‘विदेशमा कमाएको पैसा घरजग्गामा लगानी गर्ने समय आयो’

नीतिगत सुधार भए बजार थप चलायमान हुन्छ

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले बजारमा सुधारको संकेत देखिन थालेको बताएको छ ।  महासंघका अनुसार पछिल्लो ६ महिनायता देशभर घरजग्गा कारोबार क्रमशः चलायमान हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्नु, विदेशमा रहेका नेपालीले कमाएको रकम स्वदेश पठाउने क्रम बढ्नु र घरजग्गासम्बन्धी नीति नियममा सुधार हुँदै जानुले आगामी दिनमा बजार थप सुधार हुने महासंघको अपेक्षा छ । घरजग्गा कारोबारको वर्तमान अवस्था, नीतिगत समस्या र आगामी सम्भावनाबारे महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् । 

पछिल्लो समय नेपालको घरजग्गा कारोबार सुस्त रहेको चर्चा भइरहेको छ । वास्तवमा अहिले घरजग्गा कारोबारको अवस्था कस्तो छ ?

घरजग्गा कारोबार सुस्त छ भन्ने कुरा पूर्ण रूपमा सही होइन । कारोबार पहिलेको तुलनामा केही कम चलायमान भएको अवस्था अवश्य थियो । तर पछिल्लो करिब ६ महिनायता देशभर घरजग्गा कारोबारमा सुधार हुँदै गएको छ । बजार क्रमशः चलायमान बन्न थालेको छ । घरजग्गाको कारोबारमा कहिलेकाहीँ एक/दुई वर्षसम्म उतारचढाव आउन सक्छ । सामान्यतया १०/१५ वर्षको अवधिमा पनि बजारमा यस्तो चक्र देखिने गर्छ । तर घरजग्गा बजार सुन वा सेयर बजारजस्तो एकैपटक आकाशिने र तत्कालै ठूलो गिरावट आउने प्रकृतिको व्यवसाय होइन । यो मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत आवश्यकता हो । 

घरजग्गा कारोबार लामो समयसम्म पूर्ण रूपमा सुस्त भएर बस्ने क्षेत्र होइन ।  विगतमा राजनीतिक अस्थिरता, सरकारका नीतिनियम र कित्ताकाटदेखि जग्गाको हदबन्दीसम्मका विभिन्न व्यवस्थाले यो क्षेत्रमा समस्या सिर्जना गरेका थिए । कतिपय नीतिगत व्यवस्था व्यावहारिक नहुँदा कारोबार प्रभावित भयो । अब सरकारले व्यवस्थित रूपमा कदम चालेर नीतिनियममा सुधार गर्दै जाने हो भने घरजग्गा बजारमा थप सुधार आउँछ ।

अर्को महत्त्वपूर्ण पक्ष के हो भने चार/पाँच वर्षअघि ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि विदेश गएका थिए । उनीहरूले विदेशमा काम गरेर कमाएको पैसा अहिले स्वदेश पठाउने र आफ्नो आर्थिक अवस्था सुधार्ने चरणमा छन् । उनीहरूको पहिलो प्राथमिकतामा विदेश जाँदा लिएको ऋण तिर्ने र त्यसपछि नेपालमा घरजग्गा जोड्ने योजना हुन्छ । त्यसैले आगामी दिनमा विदेशमा रहेका नेपालीबाट पनि घरजग्गा क्षेत्रमा माग बढ्ने सम्भावना छ ।

घरजग्गा कारोबारमा सुधारका लागि बैंक तथा वित्तीय संस्थाको ब्याजदरले पनि प्रभाव पार्छ । अहिले ब्याजदर घटेको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ ?

यो क्षेत्रका लागि अहिलेको ब्याजदर निकै सकारात्मक अवस्था हो । हामीले लामो समयदेखि बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर एकल अंकमा ल्याउनुपर्छ भनेर माग गर्दै आएका थियौं । हामीले करिब ९ प्रतिशतमा ब्याजदर झार्नुपर्छ भन्ने माग गरेका थियौं । अहिले कतिपय अवस्थामा ब्याजदर ५ प्रतिशतसम्म आइपुगेको छ । यसले घरजग्गा खरिद गर्न चाहने सर्वसाधारणलाई सहज बनाएको छ । विगतमा ब्याजदर धेरै हुँदा घरजग्गा खरिद गर्न चाहने मानिसले पनि कर्जा लिन सक्ने अवस्था थिएन । भविष्यमा घरजग्गा जोड्ने योजना बनाइरहेका व्यक्तिका लागि यो उपयुक्त समय हुन सक्छ ।

