काठमाडौं । ओम्नी हायर पर्चेज प्राइभेट लिमिटेडको आम्दानी र नाफा निरन्तर घट्दै गएको छ । कर्जा पोर्टफोलियोमा सामान्य वृद्धि देखिए पनि ब्याज आम्दानीमा आएको गिरावट र निष्क्रिय कर्जाको उच्च अनुपातले कम्पनीको वित्तीय अवस्थामाथि दबाब बढाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा २१ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को २४ करोड ७० लाख रुपैयाँको तुलनामा १४.९७ प्रतिशत अर्थात् ३ करोड ७० लाख रुपैयाँ कम हो ।
कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षमा निरन्तर घटिरहेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ मा ३३ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ३२ करोड ५० लाख, आव २०७९/८० मा ३० करोड ९० लाख, आव २०८०/८१ मा २५ करोड ३० लाख र आव २०८१/८२ मा २४ करोड ७० लाख रुपैयाँमा झरेको थियो । गत आर्थिक वर्षमा यस्तो आम्दानी थप घटेर २१ करोड रुपैयाँमा सीमित भएको छ ।
आम्दानीसँगै कम्पनीको नाफामा पनि गिरावट आएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले करपछिको ७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ८ करोड ८० लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा कम्पनीको खुद नाफा १ करोड ७० लाख रुपैयाँले घटेको छ । यसअघि आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ८० लाख रुपैयाँ नाफा कमाएको थियो भने आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०८०/८१ मा घाटा व्यहोरेको थियो ।
ब्याज आम्दानीमा दबाब
कम्पनीको कर्जा पोर्टफोलियोमा भने पछिल्लो आर्थिक वर्षमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६२ करोड ३० लाख रुपैयाँ रहेको कुल कर्जा पोर्टफोलियो गत आर्थिक वर्षमा बढेर १ अर्ब ८१ करोड ४० लाख रुपैयाँ पुगेको छ । यो करिब १२ प्रतिशतको वृद्धि हो ।
निर्माण तथा यातायात क्षेत्रको गतिविधिमा आएको क्रमिक सुधार र समग्र आर्थिक अवस्थामा देखिएको सकारात्मक परिवर्तनले कर्जा विस्तारमा सहयोग पुगेको कम्पनीको भनाइ छ । तर, कर्जा लगानी बढे पनि त्यसअनुसार आम्दानी वृद्धि हुन सकेको छैन । बरु कम्पनीको खुद ब्याज आम्दानी करिब ११ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा घटेर १३ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु र ठूला वाणिज्य बैंकसँगको प्रतिस्पर्धा तीव्र हुनु कम्पनीको ब्याज आम्दानीमा दबाब परेको जनाएको छ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ६७ करोड रुपैयाँ, आव २०७९/८० मा २ अर्ब ४१ करोड २० लाख रुपैयाँ र आव २०८०/८१ मा १ अर्ब ९४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
कम्पनीले प्रवाह गरेको कर्जाबाट प्राप्त हुने औसत प्रतिफलसमेत घटेको छ । अघिल्लो आर्थिक वर्षमा करिब १४ प्रतिशत रहेको कर्जाको प्रतिफल गत आर्थिक वर्षमा घटेर १२ प्रतिशतमा झरेको छ । यसले कम्पनीको ब्याज आम्दानीमा थप दबाब सिर्जना गरेको छ । कम्पनीको ब्याज आम्दानी करिब १५ प्रतिशतले घटेको जनाएको छ ।
निष्क्रिय कर्जा घटे पनि जोखिम कायमै
ओम्नी हायर पर्चेजका लागि सम्पत्ति गुणस्तर प्रमुख चुनौतीका रूपमा देखिएको छ । कर्जा असुलीका प्रयासपछि निष्क्रिय कर्जाको कुल रकम घटे पनि यसको अनुपात अझै उच्च छ ।
कम्पनीको निष्क्रिय कर्जा आर्थिक वर्ष २०७९/८० मा ८१ करोड ४० लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा घटेर ५१ करोड २० लाख रुपैयाँमा झरेको छ । तर, निष्क्रिय कर्जाको रकम घट्दैमा सम्पत्ति गुणस्तरमा पर्याप्त सुधार भएको निष्कर्ष निकाल्न सकिने अवस्था भने छैन ।
