काठमाडौं । गौरीशंकर सिमेन्ट प्रालिले कपिलवस्तुमा दैनिक २ हजार ५०० टन क्लिङ्कर उत्पादन क्षमताको उद्योग निर्माण गरिरहेको छ । करिब १२ अर्ब ९३ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको उद्योगबाट सन् २०२७ फेब्रुअरी ११ देखि व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ ।
लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित शिवराज नगरपालिका-६ मा स्थापना हुन लागेको यस उद्योगले नेपालको सिमेन्ट उत्पादन तथा आपूर्ति शृङ्खलामा महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ । विशेषगरी क्लिङ्कर उत्पादनमा स्वदेशी क्षमता विस्तार गर्ने उद्देश्यसहित कम्पनीले उद्योग निर्माणलाई अघि बढाएको हो ।
सन् २०२६ जनवरीसम्ममा आयोजनाको कुल अनुमानित लागतको करिब ६६ प्रतिशत अर्थात् ८ अर्ब ५१ करोड २१ लाख ७० हजार रुपैयाँ खर्च भइसकेको छ ।
क्लिङ्कर उद्योग सञ्चालनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ चुनढुङ्गाको दीर्घकालीन उपलब्धता सुनिश्चित गर्न कम्पनीले तीनवटा खानीबाट आपूर्ति व्यवस्था गरेको छ । प्युठान र अर्घाखाँची जिल्लामा रहेका ती खानीमा कुल करिब ६ करोड ७० लाख टन चुनढुङ्गा भण्डार रहेको कम्पनीले जनाएको छ ।
तीमध्ये केही खानी गौरीशंकर सिमेन्टकै स्वामित्वमा छन् भने अन्य खानी कम्पनीका सहायक संस्थाहरू सागर सिमेन्ट प्रालि र बुद्धभूमि माइन्स एन्ड मिनरल्स प्रालिको स्वामित्वमा रहेका छन् ।
उद्योगबाट ती खानीहरू करिब ५० देखि ११० किलोमिटरको दूरीमा छन् । उपलब्ध चुनढुङ्गाको परिमाणका आधारमा खानीहरूबाट करिब १५ देखि ५४ वर्षसम्म उत्पादन गर्न सकिने अनुमान गरिएको छ । तीनवटै खानीबाट दैनिक करिब ८ हजार ५०० टन चुनढुङ्गा उत्खनन गर्न अनुमति प्राप्त भएको छ ।
यसले दैनिक २ हजार ५०० टन क्लिङ्कर उत्पादन गर्ने उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा दीर्घकालीन आधार तयार गर्ने देखिन्छ ।
कुल १२ अर्ब ९३ करोड रुपैयाँ लगानी अनुमान गरिएको आयोजनाको वित्तीय संरचनाअनुसार ९ अर्ब ४९ करोड ९८ लाख ५० हजार रुपैयाँ दीर्घकालीन कर्जा र ३ अर्ब ४३ करोड १ लाख ५० हजार रुपैयाँ प्रवर्द्धकको स्वपुँजीबाट जुटाउने योजना छ । कुल लगानीमा कर्जाको हिस्सा ७३.५० प्रतिशत र स्वपुँजीको हिस्सा २६.५० प्रतिशत रहेको छ ।
कम्पनीले प्रस्तावित दीर्घकालीन कर्जामध्ये ६ अर्ब ७३ करोड २७ लाख ५० हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाको संयुक्त लगानी व्यवस्थामार्फत सुनिश्चित गरेको छ । बाँकी २ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको कर्जा व्यवस्थापन भने अझै पूरा हुन बाँकी छ ।
त्यस्तै, सन् २०२६ मार्चको मध्यसम्ममा प्रवर्द्धकले कम्पनीमा १ अर्ब ७६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी र १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ सेयर आवेदनबापत लगानी गरिसकेका छन् । यसरी प्रतिबद्ध कुल स्वपुँजीमध्ये करिब ८४.८६ प्रतिशत रकम लगानी भइसकेको कम्पनीले जनाएको छ ।
सन् २०२१ अप्रिलमा स्थापना भएको गौरीशंकर सिमेन्ट प्रालिको रजिस्टर्ड कार्यालय काठमाडौं महानगरपालिका-३, बाँसबारीमा रहेको छ । कम्पनी महाशक्ति सिमेन्ट लिमिटेडको प्रवर्द्धनमा स्थापना भएको हो । सन् २०२६ मार्चसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७६ करोड २५ लाख रुपैयाँमा महाशक्ति सिमेन्ट लिमिटेडको ९८.३० प्रतिशत र दिनेश कर्माचार्यको १.७० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीले उत्पादन गर्ने क्लिङ्कर मुख्य रूपमा मूल कम्पनी महाशक्ति सिमेन्ट लिमिटेडलाई आपूर्ति गर्ने योजना बनाएको छ । यसले उद्योग सञ्चालनमा आएपछि उत्पादन बिक्रीका लागि प्रारम्भिक बजार सुनिश्चित गर्न सहयोग पुग्ने देखिन्छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद पौडेलसँग घरजग्गा व्यवसायमा तीन दशकभन्दा बढी तथा औषधि, सिमेन्ट उत्पादन, आतिथ्य सेवा र जलविद्युत् क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ ।
कम्पनीका अनुसार नेपालको सिमेन्ट उद्योगमा पछिल्लो समय उत्पादन क्षमता विस्तार र नयाँ उद्योग स्थापनाको क्रम जारी छ । हाल देशमा करिब ६० वटा सिमेन्ट उद्योग र २० वटा क्लिङ्कर उत्पादन उद्योग सञ्चालनमा रहेका छन् । यसका अतिरिक्त थप उद्योग स्थापना तथा विद्यमान उद्योगको क्षमता विस्तारका योजनासमेत अघि बढिरहेका छन् ।
यस्तो अवस्थामा गौरीशंकर सिमेन्टले उत्पादन सुरु गर्दा बजारमा प्रतिस्पर्धा थप तीव्र हुन सक्ने देखिन्छ । संगठित तथा असंगठित दुवै प्रकारका उत्पादकको उपस्थिति रहेको नेपाली सिमेन्ट बजारमा मूल्य निर्धारणको लचकता सीमित छ । उत्पादन क्षमता विस्तारसँगै आपूर्ति बढेमा बजार मूल्यमा दबाब पर्न सक्ने जोखिम रहन्छ ।
त्यस्तै, कच्चा पदार्थ, ऊर्जा, ढुवानी तथा अन्य उत्पादन लागतमा वृद्धि भएमा कम्पनीको नाफाको मार्जिन प्रभावित हुन सक्छ । बजारको मागमा आउने परिवर्तन र प्रतिस्पर्धी उत्पादकको मूल्य रणनीतिले पनि कम्पनीको बजार हिस्सा कायम राख्ने क्षमतामा प्रभाव पार्न सक्छ ।
विशेषगरी क्लिङ्कर उत्पादन उद्योगमा ठूलो लगानी आवश्यक पर्ने भएकाले उत्पादन सुरु भएपछि क्षमता उपयोग, सञ्चालन खर्च नियन्त्रण र बिक्री बजारको व्यवस्थापन कम्पनीका लागि महत्वपूर्ण हुने देखिन्छ ।