अहिले सेयर बजार र सुनलगायत अन्य क्षेत्रमा पनि उतारचढाव देखिएको छ । तर घरजग्गा भने मानिसको आधारभूत आवश्यकता भएकाले यसको महत्त्व फरक छ । हाम्रो अनुमानमा करिब ९० प्रतिशत मानिसले आफ्नो आवश्यकता पूरा गर्न घरजग्गा खरिद गर्छन् भने करिब १० प्रतिशतले लगानीका रूपमा खरिद गर्ने गरेका छन् । त्यसैले घरजग्गामा लगानी गर्दा आफ्नो आवश्यकता, आर्थिक क्षमता र दीर्घकालीन योजनालाई ध्यान दिनुपर्छ ।

बैंकिङ प्रणालीमा सुधार देखिए पनि घर किन्न चाहने आम नागरिकले कर्जा पाउन सहज छैन ।  नियमित आम्दानीको स्रोत देखाउनुपर्ने व्यवस्थाले समस्या पारेको गुनासो छ । यसबारे तपाईंको धारणा के छ ?

अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा सुधार भएको छ । तर कर्जा दिने प्रक्रियामा अझै केही सहजीकरण आवश्यक छ । बैंकले कर्जा दिँदा आम्दानीको स्रोत हेर्नु स्वाभाविक हो । तर हाम्रो जस्तो देशमा सबै नागरिकको आम्दानी एउटै प्रकृतिको हुँदैन । धेरै मानिसले साना व्यवसाय, स्वरोजगार, कृषि तथा अनौपचारिक क्षेत्रबाट आम्दानी गरिरहेका हुन्छन् । उनीहरूसँग बैंकले खोजेजस्तो कागजी आम्दानीको प्रमाण नहुन सक्छ । सरकारले तीन करोड रुपैयाँसम्मको होम लोन दिने व्यवस्था गरेको छ। तर तीन करोड रुपैयाँसम्म कर्जा लिन सक्ने नागरिकको संख्या कति छ भन्ने पनि हेर्नुपर्छ ।

आम नेपालीको आवश्यकता तीन करोडको घर होइन । महिनाको २०/३० हजार रुपैयाँ कमाउने नागरिकले पनि आफ्नो क्षमताअनुसार सानो घर किन्न सक्ने वातावरण बनाउनुपर्छ । अहिले २० लाखदेखि ७५ लाख रुपैयाँसम्मका घर खरिद गर्दा मासिक करिब ११ हजार रुपैयाँ किस्ता तिर्ने गरी कर्जा उपलब्ध गराउने विषयमा पनि चर्चा भइरहेको छ । यस्तो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने धेरै सर्वसाधारणलाई घरधनी बन्न सहज हुन्छ । 

हामीले चाहेको पनि यही हो । आम्दानी कम भएका मानिसले पनि आफ्नो क्षमताअनुसार घर किन्न सक्ने व्यवस्था हुनुपर्छ। बैंक तथा वित्तीय संस्थाले आम्दानीको स्रोत मूल्यांकन गर्दा पनि व्यावहारिक र सहज विधि अपनाउनुपर्छ । यसले घरजग्गा कारोबार मात्र होइन, देशभित्रै रोजगारी र आर्थिक गतिविधि बढाउनसमेत सहयोग गर्छ । 

विदेशमा रहेका नेपालीको लगानीलाई स्वदेशको घरजग्गा तथा आवास क्षेत्रमा भित्र्याउने विषय पनि उठाउनुभएको छ । त्यसका लागि कस्तो कानुनी व्यवस्था आवश्यक छ ?

