‘नीतिगत स्थिरता भए नेपालमै गाडी उत्पादन र निर्यात सम्भव छ’
नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित उत्सव नाडा अटो शोको १८औं संस्करण मंगलबार (भाद्र ९) देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । नाडा अटो शो प्रदर्शनी मात्र नभएर प्रविधि र आधुनिकताको संगम भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले दाबी गरेको छ । अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । नाडाको ५० वर्षको लामो इतिहास र यस वर्षको अटो शोको तयारी, आकर्षण र चुनौतीका विषयमा केन्द्रित रहेर नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् । नाडा अटो शो सुरु हुन अब केही समयमात्र बाँकी छ । तयारीको अन्तिम चरणमा हुनुहुन्छ, कस्तो छ अहिलेको माहोल ? हामी अहिले साँच्चै नै अत्यन्तै व्यस्त र उत्साहजनक घडीमा छौं । अटो शो सुरु हुन अब केही समय मात्र बाँकी रहँदा हामी तयारीको अन्तिम फिनिसिङमा छौं । भृकुटीमण्डपमा स्टल निर्माणदेखि लिएर सहभागी ब्रान्डहरूको व्यवस्थापनसम्मका कामहरू भइरहेका छन् । हाम्रा सदस्यहरू, सल्लाहकारहरू र तपाईंहरू जस्तो सञ्चारकर्मीहरूको साथले गर्दा हामी यो १८औं संस्करणलाई विगतको भन्दा अझ भव्य र व्यवस्थित बनाउन सफल हुनेमा ढुक्क छौं । यसपालिको अटो शोले नेपाली अटोमोबाइल क्षेत्रमा एउटा नयाँ ऊर्जा सञ्चार गर्नेछ । १८औं संस्करणसम्म आइपुग्दा नाडा अटो शोले नेपाली बजारमा आफ्नो एउटा विशिष्ट पहिचान बनाएको छ । यसपटकको शो विगतका वर्षहरूभन्दा कुन-कुन विषयमा फरक र विशेष छ ? नाडा अटो शो आफैमा एउटा मौलिक ब्रान्ड बनिसकेको छ । तर, यसपटक हामीले यसलाई केवल गाडीको मेलामा मात्र सीमित राखेका छैनौं । यस वर्षको मुख्य नारा नै उद्योगदेखि रोजगारसम्म’ तय गरेका छौं । यसको अर्थ हामी अब गाडी आयात गर्ने र बेच्ने मात्र होइन, नेपालमै सवारी साधन उत्पादन र एसेम्ब्लिङ गर्ने दिशामा अघि बढ्दैछौं भन्ने सन्देश दिन चाहन्छौं । यसपटक हामीले मेड इन नेपाल पेभिलियन बनाएका छौं । जहाँ नेपालमै एसेम्बल भएका सवारीसाधनहरू जस्तै यात्री, सिप्रदीका उत्पादनहरू र अन्य स्वदेशी कम्पोनेन्ट्स उद्योगका उत्पादनहरूलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ । यसले नेपाली उद्योगीहरूलाई प्रोत्साहन गर्नेछ र उपभोक्ताहरूमा स्वदेशी उत्पादनप्रति विश्वास जगाउनेछ । त्यसैले, यो शो यसपटक आर्थिक राष्ट्रियता र औद्योगिक विकासको दृष्टिकोणले निकै फरक छ । नाडाको ५० वर्ष लामो इतिहास छ । एउटा संस्थाका लागि ५० वर्षको यात्रा निकै ठूलो कुरा हो । यो स्वर्णिम वर्षमा अटो शो आयोजना गर्दा कस्तो महसुस भइरहेको छ ? ५० वर्षको यात्रा कुनै पनि संस्थाका लागि गौरवको विषय हो । केही सीमित व्यापारीहरूबाट सुरु भएको यो संस्था आज ३ हजार भन्दा बढी सदस्यहरू भएको एउटा विशाल परिवार बनेको छ । यो ५० वर्षमा हामीले सवारीसाधन मात्र बेचेनौं, नेपालको मोबिलिटी, सडक सुरक्षा, प्राविधिक शिक्षा र कर प्रणालीमा समेत सरकारसँग सहकार्य गर्दै आएका छौं । यो स्वर्णिम वर्षमा अटो शो आयोजना गर्नु हाम्रा लागि एउटा उत्सव हो । हामीले यो ५० वर्षमा आर्जन गरेको अनुभव र विश्वासलाई यस शोमार्फत प्रदर्शन गर्न खोजिरहेका छौं । यसपटक स्टल र ब्रान्डहरूको संख्या कस्तो छ ? उपभोक्ताले एउटै छानामुनि के-के देख्न पाउनेछन् ? यसपटकको शो विगतको तुलनामा निकै बृहत् छ । हामीसँग २०० भन्दा बढी स्टलहरू रहेका छन् । यो संख्या त हामीले व्यवस्थापन गर्न सकेको मात्र हो, माग त योभन्दा निकै धेरै थियो । त्यसैगरी, १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता छ । ग्राहकहरूले एउटै छानामुनि नयाँ मोडलका कार, मोटरसाइकल, स्कुटर मात्र होइन, लुब्रिकेन्ट्स, टायर, ब्याट्री, र अन्य स्पेयर पार्ट्सहरू पनि हेर्न र बुझ्न पाउनेछन् । यसबाहेक गाडी किन्ने योजनामा रहेकाहरूका लागि बैंकिङ सुविधा र इन्स्योरेन्सका स्टलहरू पनि सँगै छन् । यसले गर्दा उपभोक्ताले सम्पूर्ण अटोइकोसिस्टमको अनुभव एउटै ठाउँमा लिन पाउनेछन् । यसपटक रोबोटिक्सलाई पनि समावेश गरिएको सुनिन्छ । प्रविधिको यो प्रयोगले अटो शोमा कस्तो रौनकता थप्नेछ ? हो, हामीले प्रविधिलाई सधैं प्राथमिकता दिँदै आएका छौं । गत वर्ष पनि हामीले रोबोटिक्सको प्रयोग गरेका थियौं र यसपालि त्यसलाई अझ व्यवस्थित रूपमा निरन्तरता दिएका छौं । यसको मुख्य उद्देश्य भनेको भविष्यको प्रविधिबारे मानिसहरूलाई जानकारी गराउनु हो । अहिले संसारभर ड्राइभरलेस कार र आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा छ । रोबोटिक्सले कसरी मानवीय क्षमतालाई बढाउँछ र भविष्यको अटोमोबाइल क्षेत्र कस्तो हुन्छ भन्ने एउटा झलक यसले दिनेछ । हामीले प्रविधिलाई अंगाल्नुपर्छ र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्नुपर्छ भन्ने हाम्रो चाहना हो । सामान्यतया अटो शोलाई गाडी किन्नेहरूको मेला भनिन्छ । तर गाडी नकिन्ने वा हेर्न मात्र आउनेहरूका लागि तपाईंहरूसँग के अफर छ ? यो केवल गाडी बेच्ने ठाउँ मात्र होइन, यो एउटा शैक्षिक र सूचनामूलक प्लेटफर्म पनि हो । हामी सबैलाई प्रदर्शनी हेर्न आउन आह्वान गर्छौं । त्यहाँ मोबिलिटीको भविष्यबारे कक्षाहरू सञ्चालन हुन्छन्। ई–मोबिलिटी, सडक सुरक्षा, बैंकिङ प्रक्रिया र कर प्रणालीबारे हामीले निःशुल्क जानकारीमूलक सेसनहरू राखेका छौं । हामीले त्यस्ता शैक्षिक सत्रमा सहभागी हुन चाहनेहरूका लागि फ्री पासको समेत व्यवस्था गरेका छौं । त्यसैले जो कोही पनि आएर त्यहाँका विज्ञहरूसँग कुरा गर्न सक्नुहुन्छ, जिज्ञासा राख्न सक्नुहुन्छ । आफूलाई मन परेको गाडीको बारेमा बुझ्न सक्नुहुन्छ । यो सूचना र ज्ञानको एउटा ठूलो भण्डार हो । गाडी किन्नेहरूका लागि विशेष के छ ? के नाडा अटो शोमा मात्र पाइने विशेष सहुलियतहरू छन् ? पक्कै पनि ! नाडा अटो शोको सबैभन्दा ठूलो आकर्षण नै अफरहरू हुन् । सहभागी कम्पनीहरूबीच ग्राहक तान्नका लागि स्वस्थ प्रतिस्पर्धा हुन्छ । कुनै गाडीको बजार मूल्य छ भने अटो शोका लागि उनीहरूले विशेष मूल्य तय गरेका हुन्छन् । यति सस्तो मूल्य र यति धेरै उपहारहरू सायद वर्षभरि अरू बेला पाइँदैन । यसबाहेक वित्तीय क्षेत्रको कुरा गर्दा अहिले बैंक ब्याजदर इतिहासकै सस्तो छ । कतिपय बैंकहरूले ७ वर्षसम्मका लागि फिक्स ब्याजदरमा ऋण उपलब्ध गराइरहेका छन् । यसले गर्दा ग्राहकलाई भविष्यमा ब्याज बढ्ने डर हुँदैन । बैंकिङ, इन्स्योरेन्स र चार्जिङ सुविधा सबै एकै ठाउँमा भएकाले गाडी खरिद प्रक्रिया अत्यन्तै सहज छ । भृकुटीमण्डपको पूर्वाधारलाई लिएर सधैं प्रश्न उठ्ने गर्छ । सानो ठाउँ, बर्खाको समयमा हिलो र पानीको समस्या यसलाई यसपटक कसरी व्यवस्थापन गर्नुभएको छ ? भृकुटीमण्डपको सीमितता हाम्रो लागि सधैंको चुनौती हो । काठमाडौंको मुटुमा अरू विकल्प नभएकाले हामीले