‘शिखर सम्मेलन’मार्फत विश्वमा प्रभाव विस्तार गर्दै चीन

चीन द्वन्द्व र अस्थिरताले ग्रस्त विश्वमा थप रचनात्मक भूमिका निर्वाह गर्न चाहन्छ ।

काठमाडौं । लगातार दोस्रो वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अर्को विश्व शक्तिका नेतासँग चीनको भूमिमा भेट गराएका छन् । 

यसपटक उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनलाई एउटै मञ्चमा उभ्याएका छन् । जसले विश्व राजनीतिमा चीनको बढ्दो प्रभाव र कूटनीतिक सक्रियतालाई स्पष्ट देखाउँछ ।

बिहीबार ट्रम्पले सी र पुटिनसँग त्रिपक्षीय भेटवार्ता गरे । 

त्यसको अघिल्लो साँझ चीनको सेन्जेनमा आयोजित एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) का नेताहरूको बैठकको स्वागत भोजमा पनि तीनै नेता सहभागी भएका थिए । तीन नेताबीच एकैपटक प्रत्यक्ष भेट भएको यो पहिलो अवसर हो ।

यसअघि सन् २०२५ को सेप्टेम्बरमा सी, पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को वार्षिक बैठकका क्रममा एकसाथ देखिएका थिए । 

उनीहरूले मुस्कुराउँदै खिचाएको सामूहिक तस्बिरले विश्वको ध्यान खिचेको थियो । बेइजिङ र नयाँदिल्लीबीचको तनाव केही कम हुँदै गएको पृष्ठभूमिमा उक्त भेट भएको थियो ।

शिखर कूटनीतिमा चीनको सक्रियता

चीनले विश्वका प्रमुख शक्तिहरूसँग प्रत्यक्ष संवाद गर्न सक्ने क्षमता राख्नुले विश्वको दक्षिणी क्षेत्र (ग्लोबल साउथ) र युरेसियामा उसको बढ्दो प्रभाव देखाउने छिङह्वा विश्वविद्यालयको अन्तर्राष्ट्रिय सुरक्षा तथा रणनीति केन्द्रकी पोस्टडक्टोरल अनुसन्धानकर्ता जोडी वेनले बताएकी छन् ।

उनका अनुसार चीन द्वन्द्व र अस्थिरताले ग्रस्त विश्वमा थप रचनात्मक भूमिका निर्वाह गर्न चाहन्छ । आगामी दिनमा विभिन्न देशलाई आफ्ना साझा समस्या र चासोका विषयमा छलफल गर्न चीनले आफ्नै भूमिमा थप मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको उनले बताइन् ।

चीनले पछिल्लो समय विभिन्न देशबीच मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गर्दै आएको छ । सन् २०२३ मा साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित गराउन चीनले वार्ताको मञ्च उपलब्ध गराएको थियो ।

विभिन्न बहुपक्षीय संगठनमा सहभागी हुने र त्यस्ता बैठक आयोजना गर्ने रणनीतिमार्फत चीनले पश्चिमी मुलुकसँगको सम्बन्ध कायम राख्दै गैरपश्चिमी देशहरूसँग पनि सम्बन्ध विस्तार गरिरहेको छ ।

गत वर्ष र यस वर्ष विश्वका शक्तिशाली नेताहरू एकसाथ देखिएका दुईवटा तस्बिर चीनका राष्ट्रपति सीले विभिन्न देशका नेताहरूसँग गर्ने गरेका असंख्य भेटवार्तामध्येका केही उदाहरण मात्रै हुन् ।

सीले यस वर्ष अहिलेसम्म ४० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई चीनमा स्वागत गरिसकेका छन् । यसै साता सेन्जेनमा आयोजित एपेक बैठककै क्रममा कम्तीमा आठ देशका नेतासँग उनको भेट भएको छ ।
 