हामीले पटकपटक उठाउँदै आएको अर्को महत्त्वपूर्ण विषय विदेशमा रहेका नेपालीको लगानी हो । म के भन्न चाहन्छु भने एकपटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई सरकारले आत्मसात् गर्नुपर्छ । हाम्रा धेरै दाजुभाइ तथा दिदीबहिनीले नेपालमा वर्षौंसम्म दुःख गरेर विदेश जानुभएको छ । त्यहाँ चार/पाँच वर्ष वा त्योभन्दा बढी समय काम गरेपछि विभिन्न कारणले विदेशी नागरिकता लिनुभएको छ अथवा स्थायी बसोबास अनुमति (पीआर) लिनुभएको छ । तर उहाँहरूको नेपालसँगको सम्बन्ध समाप्त भएको हुँदैन । 

उहाँहरूले नेपालमा लगानी गर्न चाहँदा नेपाली नागरिकसरह सहज रूपमा लगानी गर्न पाउने वातावरण बनाउनुपर्छ । विशेषगरी नेपालमा जन्मिएर, यहीँ हुर्किएर र लामो समय यहीँ काम गरेर विदेश जानुभएका नेपालीलाई स्वदेशमा लगानी गर्ने अवसर दिनुपर्छ । यदि सरकारले यस्तो व्यवस्था गर्यो भने घरजग्गा क्षेत्रमा मात्र नभएर अन्य व्यवसायमा पनि ठूलो लगानी भित्रिन सक्छ । विदेशमा रहेका नेपालीको अनुभव, सीप र पूँजीलाई स्वदेशको विकासमा प्रयोग गर्न सकिन्छ ।

घरजग्गा कारोबारमा बिचौलियाको बढी प्रभाव, सर्वसाधारण ठगिने र अनावश्यक रूपमा बढी रकम तिर्नुपर्ने अवस्था छ । यसलाई व्यवस्थित गर्न महासंघले के पहल गरिरहेको छ ?

घरजग्गा कारोबारमा बिचौलियाको विषयलाई हामीले फरक ढंगले बुझ्नुपर्छ । सबै बिचौलिया खराब हुन्छन् भन्ने होइन। सेयर बजारमा पनि ब्रोकर आवश्यक हुन्छन् । त्यस्तै घरजग्गा कारोबारमा पनि ब्रोकरको आवश्यकता हुन्छ । तर उनीहरूलाई व्यवस्थित र कानुनी दायराभित्र ल्याउनुपर्छ । अहिले समस्या के छ भने ब्रोकरले कति कमिसन लिन पाउने, कसरी कारोबार गर्ने र गलत काम गरेमा के कारबाही हुने भन्ने विषय स्पष्ट छैन । सरकारले ब्रोकरको लाइसेन्स व्यवस्था गर्नुपर्छ ।  उनीहरूले निश्चित कमिसन मात्र लिन पाउने व्यवस्था हुनुपर्छ । एक प्रतिशत वा दुई प्रतिशत कति कमिसन लिने भन्ने सरकारले तोकिदिनुपर्छ ।

तोकिएको भन्दा बढी कमिसन लिने वा ग्राहकलाई दुःख दिने व्यक्तिलाई कारबाही गर्ने व्यवस्था पनि हुनुपर्छ । ब्रोकरले प्राप्त गरेको आम्दानीबाट सरकारले कर लिने व्यवस्था गर्नुपर्छ । हामीले अर्को महत्त्वपूर्ण अवधारणाका रूपमा ल्याण्ड मार्केटको कुरा उठाउँदै आएका छौं । ल्याण्ड मार्केट भनेको देशभरका जग्गा तथा घरजग्गा परियोजनालाई एउटै व्यवस्थित डिजिटल प्लेटफर्ममा राख्ने व्यवस्था हो । उदाहरणका लागि कुनै व्यक्तिसँग जग्गा वा घर छ भने उसले आफ्नो सम्पत्तिको विवरण उक्त प्लेटफर्ममा राख्न सक्छ । त्यहाँ खरिद गर्न चाहने व्यक्तिले जग्गाको स्थान, क्षेत्रफल, मूल्य र अन्य विवरण हेर्न सक्छ ।

आफूलाई उपयुक्त लागेपछि खरिदका लागि प्रक्रिया अघि बढाउन सक्छ । त्यसरी कारोबार गर्दा कुन ब्रोकरमार्फत ग्राहक आएको हो भन्ने पनि स्पष्ट हुन्छ र ब्रोकरले तोकिएको कमिसन मात्र पाउँछ । यसले कारोबारलाई पारदर्शी बनाउँछ । अहिले जस्तो बीचमा विभिन्न व्यक्तिले अनावश्यक रूपमा मूल्य बढाउने, ग्राहकलाई अलमल्याउने र ठूलो रकम असुल्ने समस्या कम हुन्छ । त्यसैले सरकारले ब्रोकरलाई लाइसेन्स दिने र ल्याण्ड मार्केटको अवधारणा कार्यान्वयन गर्ने हो भने घरजग्गा कारोबार धेरै व्यवस्थित हुन्छ । 

घरजग्गा व्यवसायीले बनाएका घर र व्यक्तिगत रूपमा घर बनाउने नागरिकबीच गुणस्तर तथा लागतको हिसाबले के फरक हुन्छ ? कम्पनीमार्फत घर निर्माण गराउँदा सर्वसाधारणलाई के फाइदा हुन्छ ?