यहीँ चित्त बुझाउनुपरेको छ । तर, यसपटक हामीले धेरै मेहनत गरेका छौं । सम्पूर्ण प्रदर्शनीस्थललाई वाटरप्रुफ बनाएका छौं । बर्खामा पानी चुहिने वा हिलो हुने समस्या नहोस् भनेर छानादेखि भुइँसम्म विशेष व्यवस्थापन गरिएको छ । सरसफाइ र शौचालयको व्यवस्थापनमा पनि हामीले ध्यान दिएका छौं । हामीले सरकारसँग पनि आग्रह गर्दै आएका छौं कि एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र चाँडै बनोस् । अहिलेको बजेटमा केही कुराहरू समेटिएका छन्, जुन सकारात्मक छ। आगामी दिनमा पार्किङ र सुरक्षा प्रविधियुक्त ठूलो ठाउँ उपलब्ध भयो भने हामी अझ ठूला मेलाहरू आयोजना गर्न सक्छौं । पार्किङको समस्या सधैंजसो हुन्छ । यसपटक अवलोकनकर्ताहरूका लागि पार्किङको के व्यवस्था छ ? पार्किङको समस्या हल गर्न हामीले यसपटक एउटा नयाँ रुट र सटल बसको व्यवस्था गरेका छौं । अवलोकनकर्ताहरूले सुन्धाराको पार्किङ, आरएनएसी, आर्मी ग्राउन्ड, पुरानो बसपार्क र नेसनल ट्रेडिङको पार्किङ स्थल प्रयोग गर्न सक्नुहुन्छ । ती ठाउँहरूमा गाडी पार्क गरेपछि नाडाले उपलब्ध गराएको सटल बसले तपाईंलाई प्रदर्शनी स्थलसम्म ल्याउने र पुर्याउने काम गर्नेछ । ५ मिनेटभित्र बस आइपुग्ने व्यवस्था मिलाइएको छ। यसले गर्दा भृकुटीमण्डपको गेटमा हुने ट्राफिक जाम कम हुने हाम्रो अपेक्षा छ । साथै, प्रदर्शनी केन्द्रको पछाडि र पुलिसको ब्लु पेभिलियनमा पनि केही पार्किङको व्यवस्था मिलाइएको छ । पछिल्लो समय नेपाली सडकमा विद्युतीय सवारीसाधन (ईभी) को लहर नै चलेको देखिन्छ । यसपटकको शोमा ईभीको प्रभाव कस्तो रहला ? यो परिवर्तनको समय हो । अहिले संसारभर नै ईभीको लहर छ र नेपाल पनि यसबाट अछुतो छैन । अहिलेको बजारमा ७५ देखि ८० प्रतिशत हिस्सा ईभीले ओगटिसकेको छ । यो वातावरणीय हिसाबले राम्रो मात्र होइन, नेपालको आफ्नै बिजुली खपत बढाउन र पेट्रोलियम पदार्थको आयात घटाउन पनि निकै ठूलो भूमिका खेलिरहेको छ । हाम्रो लागि ईभी अब विकल्प होइन, अपरिहार्यता भइसकेको छ । यसपटकको शोमा ईभीका धेरै नयाँ मोडलहरू लन्च हुँदैछन्। ईभीसँगै यसको पूर्वाधार, जस्तै चार्जिङ स्टेसन र ब्याट्री व्यवस्थापनका बारेमा पनि हामीले धेरै स्टलहरू राखेका छौं । अबको बहस ईभी कि पेट्रोलियम भन्नेमा होइन, ईभीको पूर्वाधार कसरी बलियो बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ । अटो व्यवसायीहरूले भोगिरहेको मुख्य समस्या चाहिँ के हो ? सरकारी नीतिमा तपाईंहरूको के गुनासो छ ? व्यवसायीको लागि सबैभन्दा ठूलो कुरा भनेको नीतिगत स्थिरता हो। नेपालमा सरकार छिटो-छिटो परिवर्तन हुने र सँगसँगै नीतिहरू पनि परिवर्तन हुने परिपाटी छ । प्रत्येक बजेट भाषणमा सवारी साधनको करका दरहरू परिवर्तन भइदिँदा व्यवसायी र ग्राहक दुवै अन्योलमा पर्छन् । अटोमोबाइल क्षेत्र नेपालको राजस्वको एउटा ठूलो स्रोत हो । यसलाई अस्थिर बनाउनु हुँदैन । हामी चाहन्छौं कि सरकारले कम्तीमा ५/१० वर्षका लागि एउटा स्थिर नीति ल्याओस् ताकि व्यवसायीले निर्धक्कसँग लगानी गर्न सकून् । उद्योग स्थापना र एसेम्ब्लिङका लागि पनि दीर्घकालीन सोच आवश्यक छ । उद्योगदेखि रोजगारसम्म भन्ने नारा साँच्चै नै महत्त्वाकांक्षी छ । के नेपाल साँच्चै अटोमोबाइलमा आत्मनिर्भर हुन सक्छ ? यो असम्भव छैन, हामीले सुरु गरिसकेका छौं । नेपालमा एसेम्ब्लिङ उद्योगहरू खुल्न थालेका छन् । जब नेपालमा गाडी बन्न थाल्छ, त्यसले हजारौंको सङ्ख्यामा रोजगारी सिर्जना गर्छ । गाडीको इकोसिस्टम निकै ठूलो हुन्छ ग्यारेज, टायर पसल, स्पेयर पार्टस्, चार्जिङ स्टेसन, सर्भिसिङ सेन्टर यी सबैले रोजगारी दिन्छन् । हाम्रा दाजुभाइ, दिदीबहिनी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न अटोमोबाइल क्षेत्रले ठूलो भूमिका खेल्न सक्छ । सरकारले अलिकति सहयोग र संरक्षण गरिदियो भने हामी गाडी मात्र होइन, यसका कम्पोनेन्ट्सहरू पनि नेपालमै बनाएर निर्यात गर्ने क्षमता राख्छौं । अन्तमा यो शो हेर्न आउने तयारीमा रहेका देशभरका अटो प्रेमीहरूलाई तपाईंको सन्देश के छ ? म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई भाद्र ९ गतेदेखि १४ गतेसम्म भृकुटी मण्डपमा हुन गइरहेको १८औं नाडा अटो शोमा निमन्त्रणा दिन चाहन्छु । यो केवल व्यवसायीको शो मात्र होइन, यो तपाईं, हाम्रो शो हो । यहाँ आउनुस्, नयाँ प्रविधि हेर्नुस्, अनुभव लिनुस् । तपाईं गाडी किन्ने सोचमा हुनुहुन्छ भने यो सबैभन्दा उत्तम समय हो । यदि किन्ने सोचमा हुनुहुन्न भने पनि भविष्यको मोबिलिटी कस्तो हुँदैछ भनेर बुझ्न एकपल्ट अवश्य पाल्नुहोला । तपाईंहरूका केही सल्लाह वा सुझाव छन् भने पनि हामीलाई दिनुहोला, हामी त्यसलाई अंगाल्दै अघि बढ्नेछौं ।
७ सय ठेक्का रद्द हुने जोखिम
काठमाडौं । देशभरका ७०० ठेक्काहरू रद्द हुने अवस्थामा पुगेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार देशभरका ७०० ठेक्काहरू रद्द हुने अवस्थामा पुगेका हुन् । हाल नेपालभर करिब ९०० रुग्ण आयोजनाहरू रहेको महासंघले जनाएको छ । यीमध्ये २५० भन्दा बढी ठेक्काहरू रद्द छन् । महासंघले निर्माण क्षेत्र अहिले गम्भीर आर्थिक अभावबाट गुज्रिरहेको बताएको छ । लामो समयदेखि मूल्य समायोजन नहुँदा निर्माण व्यवसायीहरू धराशायी भएको महासंघको गुनासो छ । बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक वृद्धि भए पनि सरकारले पुरानै दररेटमा भुक्तानी दिँदा व्यवसायीहरूले १ लाख रुपैयाँ समेत जुटाउन नसक्ने अवस्था आएको महासंघको भनाइ छ । यी ठेक्काहरू रद्द हुनुमा निर्माण व्यवसायीको मात्र दोष नभई सरकारले समयमा साइट क्लियर नगर्ने, जग्गा प्राप्ति र वनजंगलको समस्या समाधान नगर्ने र बजेटको व्यवस्थापन नगरी ठेक्का निकाल्ने प्रवृत्तिले आयोजनाहरू अलपत्र परेका महासचिव शिवहरि घिमिरेले जानकारी दिए । उनले भने, ‘आगामी दिनमा ५०० देखि ७०० वटा ठेक्काहरू रद्द हुने अवस्थामा छन् । जसले समग्र पूर्वाधार क्षेत्रमा ठुलो असर पुरÞ्याउने देखिन्छ ।’ उनले निर्माण क्षेत्रमा अहिले दक्ष कामदारको समेत ठुलो अभाव रहेको बताए । उनका अनुसार भुक्तानीको सुनिश्चितता नहुँदा कामदारहरूले व्यवसायीलाई विश्वास गर्न छाडेका छन् । हाल ८० प्रतिशतभन्दा बढी दक्ष कामदार भारत र बंगलादेशबाट ल्याउनुपर्ने बाध्यता छ । त्यसैगरी, बिटुमेनजस्ता सामग्रीको बजार भाउ र सरकारी इस्टिमेटबीच ठुलो खाडल रहेको व्यवसायीको भनाइ छ । सरकारले तराई र पहाडका पुल निर्माणका लागि तोकेको दररेट वास्तविक लागतभन्दा निकै कम हुँदा धेरै ठेक्काहरूमा आवेदन नै नपर्ने वा कार्टेलिङ हुने समस्या देखिएको छ । यस समस्यालाई सम्बोधन गर्न छिमेकी मुलुक भारतमा जस्तै एभरेज बिडिङको प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव छ । ‘एभरेज बिड लिँदा काम प्राप्तिमा केही अन्योल भए पनि प्राप्त भइसकेका कामहरू सम्पन्न गर्न धेरै सहज हुन्छ र यसले सकारात्मक नतिजा दिन्छ,’ उनले भने । बैंकको ब्याज सस्तो भएतापनि चेक अनादर र कामको ढिलाइका कारण धेरै व्यवसायीहरू कालो सूचीमा परेका महासंघका महासचिव घिमिरेले बताए । एकपटक कालो सूचीमा परेपछि बैंकले ऋण नदिने हुँदा निर्माण कार्य थप ठप्प भएको उनको भनाइ छ । यसैगरी, निर्माण क्षेत्रमा समयमै काम नसकिने र आयोजनाहरू रुग्ण बन्ने समस्याको मुख्य कारण लो बिडिङ र प्रतिकूल कानुनी व्यवस्था रहेको महासंघका निवर्तमान अध्यक्ष रवि सिंहले बताए । सिंहले निर्माण व्यवसायीहरूले बाँच्नकै लागि अत्यधिक घटेर ठेक्का लिने परिपाटीले गर्दा समग्र निर्माण क्षेत्र नै धराशायी बनेको धारणा राखे । सिंहका अनुसार कतिपय व्यवसायीले एउटा कामको घाटा पूर्ति गर्न अर्को काम झन् घटेर लिने बाध्यता छ । यसले गर्दा कामको गुणस्तर र समयसीमामा असर परेको छ । व्यवसायीले कोभिडपछिका रूग्ण आयोजनाहरूको हकमा एकपटकका लागि पर्फर्मेन्स बन्ड मात्र जफत गरी कालो सूचीमा नराखी निकास दिन सरकारसँग माग गरेका छन् । हाल वर्षा यामका कारण देशभरका निर्माण कार्यहरू ठप्प छन् । सरकारले ल्याएको एभरेज बिडको प्रावधानले भने निर्माण व्यवसायीहरूमा उत्साह थपेको छ । संसदबाट गत असार २५ गते पारित भएको सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनले निर्माण क्षेत्रमा नयाँ आशा जगाएको व्यवसायीहरूको भनाइ छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले यसका लागि स्ट्यान्डर्डले बिडिङ डकुमेन्ट तयार पारेसँगै नयाँ ठेक्काहरू आह्वान हुन थालेका छन् । यसअघि अत्यधिक न्यून बोलकबोल गरेर ठेक्का लिने र काम अलपत्र पार्ने प्रवृत्ति थियो । व्यवसायीका अनुसार एभरेज बिडले सही दररेटमा काम गर्ने व्यवसायीलाई अवसर दिने र सरकारले पनि गुणस्तरीय काम समयमै पाउने सुनिश्चित गर्नेछ । यद्यपि, एभरेज बिडको क्याल्कुलेसन र कार्यविधि स्पष्ट नहुँदा केही अन्योल भने कायमै छ । सरकारले एउटा निर्माण कम्पनीले एक पटकमा पाँचवटा भन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरेकोमा महासंघका निवर्तमान अध्यक्ष सिंहले खुसी व्यक्त गरे । यो अवधारणा विदेशहरुमा अत्यन्त सफल भएको र यसले कामको समानुपातिक वितरणमा सहयोग पुर्याएको उनको दाबी छ । राज्यले निर्माण व्यवसायीहरूको संख्या र उपलब्ध कामको आधारमा यो सीमालाई आवश्यकता अनुसार थप घटाउन पनि सक्ने उनले उल्लेख गरे । ठेक्काहरू रुग्ण हुनुमा केवल व्यवसायीको मात्र दोष नभई प्राविधिक र वातावरणीय कारणहरू पनि जिम्मेवार रहेको सिंहले बताए । अत्यधिक घटेर ठेक्का लिनु, डिजाइन र ड्रइङमा समस्या हुनु र भौगोलिक जटिलता मुख्य कारण हुन् । साथै, जलवायु परिवर्तनका कारण खोलाको सतह सोचेभन्दा धेरै तल जाँदा पुराना डिजाइनहरू असफल भई ठेक्काहरू अलपत्र परेको उनले प्रस्ट्याए । रुग्ण ठेक्काहरूको व्यवस्थापनका लागि सिंहले सरकारसँग विशेष माग गरेका छन् । सार्वजनिक खरिद ऐनको कडा प्रावधान (दफा ५९ को ८) हुबहु लागू गर्दा धेरै निर्माण कम्पनीहरू नै समाप्त हुने जोखिम रहेको भन्दै उनले मध्यमार्गी बाटो अपनाउन आग्रह गरे । विगतका संशोधनहरू (२०७३ देखि हालसम्म) बीचका ठेक्काहरूको हकमा एक पटकका लागि न्यूनतम जरिवाना गर्ने र कार्यसम्पादन जमानत जफत गरेर ठेक्का अन्त्य गरिदिएमा व्यवसायीहरूले राहत पाउने उनको तर्क छ । यसो गर्दा सक्षम व्यवसायीहरू बजारमा टिक्ने र काम नगर्नेहरू बिस्तारै बाहिरिने वातावरण बन्ने सिंहको विश्वास छ । उनले राज्यले निर्माण कार्यको समानुपातिक वितरणमा ध्यान दिँदै सबैलाई अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
नाइमा एक्स्पो सकिएलगत्तै नाडा अटो शोको रौनक, नयाँ मोडलदेखि ‘यात्री पी२’ सम्म
काठमाडौं । भदौ लागेसँगै काठमाडौंको मौसम फेरिन थालेको छ । कहिले घाम, कहिले बादल, यही माहोलबीच भृकुटीमण्डपमा अटोप्रेमीहरूका लागि विशेष रौनक थपिँदैछ । भदौ ९ देखि १४ गतेसम्म सवारीसाधनका पारखी र नयाँ गाडी किन्ने तयारीमा रहेका ग्राहकका लागि भृकुटीमण्डपमा नाडा अटो शोको १८औं संस्करण आयोजना हुन लागेको हो । नेपाली अटोमोबाइल बजारमा पहिलादेखि आयोजना हुँदै आएको अटो मेलामा नयाँ सवारीसाधन, प्रविधि र विभिन्न ब्रान्डका आकर्षण एकै ठाउँमा देख्न पाइनेछ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले आफ्नो स्थापनाको ५० औं वर्ष (गोल्डेन जुब्ली) मनाउँदै गर्दा यस वर्षको शोलाई विगतको तुलनामा झन् विशेष, भव्य र सुविधायुक्त बनाउने तयारी गरेको छ । नाइमा मोबिलिटी एक्स्पो सकिएसँगै सुरु हुन लागेको यो मेलाले नेपाली अटो बजारमा नयाँ उत्साह सञ्चार गरेको छ । यस वर्षको नाडा अटो शो केवल प्रदर्शनी मात्र होइन, यो प्रविधि र आधुनिकताको संगम भएको नाडाले दाबी गरेको छ । मेलामा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । विशेषगरी चारपाङ्ग्रे (कार) तर्फ २३ वटा ब्राण्डको सहभागिताले उपभोक्तालाई छनोटको फराकिलो अवसर दिनेछ । पछिल्लो समय विद्तीय सवारीसाधन (ईभी) तर्फ बढ्दो आकर्षणलाई सम्बोधन गर्न नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा ब्राण्डका नयाँ मोडलका साथै अन्य मोडलहरू पनि नाडा अटो शोमा राख्दैछ । यस्तै, बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले यसअघि सम्पन्न नाइमा एक्स्पोमा राखेका तिनै मोडल नाडा अटो शोमा राख्ने जनाएको छ । कम्पनीका अनुसार एटो १ एटो २ एटो ३ र डेन्जा नाइमामा राखेको थियो । साइमेक्सले नाडामा एटो २ को नयाँ सेग्मेन्ट ल्याउने तयारी गरिरहेको छ । यसैगरी, सीजी मोर्टसले आफ्ना विभिन्न ब्राण्डका गाडीहरू अटो शोमा राख्ने तयारी गरिरहेको छ । जसमा सुजुकी, अइओन, रिडारा, आवटर र जेटौर रहेका छन् । एमएडब्लु वृद्धि मार्टसले पनि आफ्ना विभिन्न ब्राण्ड दिपल, नाम्मी, स्कोडा, चाङ्गन र एमहिरो अटो शोमा राख्ने तयारी गरिरहेको छ । नाइमा एक्स्पोमा सहभागिता जनाएको प्रोटोन ईमास गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोर्टसले पनि नाइमा एक्स्पोमा राखेका मोडल इमास५ र इमास७ राख्ने तयारी गरिरहेको बताएको छ । गिली गाडीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले पनि आफ्ना विभिन्न मोडलहरु प्रदर्शनीमा राख्ने जनाएको छ । जेएमईभी गाडीको आधिकारिक बिक्रेता शौर्य अटोमोबाइल्सले पनि जेएमईभीका मोडलहरु राख्ने बताएको छ । यस्तै, नाइमा एक्स्पोमा सहभागि भएको पारामाउन्ट मोर्टसले एमजी विभिन्न मोडलहरु प्रदर्शनीमा राख्ने जनाएको छ । यसैगरी, जीडब्ल्युएम (ग्रेट वाल मोटर) गाडीको नेपालका लागि आधिकारिक बिक्रेता वा आयातकर्ता भीजी इम्पेक्स प्रालिले जीडब्ल्युएमका विभिन्न मोडलहरू राख्ने जनाएको छ । नाइमा एक्स्पोमा सहभागि रहेको सांग्रिला मोर्टसले पनि लिपमोटरका विभिन्न मोडल राख्ने बताएको छ । जी मोटर्स स्काईवेलका