सन् २०२५ मा मात्रै उनले ६० भन्दा बढी विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको राजकीय भ्रमणको आयोजना गरेका थिए। सीएनबीसीले चिनियाँ सरकारका आधिकारिक विवरणहरूको विश्लेषण गर्दै यो तथ्य सार्वजनिक गरेको हो ।

चिनियाँ सञ्चारमाध्यमले पनि चीनले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमका क्रममा सीले विदेशी नेताहरूसँग गरेको भेटवार्तालाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आएका छन् ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) की चीनसम्बन्धी प्रमुख अर्थशास्त्री युए सुका अनुसार बेइजिङले यस्ता बहुपक्षीय मञ्चलाई आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने र बहुपक्षीय कूटनीतिप्रतिको प्रतिबद्धता देखाउने अवसरका रूपमा लिएको छ । यद्यपि द्विपक्षीय कूटनीति पनि चीनका लागि उत्तिकै महत्त्वपूर्ण छ ।

तर, विभिन्न देशका भूराजनीतिक र आर्थिक प्राथमिकता फरक हुँदै गएकाले बहुपक्षीय संगठनमार्फत पनि साझा सहमति जुटाउन कठिन हुँदै गएको उनले बताएकी छन् ।

उनका अनुसार यस्तो परिस्थितिमा चीनको कूटनीतिक प्राथमिकता व्यापार, लगानी, वित्तीय सम्पर्क विस्तार र प्रविधि सहकार्यमार्फत ठोस आर्थिक लाभ हासिल गर्नेतर्फ केन्द्रित हुँदै गएको छ । 

एपेक बैठकबाट चीनको सन्देश

बिहीबार एपेकका आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले एसिया प्रशान्त क्षेत्रलाई सहयोगस्वरूप दुई करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरे ।

उनले साझा भविष्य निर्माण गर्ने उद्देश्यसहितको ‘एसिया प्रशान्त समुदाय’ विकास गर्नुपर्नेमा पनि जोड दिए । यो अभिव्यक्ति मानवजातिको साझा भविष्य निर्माण गर्ने उनको प्रचलित नाराकै विस्तारित रूप हो ।

छिङह्वा विश्वविद्यालयकी अनुसन्धानकर्ता वेनका अनुसार सेन्जेनमा भएको शिखर बैठकले विश्वका विभिन्न संकट व्यवस्थापनमा अर्थपूर्ण परिणाम दिनुका साथै भविष्यमा हुने वार्ताका लागि कूटनीतिक वातावरण तयार गर्न सक्छ ।

नेताहरूबीच प्रत्यक्ष भेटवार्ता हुनु गलत बुझाइ र थप तनाव उत्पन्न हुनबाट रोक्न महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

बिहीबारको त्रिपक्षीय भेटवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका, चीन र रुस आणविक हतियार कटौतीबारे छलफल गर्न विशेष रूपमा सक्षम रहेको बताएका थिए ।

चिनियाँ सरकारद्वारा जारी आधिकारिक विवरणअनुसार तीन नेताबीच युक्रेन, मध्यपूर्व र कोरियाली प्रायद्वीपको अवस्थाबारे पनि छलफल भएको थियो ।

चीनले आफ्नै भूमिमा विश्वका प्रमुख शक्तिका नेताहरूलाई एकै ठाउँमा ल्याएर आफूलाई अन्तर्राष्ट्रिय संवाद र कूटनीतिक सहकार्यको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको देखिन्छ । 

बंगलादेशमा बम, आगजनी र राजनीतिक भूकम्प 

आणविक युद्ध नलड्ने तीन महाशक्तिको घोषणा 

आईपीओमा एन्थ्रोपिकको विश्व रेकर्ड, कम्पनीको बजार मूल्य १.५ ट्रिलियन डलर पुग्यो

जेन्सनको पुनरागमनमा बोर्डको ‘ब्रेक’, जासुसीको छानबिन जारी 

एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको नयाँ दाबी 

सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी

Share News