हाम्रो समाजमा घरजग्गा व्यवसायीप्रति केही नकारात्मक धारणा पनि छ । तर हामीले घर निर्माणको वास्तविक पक्षलाई पनि बुझ्नुपर्छ । कुनै व्यक्तिले जीवनमा पहिलोपटक आफ्नो घर बनाउँदा उसलाई घर निर्माणसम्बन्धी सबै प्राविधिक ज्ञान हुँदैन । घर बनाइसकेपछि मात्र धेरै कुरा थाहा हुन्छ। कहाँ झ्याल राख्नुपर्ने रहेछ, कुन दिशाबाट घाम लाग्ने रहेछ, कोठाको आकार कस्तो हुनुपर्ने रहेछ, ढोका कहाँ राख्दा उपयुक्त हुने रहेछ भन्ने कुरा घर बनाइसकेपछि अनुभव हुन्छ । कतिपय अवस्थामा घर बनाइसकेपछि आफूले सोचेअनुसार नभएको महसुस हुन्छ । तर दशकौँदेखि घर तथा आवास निर्माणको काम गरिरहेको रियल इस्टेट व्यवसायीसँग यससम्बन्धी अनुभव र प्राविधिक ज्ञान हुन्छ । उसले घर निर्माण गर्दा घाम, हावा, झ्याल, ढोका, कोठाको आकार र अन्य आवश्यक पक्षलाई ध्यान दिन सक्छ । लागतको हिसाबले पनि व्यावसायिक निर्माणमा फाइदा हुन्छ । एउटा व्यक्तिले आफ्नो घर बनाउन आवश्यक पर्ने गिटी, बालुवा, ढुंगा, सिमेन्ट र रड छुट्टाछुट्टै थोरै परिमाणमा खरिद गर्नुपर्छ ।

तर कुनै कम्पनीले एकैपटक सयवटा घर निर्माण गर्ने योजना बनाएको छ भने उसले ठूलो परिमाणमा सामग्री खरिद गर्न सक्छ । त्यसो हुँदा सामग्रीको मूल्य कम पर्न सक्छ । यसरी निर्माण गर्दा घरको लागत घट्न सक्छ । तर लागत घट्यो भन्दैमा गुणस्तरमा सम्झौता हुनु हुँदैन । घरधनीले निर्माणका क्रममा प्रयोग हुने सामग्री र गुणस्तरको निगरानी गर्न पाउनुपर्छ । कुन सामग्री प्रयोग गर्ने, कस्तो संरचना बनाउने भन्ने विषयमा घरधनी र निर्माण कम्पनीबीच स्पष्ट सहमति हुनुपर्छ । त्यसैले हामीले व्यवस्थित रियल इस्टेट कम्पनीमार्फत घर निर्माण गर्ने संस्कृतिको विकास गर्नुपर्छ भन्ने मान्यता राखेका छौं । सरकारले पनि त्यसलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ । 

तपाईंहरूले मंसिर २५ देखि २७ गतेसम्म चितवनमा रियल इस्टेट एक्स्पो आयोजना गर्दै हुनुहुन्छ । एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

एक्स्पो आयोजना गर्नुको हाम्रो पहिलो उद्देश्य आम नागरिकलाई घरजग्गा कारोबारमा ठगिनबाट जोगाउनु हो । नागरिकले घर, घडेरी वा आवास परियोजना खरिद गर्नुअघि कुन कम्पनीले कस्तो परियोजना सञ्चालन गरिरहेको छ भन्ने जानकारी पाउनुपर्छ । हामीले यसअघि असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना गरेका थियौं । त्यहाँ धेरै अवलोकनकर्ताले विभिन्न कम्पनीका परियोजना, घर तथा जग्गाका योजनाबारे जानकारी लिनुभयो ।