विभिन्न मोडल रहने जनाइएको छ । नाइमा एक्स्पोमा सहभागि भएको ओमोडाजस्ता नामहरू पनि प्रदर्शनीमा देखिनेछन् । सुजुकी र स्कोडा जस्ता स्थापित ब्राण्डहरूले पनि आफ्ना नयाँ मोडेलका साथ उपभोक्तालाई लोभ्याउने निश्चित छ । नाइमा मोबिलिटी एक्स्पोमा सहभागी भएका धेरै ब्राण्डहरू यसपटक नाडामा पनि दोहोरिँदै छन् । अटो कम्पनीहरूका अनुसार दुवै अटो शोमा सहभागी हुनुको मुख्य उद्देश्य व्यापार विस्तार र ग्राहकसँगको प्रत्यक्ष सामीप्यता नै हो । वुलिङ र चेरी जस्ता ब्राण्डहरूले पनि यस मेलामा आफ्नो उपस्थिति जनाउने बलियो सम्भावना छ, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाउनेछ । साना व्यवसायीदेखि सौखिनसम्मलाई लक्षित नाडा अटो शो केवल विलासी कारमा मात्र सीमित छैन । मेलामा १७ वटा लाइट कमर्शियल भेइकल ब्राण्डहरूको पनि सहभागिता रहनेछ । त्यस्तै, नाडामा १७ लाइट कमर्शियल ब्राण्डले सहभागिता जनाउँदै छन् । जसमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका फोटोन, डोङफेङ र सोकन रहनेछन् । सीजी मोर्टसको किङलङ, शशिला मोटर्स प्रालिले हाइगर र फारिजोन, एसटीसी अटो सोलुसन्ले जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, कुजु नेपाल प्रालिले डीएफएसके, मेगा मोटर्स र त्रिवेणी मोटोकर्प कामा, इकोअटो र जी.एल. लामा अटो नेपालले न्यू गोनो अटो, अकवेल नेपालले ओकवेल, एनईभी नेपाल प्रालिले दीगो, एलआरआर मोटर्सले स्काईवर्थ ईभी, ईभी गो नेपालले कावेल अटो, एभरग्रिन इनर्जी एण्ड इन्भेस्टमेन्ट प्रालिले फेइदी र एकता मोटर्स प्रर्दशनमा रहनेछ । यी बाहेक व्यवसायीहरूले थप अन्य सवारीसाधन प्रदर्शन गर्नेछन् । यसैगरी, दुईपाङ्ग्रेतर्फका सौखिनहरूका लागि १३ वटा अर्थात् मोटरसाइकल तथा स्कुटर ब्रान्डहरू जस्तै एमएडब्लू वृद्धि मोर्टसको यामाहा र सीजी मोर्टसको हिरो पनि प्रदर्शनीमा रहनेछन् । अटो शोको मुख्य आकर्षणका रूपमा हेरिएको नेपालमै उत्पादन भएको यात्री पी २ मोटसाइकल रहनेछ । सिप्रदी-यात्रीले संयुक्त रूपमा निर्माण गरेको पी २ पहिलोपटक अटो शोमा सार्वजनिक हुन लागेको हो । यसैगरी, त्रिवेणी ग्रुपको रोयल इनफिल्ड, सीजीको हिरोअन्तर्गत दुईपाङ्ग्रे ईभी सवारीसाधन प्रदर्शनीमा रहनेछन् । चिनियाँ ब्राण्ड क्युजे र मेटा ईभीले अटो शोमा पहिलो पटक सहभागिता जनाउने छन् । भारतमा उत्पादित रेभोल्ट र एम्पेयरका विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन अटोशोमा सहभागी हुँदैछन् । यसैगरी, अटो शोमा नयाँ मोटरसाइकल भित्र्याउने तयारीमा रहेको यामाहासँगै भेस्पा अप्रिलिया पनि सहभागी हुँदैछन् । चिनियाँ मोटरसाइकल ब्राण्ड जोनसेन र एमसी अटो ब्राण्डको गर्जनदेखि नेपाली मौलिक ब्राण्ड यात्री नयाँ ईभी बाइकहरू एम्पियर र रिभोल्टसम्मको आकर्षण रहनेछ । यस्तै, अन्य स्टलहरूमा १० वटा वित्तीय तथा बीमा सेवाप्रदायक र अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्ससम्बन्धी करिब ७० वटा स्टल नाडाले जनाएको छ । सवारीसाधन किन्नु धेरैका लागि ठूलो आर्थिक निर्णय हो । यही निर्णयलाई सहज बनाउन मेलामा १ दर्जन बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति रहनेछ । नबिल, एनआईसी एशिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक लगायतका संस्थाहरूले ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदर र आकर्षक कर्जा योजनाहरू (लोन स्किम) सार्वजनिक गर्ने तयारी गरेका छन् । सवारी किन्नेबित्तिकै त्यसको सुरक्षाका लागि शिखर इन्स्योरेन्स लगायतका बीमा कम्पनीहरू पनि स्टलमै उपलब्ध हुनेछन् । यसले गर्दा ग्राहकले एकै थलोमा सवारी छनोट, फाइनान्सिङ र बीमाको सुविधा पाउनेछन् । सवारीसाधनका साथै यस वर्ष टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्टसका दर्जनौं स्टलहरू रहनेछन् । यसले पुराना सवारी धनीहरूलाई पनि आफ्नो साधनको मर्मत र स्तरोन्नतिका लागि नयाँ जानकारी दिनेछ ।
‘यात्री नेपालको भूगोल सुहाउँदो बाइक हो, विश्व बजारमा गुडाउँछौँ’
नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी सिप्रदी ट्रेडिङ र स्वदेशी विद्युतीय सवारी उत्पादक यात्री मोबिलिटीबीच रणनीतिक साझेदारी भएको छ । सिप्रदीले यसमार्फत दुई पाङ्ग्रे विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने र स्वदेशी इन्जिनियरिङलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । सिप्रदीको देशव्यापी सञ्जाल र सर्भिस नेटवर्कसँग यात्रीको प्राविधिक क्षमतालाई जोडेर नेपाली भूगोल सुहाउँदो गुणस्तरीय विद्युतीय सवारी उपलब्ध गराउने लक्ष्य राखिएको हो । सिप्रदीले नेपालमै उत्पादन भएको यो सवारीसाधनलाई नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विशेषगरी सिप्रदी र यात्रीबीचको यो साझेदारीले नेपाली अटो क्षेत्रमा कस्तो परिवर्तन ल्याउला ? यसको बजार विस्तार कसरी अगाडि बढ्ला त ? यिनै विषयमा केन्द्रित रहेर सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठसँग विकासन्युजका लागि नरेन्द्र विष्टले गरेको कुराकानीको सम्पादित अंश: सिप्रदी ट्रेडिङ नेपालको अटोमोबाइल बजारमा एउटा स्थापित नाम हो । अहिले नेपालमा ईभी सवारी साधनको बजार उच्च दरमा विस्तार भइरहेको छ । यस्तो अवस्थामा सिप्रदीले यात्रीसँग साझेदारी गर्नुका मुख्य कारणहरू के-के हुन् ? सिप्रदीले विगत ४४ वर्षदेखि नेपालको भौगोलिक परिस्थिति र आवश्यकतालाई सुहाउँदो सवारीसाधनहरू ल्याएर बिक्री वितरण गरिरहेको छ । हामीसँग कमर्सियल भेहिकलदेखि लिएर प्यासेन्जर कारहरूसम्मको बलियो पोर्टफोलियो छ । तर, एउटा कुरा हामीलाई सधैं खड्किरहेको थियो, त्यो हो दुईपाङ्ग्रे सवारीको उपस्थिति । अटोमोबाइलको यो ठूलो स्पेसमा सिप्रदीको उपस्थिति नहुँदा हामीले धेरै ग्राहकहरूलाई सेवा दिनबाट वञ्चित भइरहेका थियौं । हाम्रो लक्ष्य भनेकै नेपालभरका धेरैभन्दा धेरै ग्राहकलाई गुणस्तरीय सेवा दिनु हो । यात्रीसँगको सहकार्य केवल एउटा व्यापारिक निर्णय मात्र होइन, यो एउटा रणनीतिक कदम हो । नेपालमा दुई पाङ्ग्रे बजारको माग धेरै छ र हामी यो स्पेसमा एउटा बलियो र विश्वासिलो ब्रान्डका साथ प्रवेश गर्न चाहन्थ्यौँ । यात्रीले जुन किसिमको जग बसालेको छ, त्यसले हाम्रो यो इच्छा पूरा गर्ने मार्ग प्रशस्त गरेको छ । यात्री बाइकले सन् २०१७ बाट आफ्नो यात्रा सुरु गरेको थियो । नयाँ र नेपाली उत्पादनसँग सहकार्य गर्दा सिप्रदीले विकास र विस्तारलाई कसरी तीव्रता दिने योजना बनाएको छ ? यात्रीको सबैभन्दा ठूलो पुँजी भनेको नेपालको ट्यालेन्ट हो । हामीलाई के कुरामा गर्व छ भने नेपाली इन्जिनियरहरूले राइट फ्रम द स्क्र्याच (शून्यदेखि) डिजाइन गरेर गाडी बनाउन सक्ने क्षमता राख्छन् । यो जनशक्ति र यो प्रतिभालाई हामीले कसरी प्रवर्द्धन गर्न सक्छौं भन्ने नै हाम्रो मुख्य चिन्ता र चासो हो । यात्रीले बनाएको प्रडक्ट उत्कृष्ट छ । अब हाम्रो काम भनेको दुईजना मिलेर यो नेपाली उत्पादनलाई नेपालको कुनाकाप्चासम्म पुर्याउनु हो । सिप्रदीको विशाल नेटवर्क र यात्रीको प्राविधिक उत्कृष्टताबीचको तालमेलले गर्दा हामीले यो लक्ष्य सहजै हासिल गर्न सक्छौं । यसले नेपाली उद्योगलाई आत्मनिर्भर बनाउन र स्वदेशी उत्पादनप्रति जनताको विश्वास जगाउन ठूलो मद्दत गर्नेछ । हामीले यो साझेदारीमार्फत नेपालको इन्जिनियरिङ क्षमतालाई विश्व बजारमा समेत प्रतिस्पर्धा गर्न योग्य बनाउने सोच राखेका छौं । नेपालमा थुप्रै अन्तर्राष्ट्रिय विद्युतीय दुई पाङ्ग्रे सवारीहरू उपलब्ध छन् । तर, उपभोक्ताहरूको अनुभव त्यति सुखद देखिँदैन । यस्तोमा यात्री नै किन उत्कृष्ट छ भन्ने लाग्छ ? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो । नेपालमा आयातित इलेक्ट्रिक टु-ह्विलरहरूको छवि त्यति राम्रो छैन । किनभने ती गाडीहरू नेपालको भूगोललाई ध्यान राखेर डिजाइन गरिएका होइनन् । बाहिरबाट आउने धेरैजसो गाडीहरूमा पर्फमेन्सको ठूलो समस्या देखियो । विशेष गरी उकालो बाटोमा जाँदा टिकाउपन कम हुने, ब्याट्री छिटो तात्ने र पर्फमेन्स घट्दै जाने समस्याहरू आए । नेपालको भौगोलिक अवस्था भिन्न छ । यहाँ तराईको गर्मी, पहाडको उकालो–ओरालो र हिमाली भेगको चिसो छ । यात्रीको टिमसँग छलफल गर्दा र उनीहरूको प्रडक्ट पी-वान हेर्दा हामीले के पायौं भने यो पूर्णतः नेपालकै लागि डिजाइन गरिएको हो । यहाँको रोड कन्डिसन र ग्राहकको अपेक्षालाई यसले बुझेको छ । हाम्रो देशमा टु-ह्विलर केवल विलासिताको साधन मात्र होइन, यो एक आवश्यकता हो । मानिसहरूले यसमा पिलियन राइडिङ (दुईजना चढ्ने) मात्र गर्दैनन्, ग्यास सिलिन्डर बोक्नेदेखि अन्य व्यापारिक काममा पनि प्रयोग गर्छन् । यात्रीको इन्जिनियरिङ टिमले यी सबै कुरालाई ध्यानमा राखेर गाडी बनाएको छ । उनीहरूले चेसिस नेपालमै बनाउँछन् । बडी पार्ट्सहरू यहाँका भेन्डरहरूबाट तयार गर्छन् । यो कस्टमाइज्ड सोलुसन नै यात्रीको सबैभन्दा सबल पक्ष हो । सिप्रदीको आफ्नै इकोसिस्टम छ । सिप्रदीले यात्रीलाई आफ्नो इकोसिस्टममा कसरी समाहित गर्दैछ ? हामी सधैं भन्छौँ इ-मोबिलिटी भनेको केवल गाडी बेच्नु मात्र होइन । यो त एउटा पूर्ण समाधान हो । यदि तपाईंले संसारकै उत्कृष्ट इलेक्ट्रिक बाइक बनाउनुभयो तर त्यसलाई चार्ज गर्ने ठाउँ छैन वा बिग्रँदा बनाउने मान्छे छैन भने त्यो प्रडक्ट सफल हुँदैन । हामीले टाटाका गाडीहरू ल्याउँदा पनि पहिला इकोसिस्टममै काम गर्यौं । यात्रीको हकमा पनि हामी त्यही गर्दैछौं । पहिलो, चार्जिङ नेटवर्क । हामीले सेन्ट्रल रिजनमा धेरै ठाउँमा चार्जिङ स्टेशनहरू बनाइसकेका छौं । र अब देशैभरि यसलाई विस्तार गर्दैछौं । दोस्रो, सर्भिस र मेन्टेनेन्स । सिप्रदीको उपस्थिति मेचीदेखि महाकालीसम्म छ । हामीले हाम्रा प्राविधिकहरूलाई यात्रीको रिपेयर र ब्याट्री म्यानेजमेन्टबारे तालिम दिन सुरु गरिसकेका छौं । ग्राहकले गाडी किनेपछि अब कहाँ गएर बनाउने ? वा पार्ट्स कहाँ पाइन्छ ? भनेर चिन्ता लिनु पर्दैन । यो पूर्ण इकोसिस्टम तयार भएपछि मात्र हामी मास स्केलमा बजारमा जान्छौं । यसले ग्राहकलाई एउटा ढुक्कको वातावरण सिर्जना गर्छ । यात्रीको टिम र सिप्रदीको टिमले कसरी मिलेर काम गर्छन् ? हाम्रो भूमिका बहुआयामिक हुनेछ । मुख्यतया मार्केटको माग र ग्राहकको आवश्यकतालाई पहिचान गरेर यात्रीको इन्जिनियरिङ टिमलाई फिडब्याक दिने काम सिप्रदीले गर्छ । बजारको नाडी छाम्ने काम हाम्रो हो । त्यसपछि नेपालमै ठूलो स्तरमा उत्पादन गर्ने र यसको बिक्री वितरण गर्ने जिम्मेवारी हाम्रो हो । सिप्रदीको ४४ वर्षको अनुभवलाई हामीले यात्रीको नयाँपनसँग जोडेका छौं । हामी नेपालको ‘सस्टेनेबल मोबिलिटी’ मा पायोनियर हुन चाहन्छौं । प्राइभेट फोर–ह्विलरमा सिप्रदीले जुन खालको क्रान्ति ल्याएको छ । त्यही लेभलको काम अब टु–ह्विलरमा पनि हुनेछ । हामी यो ट्रान्जिसनलाई सिम्लेस बनाउन चाहन्छौं । यात्रीले सिप्रदीसँग हात मिलाएपछि बजारमा कस्तो परिवर्तनको अपेक्षा गर्न सकिन्छ ? विशेषगरी नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा कस्तो प्रभाव पर्ला ? यसले देशको अर्थतन्त्रमा धेरै ठूलो सकारात्मक प्रभाव पार्नेछ । हेर्नुस्, नेपालसँग अहिले विद्युत् उत्पादनको प्रचुर सम्भावना छ । झन्डै ४२००/४३०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ र आगामी केही वर्षमा हामीसँग विद्युत् बढी भएर खेर जाने स्थिति आउँदैछ । अर्कोतर्फ, हामीले अर्बौं रुपैयाँको फोसिल फ्युल (पेट्रोल/डिजेल) आयात गरिरहेका छौं । हाम्रो व्यापार घाटाको सबैभन्दा ठूलो हिस्सा नै इन्धन आयात हो। यदि हामीले टु-ह्विलरमा ५० देखि ७० प्रतिशतसम्म इभी पेनिट्रेसन गराउन सक्यौँ भने यसले विदेशी मुद्राको सञ्चिति बढाउँछ र व्यापार घाटा कम गछ । यसको अर्को पाटो भनेको क्याप्टिभ कन्जम्सन हो । हाम्रै देशमा उत्पादित ऊर्जा हाम्रै सवारी साधनमा प्रयोग हुनु भनेको पैसा देशबाहिर नजानु हो । यात्री र सिप्रदीको यो सहकार्यले नेपाललाई ऊर्जामा आत्मनिर्भर र वातावरणीय रूपमा स्वच्छ बनाउन ठूलो भूमिका खेल्नेछ । यो केवल एउटा बाइक बेच्ने कुरा होइन, यो त राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने एउटा अभियान हो । ट्यालेन्ट रिटेन्सन (प्रतिभा पलायन रोक्ने) को भन्नु भयाे । यसले रोजगारी र औद्योगिक वातावरणमा कसरी सहयोग पुर्याउँछ ? नेपालमा धेरै दक्ष इन्जिनियरहरू छन् । तर अवसर नपाएर उनीहरू विदेश पलायन भइरहेका छन् । यदि हामीले यहीँ डिजाइन र उत्पादनको वातावरण बनाउन सक्यौँ भने उनीहरूलाई रोक्न सकिन्छ । यात्रीमा अहिले नै ६० भन्दा बढी इन्जिनियरहरू अहोरात्र खटिरहेका छन् । रोजगारीको कुरा गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रकारका अवसरहरू सिर्जना गर्छ । जब हामी स्केल-अप गर्छौं, फ्याक्ट्रीमा सयौं मानिसले काम पाउँछन् । त्यसबाहेक ब्याकवार्ड इन्टिग्रेसनमार्फत धेरै सहायक उद्योगहरू फस्टाउँछन् । कसैले च्यासी बनाउला, कसैले टायर, कसैले हेल्मेट त कसैले ब्याट्री प्याकेजिङ । यसले गर्दा देशमा इन्डस्ट्रियलाइजेसनको एउटा लहर आउँछ । हामीले केवल एसेम्बली मात्र गर्न खोजेका होइनौं, हामीले त जगैदेखि उत्पादन गर्न खोजेका हौं । सिप्रदीको ४४ वर्षको ट्रस्ट र यात्रीको टेक्नोलोजी मिल्दा ग्राहकले कस्तो लाभ पाउँछन् ? ग्राहकको लागि सबैभन्दा ठूलो कुरा भनेको ‘पिस अफ माइन्ड’ हो । सिप्रदीले जे बोल्छ, त्यो गर्छ । हामीले विगत ४ दशकदेखि ग्राहकको विश्वास जितेका छौं । यात्री बाइक किन्दा ग्राहकलाई भोलि यो कम्पनी भाग्छ कि वा पार्ट्स पाइएन भने के गर्ने भन्ने डर हुँदैन । किनभने यसको पछाडि सिप्रदीको बलियो साथ छ । यात्रीको अपरेटिङ कस्ट (सञ्चालन खर्च) पेट्रोल बाइकको तुलनामा नगन्य छ । यसको पर्फमेन्स कुनै पनि पेट्रोल बाइकको भन्दा कम छैन, बरु बढी नै छ । हामीले जुन यात्रीको पीटु मोडल ल्याउँदैछौं, त्यो विश्वस्तरको छ । यसमा ब्याट्री लाइफ, मोटर पावर, कनेक्टिभिटी र सुरक्षाका सुविधाहरू बेन्चमार्क हुने गरी राखिएका छन् । हामीले अन्तराष्ट्रिय परीक्षण केन्द्रहरू (जस्तै भारतको र नेपालको यातायात व्यवस्था विभागबाट सबै मापदण्डहरू पूरा गरिसकेका छौं । अहिले यात्री बाइक मुख्यतया काठमाडौंमा मात्र देखिन्छन् । सिप्रदीसँगको साझेदारीपछि देशका अन्य भागमा यसको विस्तार योजना कस्तो छ ? हाम्रो योजना फेज वाइज (चरणबद्ध) छ । धादिङमा हाम्रो फ्याक्ट्री निर्माणको अन्तिम चरणमा छ । उत्पादन सुरु भएपछि पहिलो प्राथमिकता काठमाडौं हुनेछ । किनभने यो सबैभन्दा ठूलो बजार हो । तर हामी काठमाडौंमा मात्र सीमित हुँदैनौं । सिप्रदीको सञ्जाल भएका सबै प्रमुख सहरहरूमा हामी चाँडै पुग्नेछौं । बुटवल, भैरहवा, पोखरा, नेपालगन्ज, इटहरी, बिर्तामोड जस्ता सहरहरूमा हाम्रा ग्राहकहरूले चाँडै यात्री बाइक चलाउन पाउनुहुनेछ । हामी अल-नेपाल सर्भिस र सेल्स नेटवर्क तयार गर्दैछौं । यात्रीलाई निर्यात गर्न कत्तिको सम्भव देख्नुहुन्छ ? यो सम्भव मात्र होइन, हाम्रो दीर्घकालीन लक्ष्य नै यही हो । हामीले प्रडक्ट डिजाइन गर्दा नै अन्तर्राष्ट्रिय मापदण्डहरूलाई ध्यानमा राखेका छौं । नेपालको बजार सानो हुन सक्छ । तर यदि हामीले यहाँको कठिन भूगोलमा सफल हुने बाइक बनायौं भने त्यो संसारका अन्य धेरै देशहरूका लागि उपयुक्त हुन्छ । हामीले धेरै देशहरूको स्ट्यान्डर्ड मिट गर्ने गरी सर्टिफिकेसनको प्रक्रिया अगाडि बढाएका छौं । मेड इन नेपाल लेखिएको बाइक विश्वका सडकमा गुड्नु प्रत्येक नेपालीका लागि गर्वको कुरा हुनेछ र हामी त्यसका लागि दृढ छौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि तपाईंहरूको प्लान र प्रोडक्टको अवलोकन गर्नुभएको थियो । सरकारबाट तपाईंहरूको अपेक्षा के छ ? अर्थमन्त्रीज्यूले आफ्नो व्यस्त समयका बाबजुद हाम्रो कार्यस्थलमा आएर निकै चासोका साथ अवलोकन गर्नुभयो । उहाँले नेपाली इन्जिनियरहरूको काम देखेपछि ओहो यति तगडा काम भइरहेको रहेछ भनेर जुन प्रतिक्रिया दिनुभएको छ, त्यसले हाम्रो हौसला बढाएको छ । उहाँले सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । हाम्रो अपेक्षा भनेको नीतिगत स्थिरता र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने वातावरण हो । यदि सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र आवश्यक पूर्वाधारमा सहयोग गर्ने हो भने हामी नेपाललाई इभी नवप्रवर्तनको केन्द्र बनाउन सक्छौं । नाडा अटो शोमा यात्रीको उपस्थिति रहन्छ ? भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोमा यात्री विशेष आकर्षण रहनेछ । हामी त्यहाँ हाम्रो नयाँ प्रडक्ट सार्वजनिक गर्दैछौं । नेपाली इन्जिनियरिङको कमाल हेर्न चाहने र इ-मोबिलिटीमा रुचि राख्ने सबैका लागि यो एउटा ठूलो अवसर हुनेछ । म सबैलाई त्यहाँ आएर हाम्रो स्वदेशी उत्पादनको अनुभव लिन आग्रह गर्दछ । अन्त्यमा यात्रीको फ्याक्ट्री र आर एण्ड डीको अवस्थाबारे अलिकति प्रस्ट पारिदिनूस् न ? अहिले हाम्रो आर एण्ड डी सेन्टर बूढानीलकण्ठमा छ । जहाँ ६० भन्दा बढी दक्ष इन्जिनियरहरूले अनुसन्धान र डिजाइनको काम गरिरहनुभएको छ । हाम्रो मुख्य फ्याक्ट्री चाहिँ धादिङमा बनिरहेको छ । सुरुमा हामी २५० भन्दा बढी कर्मचारीबाट उत्पादन सुरु गर्नेछौं । माग बढ्दै जाँदा यो संख्या पनि बढ्दै जानेछ । हामी एकदमै उत्साहित छौं ।
नाइमा मोबिलिटी एक्स्पो : सुरुको दिनमै व्यवसायी उत्साहित
काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला सवारीसाधनका सौखिन र आवश्यकता भएका ग्राहकहरूले भरिभराउ छ । नाइमाले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणले छुट्टै रौनक ल्याएको छ । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजिएका छन् । जसलाई अवलोकनकर्ताहरूले सवारी साधनको कुम्भमेलाको संज्ञा दिएका छन् । एक्स्पोको प्रवेशद्वारमै भेटिएका केएमसी कलेजका विद्यार्थी मिसन भट्टराई निकै उत्साहित देखिन्थे । हातमा मोबाइल समात्दै खल्ती एपमार्फत टिकट काटिरहेका उनले ५० प्रतिशत क्यासब्याक पाएकोमा खुसी व्यक्त गरे । ‘हाम्रो लागि यो एउटा ठुलो अवसर हो,’ उनले भने, ‘डिजिटल पेमेन्टबाट सहुलियत पनि पाइने र नयाँ फिचर्सका गाडीहरूका बारेमा बुझ्न पनि पाइने ।’ मिसनजस्तै सयौं विद्यार्थीहरू गाडीका नयाँ प्रविधि, इन्जिनका क्षमता र भित्री बनावट (इन्टेरियर) बुझ्न लाइनमा बसेका देखिन्छन् । उनीहरूका लागि यो मेला केवल प्रदर्शनी मात्र नभएर अटोमोबाइल इन्जिनियरिङ र ट्रेण्ड बुझ्ने एउटा खुल्ला पाठशाला पनि बनेको छ । प्रदर्शनीमा भेटिएका मुकुन्द खड्काका अनुसार अचेल गाडी विलासिता मात्र नभएर मध्यम वर्गीय नेपालीका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ । सानोठिमीबाट आएका मुकुन्द एउटा उपयुक्त गाडीको खोजीमा छन् । उनी भन्छन्, ‘पहिले गाडी सोखका लागि हुन्थ्यो, अहिले काम र सहजताका लागि अनिवार्य भइसकेको छ ।’ पेट्रोलको बढ्दो मूल्यले आजित भएका ग्राहकहरूका लागि यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण बनेको छ । रामकोटबाट आएका रामेश्वर भट्टले प्रदर्शनीको अधिकांश समय ईभी स्टलहरूमा बिताए । ‘पेट्रोल दिनप्रतिदिन महँगो हुँदैछ । त्यसैले अबको विकल्प भनेकै ईभी हो,’ उनले आफ्नो अनुभव सुनाए । विभिन्न ब्राण्डका गाडीहरूलाई एकै ठाउँमा तुलना गर्न पाउनु यो मेलाको सबैभन्दा सबल पक्ष रहेको उनको ठम्याइ छ । स्कुटर खोज्दै महिला ग्राहक महिला अवलोकनकर्ताहरूको रुचि विशेषगरी दुई पाङ्ग्रे सवारीसाधनमा देखियो । सरिता भट्ट नयाँ स्कुटर किन्ने योजनाका साथ एक्स्पो पुगेकी थिइन् । उनले प्रदर्शनीको सजावट र छुट अफरको प्रशंसा गरिन् । यद्यपि, भृकुटीमण्डप भित्रको अत्यधिक गर्मीले गर्दा केही असजिलो महसुस भएको उनले बताइन् । ‘माहोल एकदम एक्साइटिङ छ, तर भित्र अलि गर्मी छ । आउने साथीहरूले पानीको बोतल र फ्यान बोकेर आउनुभयो भने राम्रो हुन्छ,’ उनले भनिन् । अहिलेको डिजिटल युगमा सबै जानकारी इन्टरनेटमा पाइन्छ भन्ने सोच धेरैमा छ । तर, एक्स्पोमा भेटिएकी आज्ञा भण्डारीको विचार फरक छ । ‘कतिपय कम्पनीका वेबसाइटहरू अपडेट हुँदैनन् । अनलाइनमा सबै फिचर्स बुझ्न गाह्रो हुन्छ,’ उनले भनिन् । उनी आफै विद्यार्थी र कर्मचारी भए पनि गाडीको वास्तविक अवस्था बुझ्न मेलामै आउनु उपयुक्त हुने बताउँछिन् । ‘यहाँ आएर गाडी छाम्न पाइन्छ । भित्र बसेर अनुभव गर्न पाइन्छ र प्रत्यक्ष जानकारी लिन पाइन्छ । त्यसैले वर्षमा एक पटक हुने यस्तो मेला छुटाउनु हुँदैन,’ उनले भनिन् । पहिलो दिन यी ब्राण्ड भए लन्च एक्सपोमा नयाँ गाडीहरू पनि लन्च भएका