन गर्ने प्रयोजनका लागि दूतावासबाट पत्र लेखाउने गरेका थिए । उक्त पत्र श्रम मन्त्रालयमा पु¥याएपछि दूतावासले नै अनुमति दिएको भन्दै मन्त्रालयका अधिकारीहरूले त्यसलाई आधार बनाउने गरेको ती अधिकारीले बताए । खड्काले मलेसियन राजदूतहरूसँग ह्वाट्सएपमार्फत संवादसमेत गर्ने गरेको सीआईबीको भनाइ छ ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ गते श्रम सम्झौता भएपछि नेपालमा तीन जना मलेसियन राजदूत कार्यरत रहिसकेका छन् । तीमध्ये अहमद फाहील स्माइल र मोहम्मद फजल अबु हसनको कार्यकाल सकिएको छ भने हाल मोहम्मद फिर्दोस बिन अजमन नेपालका लागि मलेसियन राजदूत छन् । सीआईबीको अनुसन्धानमा यी तीनै राजदूतको कार्यकालमा खड्काले दूतावासबाट पत्र लिने गरेको विषय उठाइएको छ ।

श्रमिकसँग लिन नपाइने रकम उठाउन दूतावासको पत्र

नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था गरेको छ । सम्झौताअनुसार कामदारको स्वास्थ्य परीक्षणमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले व्यहोर्नुपर्ने उल्लेख छ । कामदारले नेपालमा स्वास्थ्य परीक्षण गर्दा लागेको खर्चसमेत मलेसियामा पुगेपछि रोजगारदाताले एक महिनाको तलबसँगै उपलब्ध गराउने सहमति भएको थियो ।

तर, सम्झौतामा भएको व्यवस्थाविपरीत नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम उठाउने गरिएको सीआईबीको अनुसन्धानबाट खुलेको हो । सरकारले निर्धारण गरेको शुल्क तिरेर नियमित स्वास्थ्य परीक्षण गराए पनि मलेसिया जाने कामदारले थप १०० मलेसियन रिङ्गिट बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था सिर्जना गरिएको थियो ।

यो प्रक्रियामा माइक्रोटेक प्रालिले मुख्य भूमिका खेलेको अनुसन्धानले देखाएको छ । उक्त कम्पनीले मलेसियास्थित बेस्टिनेट नामक स्वास्थ्य संस्थासँग सम्झौता गरी नेपाल र मलेसियामा स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रिया सञ्चालन गरेको थियो । बेस्टिनेटका सञ्चालक बंगलादेशी नागरिक रहेको बताइएको छ ।

सरकारले अतिरिक्त स्वास्थ्य परीक्षण शुल्क उठाउने व्यवस्था नगरे पनि माइक्रोटेक र बेस्टिनेटबीच छुट्टै सम्झौता भएको थियो । ती कम्पनीबीच भएको सम्झौता सरकारबाट स्वीकृत नभएको अनुसन्धानमा उल्लेख छ । नेपालमा स्वास्थ्य परीक्षण गरिसकेका कामदारलाई मलेसिया पुगेपछि पनि बेस्टिनेटमार्फत थप परीक्षणको प्रक्रियामा सहभागी गराएर शुल्क असुल्ने गरिएको थियो ।

यसरी अतिरिक्त शुल्क उठाउने व्यवस्था कार्यान्वयन गर्न माइक्रोटेकका सञ्चालक खड्काले नेपालस्थित मलेसियन दूतावासबाट पत्र लिने र श्रम मन्त्रालयमा पु¥याउने गरेको अनुसन्धानमा खुलेको छ । दूतावासको पत्रका आधारमा मन्त्रालयका अधिकारीहरूले कम्पनीको गतिविधिलाई बेवास्ता गरेको सीआईबीको दाबी छ ।

‘अपराध गर्न कूटनीतिक नियोगबाटै स्वीकृति पाएजस्तो भयो’