उहाँहरूले कम्पनीको पहिचान र परियोजनाको प्रकृति बुझ्ने अवसर पाउनुभयो  । यसले खरिदकर्तालाई सही व्यवसायी र परियोजनासँग प्रत्यक्ष जोडिन सहयोग गरेको छ । हामीले काठमाडौंमा मात्र नभएर देशका विभिन्न सहरमा यस्ता एक्स्पो आयोजना गर्नुपर्छ भन्ने सोच बनाएका छौं । नागरिकले आफ्नो जीवनभरको कमाइ लगानी गरेर घर वा जग्गा खरिद गर्ने भएकाले पर्याप्त जानकारी लिएर निर्णय गर्न पाउनुपर्छ । 

अर्को कुरा रियल इस्टेट कारोबार चलायमान हुँदा देशको अर्थतन्त्र पनि चलायमान हुन्छ। यो क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २४७ वटा उद्योग जोडिएका छन् । सिमेन्ट, डन्डी, इँटा, गिटी, बालुवा, ढुंगा, काठ, फर्निचर, इलेक्ट्रिकल सामग्रीदेखि श्रम र यातायातसम्मका व्यवसाय यससँग जोडिएका छन् । घर निर्माणको काम बढ्दा ती सबै क्षेत्रको माग बढ्छ ।

रोजगारी सिर्जना हुन्छ र बजारमा आर्थिक गतिविधि विस्तार हुन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा १६ खर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएर बसेको हाम्रो बुझाइ छ । त्यस्तो पुँजी उत्पादनशील क्षेत्रमा परिचालन हुन सके अर्थतन्त्रमा थप गति आउन सक्छ । त्यसैले घरजग्गा कारोबारलाई व्यवस्थित र चलायमान बनाउनु देशको अर्थतन्त्रका लागि पनि आवश्यक छ भन्ने सन्देश दिन एक्स्पो आयोजना गरेका हौं । 

अघिल्लो एक्स्पोबाट कस्तो उपलब्धि हासिल भयो ? यसपटकको चितवन एक्स्पोमा के नयाँपन हुनेछ ?

अघिल्लो एक्स्पोमा हामीले सर्वसाधारणले खरिद गर्न सक्ने मूल्यका घरलाई विशेष प्राथमिकता दिएका थियौं । काठमाडौं उपत्यकामा बस्न चाहने तर महँगो मूल्यका कारण घर किन्न नसक्ने नागरिकलाई लक्षित गरेर करिब एक करोड ४० लाख रुपैयाँमा दुईदेखि अढाई तलासम्मका घर उपलब्ध गराउने योजना प्रस्तुत गरेका थियौं । त्यो योजना निकै सफल भयो । चार दिनको अवधिमा करिब ७० वटा घर बुकिङ भए । त्यसपछि थप करिब ५० वटा घर बुकिङ भएको जानकारी हामीसँग छ । यसरी करिब १२० वटा घर बुकिङ भएका छन् । ती घर निर्माणको काम टोखाको झोर क्षेत्रमा सुरु भइरहेको छ । उक्त परियोजना महासंघका उपाध्यक्ष दीपक कुँवरको कम्पनीसँग सम्बन्धित छ ।

त्यस्तै भक्तपुरलगायत विभिन्न ठाउँमा ७७ लाख रुपैयाँदेखि घर उपलब्ध गराउने योजनासमेत प्रस्तुत गरिएको थियो । हाम्रो भनाइअनुसार चार दिनको एक्स्पोमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । काठमाडौंमा घर महँगो भयो भन्ने गुनासो धेरै सुनिन्छ । तर सबैका लागि एउटै मूल्यको घर उपयुक्त हुँदैन । कसैलाई ठूलो र महँगो घर चाहिन्छ भने कसैलाई सानो र सस्तो घर चाहिन्छ । त्यसैले हामीले विभिन्न आर्थिक क्षमता भएका नागरिकलाई लक्षित गरेर घरका विकल्प प्रस्तुत गरेका थियौं । कतिपय परियोजनामा बैंकबाट ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था पनि थियो । यसले घर खरिद गर्न चाहने तर एकैपटक ठूलो रकम जुटाउन नसक्ने नागरिकलाई सहज बनाएको थियो । 

