काठमाडौं । नेपाली स्टिल उद्योगमा साढे ४ दशकभन्दा लामो अनुभव, स्थापित ब्रान्ड पहिचान र देशव्यापी बिक्री सञ्जाल बनाएको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्नो व्यावसायिक उपस्थिति थप बलियो बनाउँदै लगेको छ । कम्पनीले पछिल्लो एक दशकमा १ खर्ब ५ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्मको अवधिमा उक्त आम्दानी गरेको हो ।
उत्पादन विविधीकरण, पर्याप्त तरल सम्पत्ति र बजारमा स्थापित सम्बन्धका आधारमा अघि बढिरहेको कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा १२ अर्ब ९२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १२.३८ प्रतिशत अर्थात् १ अर्ब ४२ करोड ५० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ११ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ७१ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा भने १५ अर्ब २५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा ११ अर्ब ३८ करोड ५० लाख रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा ६ अर्ब ८ करोड ७० लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ५४ करोड ७० लाख रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा ८ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ र आर्थिक वर्ष २०७३/७४ मा ६ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सन् १९८१ मा स्थापना भएको हुलास स्टिल नेपाली बजारमा स्टिलका पाता तथा जस्तापाता उत्पादन गर्ने पुराना उद्योगमध्ये एक हो । कम्पनीले जस्तापाता, रङ्गीन लेपन गरिएका स्टिलका पाता, पाइप, आल्मुनियमका सामग्री, पोल तथा अन्य निर्माण सामग्री उत्पादन गर्दै आएको छ । वार्षिक ६ लाख ७ हजार मेट्रिक टनभन्दा बढी स्टिलजन्य सामग्री उत्पादन गर्ने क्षमता रहेको कम्पनीको उत्पादन संरचना विविधीकृत छ ।
हुलास स्टिलको सबैभन्दा बलियो पक्ष यसको स्थापित ब्रान्ड पहिचान हो । विशेषगरी जस्तापाता उत्पादनमा कम्पनीले लामो समयदेखि बजारमा आफ्नो छुट्टै स्थान बनाएको छ । देशभर विस्तार भएको बिक्री तथा वितरण सञ्जाल र ग्राहकसँगको दीर्घकालीन व्यावसायिक सम्बन्धले कम्पनीलाई बजारमा प्रतिस्पर्धी उपस्थिति कायम राख्न सहयोग गरेको छ ।
कम्पनीले एउटै उत्पादनमा निर्भर नरही विभिन्न उत्पादन समूहमा आफ्नो व्यवसाय विस्तार गरेको छ । जस्तापाता, पाइप, आल्मुनियमका सामग्री र पोललगायतका उत्पादनले आम्दानीका स्रोत विविधीकरण गर्न सहयोग पुर्याएका छन् ।
गत आर्थिक वर्षको कुल आम्दानीमा नालीदार जस्तापाताको हिस्सा करिब ६५ प्रतिशत रहेको छ । पाइपबाट १३ प्रतिशत, आल्मुनियमका सामग्रीबाट ९ प्रतिशत र पोलबाट करिब ६ प्रतिशत आम्दानी भएको छ । बाँकी आम्दानी अन्य उत्पादनबाट प्राप्त भएको कम्पनीले जनाएको छ ।
हुलास स्टिल दोस्रो चरणको स्टिल उत्पादक कम्पनी हो । कम्पनीले मुख्यतः प्राथमिक स्टिल उत्पादकबाट तयार पारिएका स्टिलका पाता कच्चा पदार्थका रूपमा आयात गरी थप प्रशोधन र उत्पादन गर्दै आएको छ । कम्पनीले आवश्यक कच्चा पदार्थको ठूलो हिस्सा भारत र जापानबाट आयात गर्छ । कम्पनीका अनुसार गत वर्ष कुल कच्चा पदार्थ खरिदमध्ये करिब ५५ प्रतिशत भारतबाट र ३७ प्रतिशत जापानबाट आयात गरिएको थियो भन बाँकी हिस्सा अन्य मुलुकबाट आपूर्ति भएको थियो ।
मुख्य कच्चा पदार्थका रूपमा तातो प्रक्रियाबाट तयार पारिएका स्टिलका पाता प्रयोग हुने गरेका छन् । यसका अतिरिक्त उत्पादन प्रक्रियामा आवश्यक पर्ने जस्ता र आल्मुनियम पनि आयात गरिन्छ । आवश्यकताअनुसार कहिलेकाहीँ चिसो प्रक्रियाबाट तयार पारिएका स्टिलका पाता पनि आयात गर्ने गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीसँग आफ्नै चिसो प्रक्रियाबाट स्टिलका पाता तयार गर्ने उद्योगसमेत छ । यसबाट आयातित तातो प्रक्रियाबाट तयार पारिएका पातालाई थप प्रशोधन गरी चिसो प्रक्रियाबाट तयार पारिएका पातामा रूपान्तरण गरिन्छ । यसले कच्चा पदार्थको आन्तरिक प्रशोधन र उत्पादन प्रक्रियामा कम्पनीलाई थप सुविधा दिएको छ ।