सीआईबीका एक उच्च अधिकृतका अनुसार खड्काले स्वास्थ्य परीक्षणका नाममा श्रमिकबाट रकम असुल्ने कामलाई सहज बनाउन कूटनीतिक नियोगदेखि सरकारी मन्त्रालयसम्म पहुँच विस्तार गरेका थिए ।

‘खड्काले अपराध गर्न कूटनीतिक नियोगबाट स्वीकृति पाएजस्तो अवस्था बनाएका थिए,’ अनुसन्धानमा संलग्न एक उच्च अधिकृतले भने, ‘मन्त्रालयका कर्मचारीदेखि मन्त्रीसम्मलाई प्रभावमा पारेर स्वास्थ्य परीक्षणका नाममा कामदारसँग पैसा असुल्ने गरेका थिए ।’

अनुसन्धानका क्रममा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित पूर्व तथा बहालवाला सरकारी अधिकारी र व्यवसायीहरू पक्राउ परेका छन् । पक्राउ पर्ने सरकारी अधिकारीमा तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ र तत्कालीन रोजगार व्यवस्था विभागका प्रमुख राजीव पोखरेलसमेत छन् ।

सीआईबीले दूतावासबाट पत्र प्राप्त गर्ने प्रक्रियादेखि मन्त्रालयबाट भएका निर्णय र रकम विदेश पठाउने प्रक्रियासम्म अनुसन्धान विस्तार गरेको छ । यस क्रममा व्यवसायी र सरकारी अधिकारीबीचको सम्बन्ध, कम्पनीले पाएको सहजीकरण तथा आर्थिक कारोबारको विवरण संकलन गरिएको छ ।

सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार २०७५ सालको अन्त्यदेखि २०८० सालसम्म मलेसिया जाने ७ लाख ३३ हजार नेपाली कामदारबाट प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिटका दरले अतिरिक्त रकम असुल गरिएको थियो ।

त्यतिबेलाको विनिमय दरअनुसार प्रतिकामदार करिब ३ हजार १६० रुपैयाँ पर्ने उक्त रकम पाँच वर्षमा कुल २ अर्ब ३१ करोड ६२ लाख ८० हजार रुपैयाँ पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सरकारले तोकेको स्वास्थ्य परीक्षण शुल्क तिरेका कामदारबाटै थप रकम असुल गरिएको सीआईबीको भनाइ छ ।

यसरी संकलन गरिएको रकममध्ये ठूलो हिस्सा विदेश पठाइएको अनुसन्धानले देखाएको छ । सीआईबीका अनुसार ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर ९२ सेन्ट र ३७ लाख १७ हजार ९८० बेलायती पाउन्ड ८० पेन्स गरी नेपाली रुपैयाँ १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेश पठाइएको थियो ।

श्रमिकबाट उठाइएको रकम कुन प्रयोजनमा, कसको खातामा र कुन प्रक्रियाबाट विदेश पठाइयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसका लागि माइक्रोटेक प्रालिको कारोबार, कम्पनीसँग सम्बन्धित व्यक्ति तथा रकम स्थानान्तरणमा संलग्न सरकारी निकायको भूमिकासमेत खोतलिएको छ ।

व्यवसायी पक्राउपछि मन्त्रालय र राष्ट्र बैंकसम्म अनुसन्धान

सीआईबीले यस प्रकरणमा पहिलो चरणमा असोज २९ गते चार जना व्यवसायीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४५ वर्षीय रामपुकार तिवारी छन् ।

व्यवसायीहरू पक्राउ परेपछि प्रहरीले माइक्रोटेक प्रालिमार्फत भएको आर्थिक कारोबार, श्रमिकबाट उठाइएको अतिरिक्त शुल्क र विदेश पठाइएको रकमको स्रोत तथा गन्तव्यबारे अनुसन्धान अघि बढाएको थियो । यसले मलेसिया रोजगारीमा जाने श्रमिकमाथि भएको आर्थिक शोषणमा निजी व्यवसायी मात्र नभई सरकारी अधिकारी र कूटनीतिक तहको भूमिकासमेत अनुसन्धानको दायरामा आएको देखाएको छ ।
 

Share News