यसपटक चितवनलाई विशेष प्राथमिकतामा राखेका छौं । चितवन भौगोलिक, आर्थिक र व्यावसायिक दृष्टिले सम्भावना भएको क्षेत्र हो । त्यहाँ लगानीका अवसर छन् । काठमाडौं र चितवनबीचको दूरी तथा यातायात पहुँचलाई हेर्दा पनि चितवनमा व्यवस्थित आवास विकासको सम्भावना छ । त्यस्तै हेटौंडालाई पनि हामीले सम्भावनायुक्त सहरका रूपमा हेरेका छौं । काठमाडौंमा जनसंख्या र सवारी चाप बढ्दै जाँदा मानिसले राजधानीबाहिरका व्यवस्थित सहरमा बसोबास गर्ने विकल्प खोज्नुपर्छ । फराकिलो सडक, खुला क्षेत्र र व्यवस्थित पूर्वाधार भएका सहरमा बसोबास गर्न सके जीवन सहज र स्वस्थ हुन सक्छ ।

काठमाडौंलाई पनि व्यवस्थित र पुरातात्त्विक महत्त्वको सहरका रूपमा विकास गर्न सकिन्छ । यहाँका पुराना मठमन्दिर, सम्पदा र सांस्कृतिक क्षेत्रलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ। सबै प्रकारका आवासीय चाप काठमाडौंमै केन्द्रित गर्नुभन्दा वरपरका सहरलाई पनि व्यवस्थित बनाउनु आवश्यक छ ।

एक्स्पोमा कति स्टल राखिँदैछन् ? घर निर्माणमा नयाँ प्रविधि र सस्तो आवासका कस्ता विकल्प प्रस्तुत गरिँदैछन् ?

अहिलेसम्म करिब २५ वटा स्टल बुकिङ भइसकेका छन् । हामीले कम्तीमा ६० वटा स्टल रहने अपेक्षा गरेका छौं । देशभरका रियल इस्टेट व्यवसायी, आवास विकास कम्पनी र घर निर्माणसँग सम्बन्धित कम्पनीलाई आफ्ना परियोजना तथा उत्पादन प्रस्तुत गर्न आग्रह गरेका छौं । यसपटक हामीले घर निर्माणमा नयाँ प्रविधिलाई पनि विशेष प्राथमिकता दिएका छौं । घर भनेको इँटा, ढुंगा र सिमेन्टबाट मात्र बन्नुपर्छ भन्ने छैन । अहिले हलुका सामग्री प्रयोग गरेर पनि सुरक्षित घर निर्माण गर्न सकिने प्रविधि उपलब्ध छन् । त्यसैले एक्स्पोमा प्यानल प्रविधिबाट निर्माण गरिने घरका नमुनासमेत प्रदर्शन गरिनेछ । आफ्नो जग्गा भएका नागरिकले करिब चारदेखि पाँच लाख रुपैयाँको लागतमा एक वा दुई कोठासम्मको सानो घर बनाउन सक्ने विकल्प पनि प्रस्तुत गरिनेछ । 

यसले कम आम्दानी भएका नागरिकलाई पनि आफ्नै जग्गामा बसोबासको व्यवस्था गर्न सहयोग गर्न सक्छ । त्यसबाहेक व्यवस्थित आवास परियोजना, घरघडेरी तथा भविष्यमा पनि उपयोगी हुने पूर्वाधारसहितका जग्गा परियोजना प्रदर्शन गरिनेछन् । हामीले घरजग्गा बिक्री गर्ने मात्र नभएर व्यवस्थित बसोबासको अवधारणालाई पनि प्रवर्द्धन गर्न खोजेका छौं । ठूला सडक, खुला क्षेत्र, आवश्यक पूर्वाधार र मापदण्डअनुसार विकास गरिएका आवास परियोजनालाई प्राथमिकता दिइनेछ ।

एक्स्पोमा कति अवलोकनकर्ता आउने अपेक्षा गर्नुभएको छ ? कारोबारको लक्ष्य पनि तय गर्नुभएको छ ?

हामीले करिब ६० हजारदेखि ८० हजारसम्म अवलोकनकर्ता आउने अपेक्षा गरेका छौं । चितवनमा आयोजना हुने भएकाले त्यहाँका स्थानीय नागरिक मात्र नभएर आसपासका जिल्लाबाट पनि मानिस आउने विश्वास छ । यसपटक कारोबारको संख्याभन्दा पनि नागरिकलाई सही सूचना दिने, व्यवस्थित परियोजनासँग परिचित गराउने र खरिदकर्ता तथा व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने विषयलाई महत्त्व दिएका छौं । अवलोकनकर्ताले विभिन्न कम्पनीका परियोजना एउटै ठाउँमा हेर्न र तुलना गर्न सक्नुहुन्छ । आफूलाई आवश्यक पर्ने घर, घडेरी वा आवास परियोजनाबारे जानकारी लिएर निर्णय गर्न सक्नुहुन्छ । व्यवसायीले पनि आफ्ना परियोजनाबारे जानकारी दिने अवसर पाउँछन् । 

आगामी दिनमा काठमाडौं र चितवनबाहेक देशका अन्य सहरमा पनि यस्ता एक्स्पो आयोजना गर्ने योजना छ ?