छन् । जसमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले एकैपटक तीन नयाँ मोडलका गाडीहरू बजारमा ल्याएको छ । कम्पनीले एटो १ को फेसलिफ्ट, एटो २ को ४५ किलोवाट आवर ब्याट्री क्षमता भएको बेस भेरियन्ट र एटो ३ को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको हो । मूल्यको हिसाबले बीवाईडी एटो १ फेसलिफ्टको डाइनामिक भेरियन्टको ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, एटो २ को इसेन्सियल भेरियन्ट ४५ लाख १५ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । बीवाईडी एटो ३ को एडभान्स भेरियन्टको मूल्य ६२ लाख १० हजार रुपैयाँ र सुपेरियरको ७८ लाख रुपैयाँ राखिएको छ । अर्कोतर्फ चिनियाँ कम्पनी चेरीले आफ्नो नयाँ क्युब्याक ब्रान्डअन्तर्गत क्यु ३ मोडल नेपाली बजारमा भित्र्याएको छ । आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो नयाँ पुस्ताको इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट क्षमताको ब्याट्री रहेको छ । जसले एकपटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । एक्सपोमा क्यु ३ मोडलको कम्फर्ट भेरियन्टको मूल्य ३० लाख १९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३२ लाख १९ हजार रुपैयाँ राखिएको छ भने यसको सामान्य एमआरपी ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार निर्धारण गरिएको छ । यसैबीच, जापानी अटोमोबाइल ब्रान्ड निसानले पनि मोबिलिटी एक्सपोमा आफ्नो नयाँ पुस्ताको एसयूभी टेकटन सार्वजनिक गरेको छ । नेपालका लागि निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बजारमा ल्याएको ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन ल्याङ्ग्वेज र आधुनिक इन्टेरियरसहितको यो टेकटन एसयूभीको मूल्य ५१ लाख २९ हजार तोकिएको छ । यस्तै, नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुईवटा मोडल लन्च गरेको छ । जसमा हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी लन्च गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा र्याभ फोर हाइब्रिडको २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी फेसलिफ्ट बिक्र सुरू गरेको छ । कम्पनीले पन्च ईभीको ३ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । योसँगै बजेटपछि आएको पन्च ईभीको मूल्य ४ लाखसम्मले घटेको छ । यसअघि पन्च ईभी ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो । यसैगरी हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै उत्पादन गरिएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एक्स्पोले नेपाली अटोमोबाइल बजारको बदलिँदो स्वरूपलाई झल्काएको छ । विशेष गरी मध्यम वर्गीय परिवारको सवारी सपना र इन्धनको विकल्पमा विद्युतीय ऊर्जाप्रतिको आकर्षण यस पटकको मुख्य सार देखिन्छ । एकातिर नयाँ मोडेलका लक्जरियस कारहरूको चमकधमक छ भने अर्कोतिर सर्वसाधारणका लागि उपयुक्त बजेट र सुविधायुक्त स्कुटर तथा बाइकहरूको लर्को । गर्मी र भीडभाडका बाबजुद भृकुटीमण्डपमा देखिएको यो मोबिलिटीको लहरले नेपालीहरूको क्रयशक्ति र नयाँ प्रविधिप्रतिको मोहलाई प्रस्ट पारेको छ । प्रदर्शनी आजसहित ६ दिन चल्ने जनाइएकाे छ । के भन्छ आयोजक ? एक्स्पोका संयोजक गौरव शारडाले यसलाई नेपालको मोबिलिटी क्षेत्रकै महाकुम्भको संज्ञा दिएका छन् । उनका अनुसार यो प्रदर्शनी हालसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पो हो । ६ दिनसम्म चल्ने यस मेलामा ४० भन्दा बढी नयाँ सवारी साधनहरू लन्च हुने क्रम जारी रहेकाे शारडाकाे भनाइ छ । जसमा आजमात्रै २० वटा ब्राण्ड लन्च भएका छन् । प्रदर्शनीमा परम्परागत इन्धन, विद्युतीय साधन र हाइब्रिड प्रविधिका दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा व्यावसायिक सवारी साधनहरू राखिएका छन् । मनसुनको समयलाई ध्यानमा राखेर प्रदर्शनी स्थललाई पूर्ण रूपमा रेन रेजिस्टेन्स (पानी नछिर्ने) बनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि एक्सेसिबल फ्रेन्डली पूर्वाधार र स्वयंसेवकको सहयोगमा ‘गाइडेड भिजिट’ को व्यवस्था गरिएको छ । प्रदर्शनी केवल गाडीको प्रदर्शनीमा मात्र सीमित नभएको शारडाले जानकारी दिए । उनले मेलाको अवधिभर हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म ‘नेपाल मोबिलिटी संवाद’ सञ्चालन हुने बताए । यसमा नीति निर्माता, उद्योगी र विज्ञहरूले सडक सुरक्षा, फाइनान्स र दिगो मोबिलिटीका बारेमा छलफल गर्नेछन् । यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई ग्रान्डी हस्पिटलको प्राविधिक सहयोगमा दुर्घटनापछिको प्राथमिक उपचार र सीपीआरसम्बन्धी तालिमका साथै ईभी दुर्घटना व्यवस्थापन सम्बन्धी विशेष प्रस्तुतिसमेत दिइने उनको भनाइ छ । प्रदर्शनी मंगलबार दिउँसो १ बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । बुधबारदेखि १६ तारिखसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनकर्ताहरूले मेला भ्रमण गर्न सक्नेछन् । पार्किङको सहजताका लागि नेपाल प्रहरीको ब्लु प्याभिलियन मुनिको क्षेत्रलाई थप पार्किङ स्थलका रूपमा व्यवस्थापन गरिएको छ । ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको यस एक्स्पोलाई रेडबुल, एनएमबी बैंक, सिद्धार्थ बैंक लगायतका दर्जनौं व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन् । नाइमाले सबै आम नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई एक्स्पो अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन र यस क्षेत्रको विकासमा सहभागी हुन निम्तो समेत दिएको छ ।
सुस्ताएको अर्थतन्त्रमा नाइमा एक्स्पोले अक्सिजन भर्छ
मंगलबारदेखि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले भृकुटीमण्डपमा दोस्रो संस्करण नाइमा मोबिलिटी एक्स्पोको आयोजना गर्दैछ । जसको तयारी अन्तिम चरणमा पुगेको नाइमाले जनाएको छ । यसपटकको एक्स्पोमा ४० वटा नयाँ ब्राण्डहरू लन्च हुँदैछन् भने पहिलो संस्करणभन्दा व्यवस्थित र सुविधासम्पन्न हुने नाइमाले दाबी गरेको छ । एक्स्पोको तयारी, व्यवस्थापन र अटो व्यवसायीहरूको उत्साहबारे विकासन्युजका नरेन्द्र विष्टले नाइमाकी अध्यक्ष तथा नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्यसँग कुराकानी गरेका छन् । मंगलबारदेखि नाइमा मोबिलिटी एक्स्पो २०२६ को दोस्रो संस्करण सुरु गर्दै हुनुहुन्छ । यसपटकको तयारी र उत्साहलाई कसरी हेर्नुभएको छ ? यतिबेला हामी नाइमा नेपालको तर्फबाट निकै उत्साहित र व्यस्त छौं । नाइमा मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो । गत वर्ष हामीले पहिलोपटक मोबिलिटी एक्स्पोको अवधारणा ल्याएका थियौं । जसलाई उपभोक्ता र व्यवसायी दुवैले निकै रुचाउनुभयो । यो केवल गाडी प्रदर्शनी मात्र होइन, यो त नेपालको अटोमोबाइल क्षेत्रको एउटा उत्सव