आर्थिक वर्ष २०७९/८० मा २९.६४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात आर्थिक वर्ष २०८०/८१ मा घटेर २४.९७ प्रतिशतमा झरेको थियो । तर, आर्थिक वर्ष २०८१/८२ मा पुनः बढेर २६.५६ प्रतिशत पुगेको यस्तो अनुपात गत आर्थिक वर्षमा घटेर २३.३७ प्रतिशत कायम भएको छ । निष्क्रिय कर्जा अनुपातमा सुधार देखिए पनि यो अझै उच्च स्तरमा छ । यसले कम्पनीको कर्जा पोर्टफोलियोमा जोखिम कायमै रहेको देखाउँछ ।
यद्यपि, निष्क्रिय कर्जाबाट हुन सक्ने सम्भावित नोक्सानी व्यवस्थापनका लागि कम्पनीले गरेको कर्जा नोक्सानी व्यवस्थापनको अवस्था भने सुधारिएको छ । प्रोभिजन कभरेज अनुपात आर्थिक वर्ष २०७९/८० मा ४०.९६ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा बढेर करिब ७३ प्रतिशत पुगेको छ ।
नेटवर्थमा सुधार
कम्पनीको खुद सम्पत्ति पछिल्लो आर्थिक वर्षमा बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा ९९ करोड ५० लाख रुपैयाँ रहेको नेटवर्थ आर्थिक वर्ष २०७८/७९ मा घटेर ८३ करोड ७० लाख, आव २०७९/८० मा ८४ करोड ५० लाख र आव २०८०/८१ मा ८२ करोड ३० लाख रुपैयाँ कायम भएको थियो ।
त्यसपछि सुधार हुँदै आर्थिक वर्ष २०८१/८२ मा ९१ करोड १० लाख रुपैयाँ पुगेको नेटवर्थ गत आर्थिक वर्षमा थप बढेर ९६ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
ओम्नी हायर पर्चेजको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको सञ्चित रकम ६६ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ७३ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये २ अर्ब ६९ करोड रुपैयाँ दीर्घकालीन र ४ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
ओम्नी हायर पर्चेज सन् १९९१ देखि हायर पर्चेज वित्तपोषण संस्थाका रूपमा सञ्चालन हुँदै आएको कम्पनी हो । ओम्नी ग्रुपअन्तर्गत रहेको यस कम्पनीले नेपाल राष्ट्र बैंकबाट सन् २०१७ मा सञ्चालन अनुमति प्राप्त गरेको थियो । त्यसयता कम्पनीले राष्ट्र बैंकका नीतिगत निर्देशन तथा मार्गदर्शनअनुसार वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
सन् २०२६ को जुलाईसम्म कम्पनीमा आत्माराम काब्राको ४५ प्रतिशत, हरिनारायण काब्राको ४५ प्रतिशत र सन्दीपकुमार मोहताको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीका अध्यक्ष आत्माराम काब्रा र सञ्चालकमा हरिनारायण काब्रा र सन्दीपकुमार मोहता छन् ।
ओम्नी ग्रुपको अटोमोबाइल व्यवसायसँगको सम्बन्ध कम्पनीको व्यावसायिक आधारमध्ये एक हो । ओम्नी अटोमोबाइल्स प्राइभेट लिमिटेड स्वराज ट्र्याक्टरको वितरक हो भने ओम्नी मोटर्स प्राइभेट लिमिटेड भारतबेन्ज सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो ।
कम्पनीले दुईपाङ्ग्रे, चारपाङ्ग्रे, छपाङ्ग्रे, १० पाङ्ग्रे, १२ पाङ्ग्रे र १४ पाङ्ग्रे सवारीसाधन खरिदमा कर्जा प्रवाह गर्दै आएको छ । कम्पनीले भारतबेन्ज, अशोक लेल्यान्ड, चाङजिङ, बजाज र महिन्द्रा एन्ड महिन्द्रालगायत ब्रान्डका हलुका तथा भारी व्यावसायिक सवारीसाधन खरिदका लागि वित्तीय सुविधा प्रदान गर्दै आएको छ । भौगोलिक रूपमा कम्पनीले नेपालका सातवटै प्रदेशमा आफ्नो सेवा विस्तार गरेको छ ।
यद्यपि, कम्पनीको कर्जा लगानी भौगोलिक रूपमा समान रूपमा वितरण भएको छैन । गत आर्थिक वर्षमा कम्पनीको कुल बक्यौता कर्जामध्ये करिब ५९ प्रतिशत मधेश प्रदेशमा केन्द्रित रहेको छ ।