हामीले देशभरि नै एक्स्पो आयोजना गर्ने योजना बनाएका छौं । दसैंको समयमा धनगढीमा पनि एउटा कार्यक्रम आयोजना गर्ने तयारी गरेका थियौं । तर विशेष कारणले त्यसबेला सम्भव भएन । अब चितवनको एक्स्पो सम्पन्न भएपछि करिब डेढदेखि दुई महिनाको अन्तरालमा अर्को ठाउँमा कार्यक्रम गर्ने योजना छ । पूर्वतर्फ विराटनगर वा बिर्तामोडमध्ये उपयुक्त स्थान छनोट गरेर एक्स्पो आयोजना गर्न सक्छौं । त्यसपछि पश्चिमतर्फ नेपालगन्ज वा धनगढीमा पनि कार्यक्रम गर्ने योजना छ ।

हामी काठमाडौं केन्द्रित बजारलाई मात्र प्रवर्द्धन गर्न चाहँदैनौं । देशका विभिन्न जिल्लामा आवास विकासका सम्भावना छन् । ती सम्भावनालाई बाहिर ल्याउन र स्थानीय नागरिकलाई पनि व्यवस्थित आवासबारे जानकारी दिन एक्स्पो उपयोगी हुनेछ ।

घरजग्गा खरिद गर्न चाहने सर्वसाधारणले वास्तविक व्यवसायी र परियोजनासम्म कसरी पुग्ने ? महासंघसँग कसरी सम्पर्क स्थापित गर्न सक्छन् ?

हाम्रा सदस्य कम्पनीहरूका सम्पर्क विवरण र परियोजनासम्बन्धी जानकारी सार्वजनिक रूपमा उपलब्ध छन् । नागरिकले आफूलाई आवश्यक पर्ने घर वा जग्गाको परियोजना सञ्चालन गरिरहेको कम्पनीसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ । म आम नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने कुनै कम्पनीले वास्तविक रूपमा परियोजना सञ्चालन गरिरहेको छ, घर निर्माण गरिरहेको छ वा आवास योजना विकास गरिरहेको छ भने त्यस्ता कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरेर जानकारी लिनुहोस् ।

आफ्नो उत्पादन वा परियोजनाबारे कम्पनीले भनेको कुराभन्दा पनि त्यसको वास्तविक अवस्था बुझ्नुपर्छ । हाम्रो समाजमा कहिलेकाहीँ वास्तविक व्यवसायीले भनेको कुराभन्दा अर्को व्यक्तिले गरेको टिप्पणीलाई बढी विश्वास गर्ने प्रवृत्ति छ । त्यसलाई पनि परिवर्तन गर्नुपर्छ। कुनै परियोजनाबारे शंका छ भने सम्बन्धित कम्पनीसँग सोध्नुहोस्, कागजात हेर्नुहोस् र आवश्यक जानकारी लिएर मात्र निर्णय गर्नुहोस् । त्यस्तै, ब्रोकरलाई पनि व्यवस्थित बनाउन आवश्यक छ । सबै ठाउँमा जग्गाधनी वा डेभलपर आफैं उपस्थित हुन सम्भव हुँदैन । त्यसैले लाइसेन्स प्राप्त ब्रोकरमार्फत कारोबार गर्ने व्यवस्था प्रभावकारी हुन सक्छ ।

तपाईंले लाइसेन्सको कुरा गर्नुभयो । अहिले सरकारले घरजग्गा कारोबारका लागि लाइसेन्सको व्यवस्था गर्ने विषय अघि बढाइरहेको छ। त्यसमा के सुधार आवश्यक छ ?