त्यस्तै, स्टिलका पातामा जस्ता तथा रङ्गीन लेपन गर्न आवश्यक पर्ने जस्ता र आल्मुनियम पनि प्रयोग हुँदै आएको छ । कम्पनीले कालो तथा जस्ता लेपन गरिएका पाइप, सादा तथा नालीदार स्टिलका पाता, जस्तापाता र रङ्गीन लेपन गरिएका पातालगायतका सामग्री उत्पादन गर्दै आएको छ । यसबाहेक आल्मुनियमका संरचना, वेल्डिङ गरिएका संरचना तथा पाइपका विभिन्न जडान सामग्रीसमेत उत्पादन हुने गरेका छन् ।
कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक करिब ६ लाख ७ हजार ४३ मेट्रिक टन रहेको छ । यसमध्ये पाइप उत्पादनतर्फ वार्षिक करिब ४ लाख ५० हजार मेट्रिक टन र स्टिलका पाता उत्पादनतर्फ करिब ३ लाख ९४ हजार ७०० मेट्रिक टन क्षमता रहेको जनाएको छ ।
हुलास स्टिलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा करिब ४८ प्रतिशत आम्दानी वृद्धि गरेको छ । नयाँ उत्पादन समूह थपिनु, स्थापित बिक्री सञ्जाल र निर्माण क्षेत्रमा स्टिलजन्य सामग्रीको मागले कम्पनीको व्यावसायिक गतिविधिमा सहयोग पुर्याएको देखिन्छ ।
हुलास स्टिलको वित्तीय अवस्थाको अर्को सकारात्मक पक्ष यसको तरल सम्पत्ति हो । गत वर्ष कम्पनीसँग बैंक मौज्दात तथा मुद्दती निक्षेपसहित करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको तरल सम्पत्ति रहेको छ । अघिल्लो वर्ष यस्तो रकम करिब १ अर्ब १० करोड रुपैयाँ थियो ।
कम्पनीको कुल तरल सम्पत्ति बाँकी ऋणको करिब ६१ प्रतिशत बराबर रहेको छ । मुख्यतः बैंक तथा वित्तीय संस्थामा एक वर्षभन्दा कम अवधिमा परिपक्व हुने मुद्दती निक्षेपमा रकम राखिएकाले आवश्यक परेको समयमा वित्तीय स्रोत परिचालन गर्न सहज हुने देखिन्छ ।
कम्पनीसँग थप ऋण लिन सक्ने क्षमता पनि रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म उपलब्ध ऋण सीमामध्ये करिब ४८ प्रतिशत उपयोग हुन बाँकी थियो । यसबाट करिब २ अर्ब रुपैयाँ बराबरको थप ऋण परिचालन गर्न सक्ने क्षमता रहेको जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ८ अर्ब ८७ करोड ११ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ६९ करोड ३६ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब १७ करोड ७५ लाख रुपैयाँ अल्पकालीन ऋण हो । अघिल्लो वर्ष कम्पनीको कुल ऋण ९ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।
तरलता र चालु पुँजी व्यवस्थापनमा सुधार देखिए पनि कम्पनीको कारोबारमा केही जोखिमसमेत छन् । विशेषगरी ग्राहकबाट उठाउन बाँकी रकमको अवधि बढ्नु कम्पनीका लागि चुनौती बनेको छ ।
कम्पनीको चालु पुँजीको आवश्यकता अघिल्लो वर्ष करिब ५० प्रतिशत रहेकोमा गत वर्ष घटेर करिब ४० प्रतिशतमा झरेको छ । यसले चालु पुँजी व्यवस्थापनमा सुधार आएको संकेत गर्छ । तर, ग्राहकबाट रकम उठाउन लाग्ने औसत अवधि भने बढेर ६३ दिन पुगेको छ । यो कम्पनीको हालसम्मकै उच्च अवधि हो ।
हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड गोल्छा अर्गनाइजेसनअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनी हो । यसको सेयर संरचनामा चान्र्ली डेभलपमेन्ट कम्पनी लिमिटेडको करिब ५० प्रतिशत स्वामित्व रहेको छ । त्यस्तै, जयश्री गोल्छाको करिब २१ प्रतिशत, हिमांशु गोल्छाको ६ प्रतिशत, हितेश गोल्छाको ६ प्रतिशत र हुलास मेटल क्राफ्टको करिब ६ प्रतिशत सेयर हिस्सा रहेको छ । बाँकी सेयर अन्य लगानीकर्ता तथा सम्बद्ध संस्थाको स्वामित्वमा छ ।