अहिलेको व्यवस्थामा घरजग्गा कारोबार गर्न लाइसेन्स आवश्यक हुने विषय उठेको छ । तर समस्या के हो भने इन्भेस्टर, डेभलपर र ब्रोकरबीच स्पष्ट वर्गीकरण छैन । यी तीनवटै फरक प्रकृतिका काम हुन् । हामीले सरकारसँग तीन प्रकारका छुट्टाछुट्टै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छौं । पहिलो, इन्भेस्टर अर्थात् लगानीकर्ता। जसले घरजग्गा क्षेत्रमा पूँजी लगानी गर्छ, उसलाई लगानीकर्ताका रूपमा पहिचान गर्नुपर्छ ।

दोस्रो, डेभलपर अर्थात् परियोजना विकासकर्ता । जसले जग्गा विकास गर्छ, आवास योजना बनाउँछ र घर निर्माणको काम गर्छ, उसलाई छुट्टै लाइसेन्स दिनुपर्छ । तेस्रो, ब्रोकर अर्थात् खरिदकर्ता र बिक्रीकर्ताबीच सम्पर्क स्थापित गराउने व्यक्ति वा संस्था । उनीहरूका लागि पनि छुट्टै लाइसेन्सको व्यवस्था हुनुपर्छ । यी तीनवटै क्षेत्रको जिम्मेवारी र कार्यक्षेत्र फरक भएकाले एउटै व्यवस्थाभित्र राख्नु उपयुक्त हुँदैन । सरकारले स्पष्ट कानुनी व्यवस्था गरेर अघि बढ्ने हो भने घरजग्गा कारोबारमा पारदर्शिता बढ्छ । सर्वसाधारणको विश्वास पनि बढ्छ र गलत गतिविधि गर्नेहरूलाई नियन्त्रण गर्न सहज हुन्छ ।

अन्त्यमा, घरजग्गा खरिद गर्न चाहने सर्वसाधारण, व्यवसायी र एक्स्पोमा सहभागी हुन चाहने नागरिकलाई के भन्न चाहनुहुन्छ ?

सबै व्यवसायी साथीहरूलाई मंसिर २५, २६ र २७ गते चितवनमा आयोजना हुन गइरहेको रियल इस्टेट एक्स्पोमा सहभागी हुन अनुरोध गर्न चाहन्छु । आफ्ना परियोजना, घर, घडेरी तथा आवास योजनालाई त्यहाँ प्रस्तुत गर्नुहोला । देशभरिका व्यवसायीले आफ्ना परियोजनाबारे नागरिकलाई जानकारी दिने अवसरका रूपमा यसलाई लिनुपर्छ । त्यस्तै, घर वा जग्गा खरिद गर्न चाहने नागरिकलाई पनि एक्स्पोमा आएर अवलोकन गर्न अनुरोध गर्छु । आफूलाई आवश्यक पर्ने घरजग्गा कहाँ उपलब्ध छ ।

कुन कम्पनीले कस्तो परियोजना सञ्चालन गरिरहेको छ र त्यसको मूल्य तथा गुणस्तर कस्तो छ भन्ने जानकारी लिनुहोला । जीवनभरको कमाइ लगानी गर्ने विषय भएकाले राम्रोसँग बुझेर मात्र निर्णय गर्नुहोला । एउटा कर्मचारीले ३० वर्षसम्म जागिर गर्दा पनि घर किन्नका लागि लिएको कर्जा तिर्न नसक्ने अवस्था हुन सक्छ । किनभने घर मानिसको जीवनको आधारभूत आवश्यकता हो । त्यसैले आम नागरिकलाई आवासको महत्त्व र व्यवस्थित घरजग्गा व्यवसायको आवश्यकताबारे बुझाउनुपर्छ ।

तर यसको अर्थ गलत काम गर्ने व्यवसायीलाई संरक्षण गर्नुपर्छ भन्ने होइन। कुनै व्यवसायीले ठगी गरेको छ, नागरिकलाई झुक्याएको छ वा गलत काम गरेको छ भने त्यस्तालाई कानुनी कारबाही हुनुपर्छ । एक/दुई जना व्यवसायीले गलत काम गर्दैमा सम्पूर्ण रियल इस्टेट व्यवसायीलाई एउटै दृष्टिले हेर्नु उचित हुँदैन । कसैले ठगीमा परेको छ भने सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ । महासंघमा पनि जानकारी गराउन सक्नुहुन्छ । हामी व्यवसायीको तर्फबाट गर्नुपर्ने सहजीकरण गछौं र सरकारसमक्ष उठाउनुपर्ने विषय उठाउँछौं ।

Share News