हो । यसपालिको प्रदर्शनी अघिल्लो वर्षको तुलनामा निकै बृहत् र व्यवस्थित छ । गत वर्ष ४२ वटा ब्रान्ड सहभागी भएका थिए भने यसपटक ५५ वटाभन्दा बढी ब्रान्डहरू एउटै छानामुनि समेटिएका छन् । ४० वटा नयाँ ब्राण्ड लन्च हुँदैछन् । यसले के देखाउँछ भने अर्थतन्त्रमा केही सुस्तता देखिए पनि व्यवसायीहरूमा उत्साह मरेको छैन । हामीले भृकुटीमण्डपलाई एउटा यस्तो साझा थलोका रूपमा विकास गरेका छौं, जहाँ ग्राहकले गाडी मात्र हेर्ने होइन, त्यससँग जोडिएका सबै सुविधाहरू जस्तै बैंकिङ, इन्स्योरेन्स र एसेसरीजहरू एउटै ठाउँमा प्राप्त गर्न सक्नुहुन्छ । एउटा गाडीप्रेमी वा सम्भावित ग्राहकले यसपटकको एक्स्पोमा कस्तो फरक अनुभव पाउनेछन् ? सामान्यतया कुनै ग्राहकलाई गाडी किन्न मन लाग्यो भने उहाँले विभिन्न शोरुमहरू धाउनुपर्ने हुन्छ । काठमाडौंका फरक-फरक कुनामा रहेका शोरुम पुग्न ट्राफिक जाम र समयको हिसाबले निकै कठिन हुन्छ । तर नाइमा एक्स्पोमा आउनुभयो भने तपाईंले ५५ वटा ब्रान्डलाई एकापसमा कम्पेयर अर्थात् तुलना गर्न पाउनुहुन्छ । यसपटक ४० वटाभन्दा बढी नयाँ गाडीहरू सार्वजनिक हुँदैछन् । यसको अर्थ हो, विश्व बजारमा आएका पछिल्ला प्रविधि र डिजाइनहरू नेपाली ग्राहकले प्रत्यक्ष हेर्न र अनुभव गर्न पाउनुहुनेछ । हामीले एक्स्पोलाई केवल व्यावसायिक मात्र बनाएका छैनौं । यसलाई एउटा पारिवारिक गन्तव्यका रूपमा पनि विकास गरेका छौं । त्यहाँ गुणस्तरीय रेष्टुरेन्टहरू छन्, मनोरञ्जनको व्यवस्था छ र सुरक्षाको पूर्ण ग्यारेन्टी छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यसपालि हामीले लर्निङ सेसन्स अर्थात् सिकाइ सत्रलाई निकै प्राथमिकता दिएका छौं । गाडी कसरी चलाउने, ट्राफिक नियम के हुन्, विद्युतीय सवारी (ईभी) को प्रविधि कसरी काम गर्छ भन्ने जस्ता विषयमा विज्ञहरूले जानकारी दिनेछन् । त्यसैले गाडी किन्ने योजना नभएकाहरूले पनि अटोमोबाइलको बदलिँदो संसार बुझ्न एकपटक आउनैपर्छ । नेपाली बजारमा यतिबेला चिनियाँ ब्रान्डहरूको बाढी नै आएको देखिन्छ, विशेषगरी विद्युतीय सवारी (ईभी) मा । यसलाई नाइमाले कसरी विश्लेषण गरिरहेको छ ? नेपालको सन्दर्भमा ईभी निकै सान्दर्भिक छ । हाम्रो देशको मुख्य ऊर्जा स्रोत भनेको हाइड्रोपावर (जलविद्युत) हो । सरकारले पनि ईभीलाई निकै प्रोत्साहन गरिरहेको छ र यो सकारात्मक कुरा हो । चिनियाँ ब्रान्डहरूले विश्वव्यापी रूपमै ईभी प्रविधिमा ठूलो फड्को मारेका छन्। नेपालमा पनि उनीहरूको उपस्थिति बलियो हुनुको मुख्य कारण सरकारको नीति र हाम्रो आफ्नै विद्युत खपत बढाउने आवश्यकता नै हो । विद्युतीय सवारीसाधनले वातावरण संरक्षणमा मात्र होइन, वैदेशिक मुद्रा सञ्चितिमा पनि सहयोग पुर्याउँछ । तर, यसको अर्थ यो होइन कि अन्य इन्धनका गाडीहरू पूर्ण रूपमा विस्थापित हुन्छन् । हाम्रो भौगोलिक अवस्था र पूर्वाधार अनुसार हाइब्रिड र अन्य विकल्पहरू पनि उत्तिकै आवश्यक छन् । नाइमाले सधैं भन्दै आएको छ कि प्रविधि जुनसुकै होस्, त्यो ग्राहकको आवश्यकता र देशको पूर्वाधारसँग सुहाउँदो हुनुपर्छ । ईभीको यो लहरले नेपालको अटो क्षेत्रलाई आधुनिकतातर्फ डोर्याइरहेको छ । व्यवसायीहरूका केही गुनासाहरू पनि सुनिन्छन् । जस्तै, बाटो र पूर्वाधारको अभावले गर्दा गाडीहरू बोर्डरमै अड्किने समस्या । अहिले पनि चिनियाँ बोर्डर (केरुङ/तातोपानी) तिर ठूलो समस्या छ भनिन्छ । यसले एक्स्पोलाई कत्तिको असर पारेको छ ? तपाईंले समसामयिक विषय उठाउनुभयो । अहिले हाम्रो सबैभन्दा ठूलो टाउको दुखाइ नै यही बोर्डरको समस्या हो । वर्षायाम लागेपछि हरेक वर्ष केरुङ र तातोपानीको बाटो भत्किने र पहिरो जाने समस्या दोहोरिन्छ । यसपटक पनि हाम्रा कतिपय प्रदर्शक (एक्जिबिटर्स) हरूका नयाँ गाडीहरू बाटोमै अड्किएका छन् । हामीले यस विषयमा अर्थमन्त्रीज्यू र राष्ट्र बैंकसँग पनि समन्वय गरिरहेका छौं । हामीले विशेष अनुरोध गरेका छौं कि एक्स्पोलाई मध्यनजर गर्दै भन्सार कार्यालयहरू शनिबार र आइतबार पनि खोलिउन् ताकि गाडीहरू समयमै काठमाडौं आइपुग्न सकून् । सरकारबाट सकारात्मक जवाफ त आएको छ । तर हाम्रो पूर्वाधारको अवस्था यस्तो छ कि कहिले बाटो बग्छ, कहिले पहिरो आउँछ । यसले व्यवसायीहरूको अर्बौंको लगानी जोखिममा पार्छ । सरकारले दीर्घकालीन रूपमा यी व्यापारिक नाकाहरूको पूर्वाधारमा लगानी नगरेसम्म यस्ता समस्या आइरहने देखिन्छ । अर्थतन्त्रको सुस्तता र राजनीतिक अस्थिरताका बाबजुद तपाईंहरू प्रदर्शनी गर्दै हुनुहुन्छ । अहिलेको नयाँ सरकार र राष्ट्र बैंकको नीतिबाट अटोमोबाइल व्यवसायीहरू कत्तिको सन्तुष्ट छन् ? राजनीतिमा केही स्थिरता आउनु व्यवसायीहरूका लागि सकारात्मक संकेत हो । अहिलेको सरकारले केही गर्ने उत्साह देखाएको छ । तर, अटोमोबाइल क्षेत्र अझै पनि केही कडा नीतिहरूको मारमा छ । जस्तै, हायर पर्चेज कर्जाको सीमा, जोखिम भार (रिस्क वेटेज) र भन्सार दरका कुराहरू । हामीलाई विश्वास छ कि यो ट्रान्जिसन पिरियड (संक्रमणकाल) सकिएपछि सरकार र राष्ट्र बैंकले अटो क्षेत्रलाई लक्जरीमात्र नभई आवश्यकताको रूपमा बुझ्नेछन् । अटोमोबाइल क्षेत्रले राज्यलाई ठूलो मात्रामा राजस्व योगदान गर्छ । यदि यो क्षेत्र सुस्त भयो भने राज्यको ढुकुटीमा पनि असर पर्छ । एक्स्पोले बजारमा एक प्रकारको चलायमान स्थिति सिर्जना गर्नेछ र यसले सुस्ताएको अर्थतन्त्रलाई केही हदसम्म अक्सिजन दिने काम गर्नेछ भन्ने मेरो अपेक्षा छ । गाडी बिक्री भएपछि स्पेयर पार्ट्स र सर्भिसिङ नपाउने गुनासाहरू धेरै आउँछन् । नाइमाले आफ्ना सदस्यहरूलाई यस विषयमा कसरी जिम्मेवार बनाइरहेको छ ? नाइमाले सधैं आफ्टर सेल्स सर्भिस अर्थात् बिक्रीपछिको सेवालाई प्राथमिकता दिनुपर्छ भन्दै आएको छ । एउटा गाडी बेच्नु भनेको एउटा सम्बन्धको सुरुवात मात्र हो । यदि ग्राहकले समयमा पार्ट्स र सर्भिस पाएनन् भने त्यो ब्रान्ड लामो समय टिक्न सक्दैन । हामीले हाम्रा सदस्य इम्पोर्टर्स (आयातकर्ता) हरूलाई एउटा बलियो इकोसिस्टम बनाउन प्रोत्साहन गरिरहेका छौं । एउटा सन्तुष्ट ग्राहकले १० जना नयाँ ग्राहक ल्याउँछ, तर एउटा असन्तुष्ट ग्राहकले सयौंलाई भड्काउन सक्छ । त्यसैले हामीले डिलर नेटवर्कलाई व्यवस्थित गर्ने र मेकानिक्सहरूलाई तालिम दिने काम गरिरहेका छौं । यसपटकको एक्स्पोमा सहभागी कम्पनीहरूलाई पनि हामीले उनीहरूको सेवा र पार्ट्सको उपलब्धता सुनिश्चित गर्न आग्रह गरेका छौं । ग्राहकहरूले पनि गाडी किन्दा ब्रान्ड मात्र होइन । त्यसको सर्भिस हिस्ट्री र बजारमा उसको उपस्थितिको पनि जाँच गर्नुपर्छ । प्रदर्शनीमा जाने अवलोकनकर्ताका लागि टिकट र अन्य सुविधाहरूमा के-के व्यवस्था गर्नुभएको छ । सुनिन्छ, यसपालि केही डिजिटल सहुलियत पनि छ ? हो, हामीले यसपालि डिजिटल पेमेन्टलाई प्रोत्साहन गरेका छौं । टिकटको मूल्य सामान्यका लागि २०० रुपैयाँ र विद्यार्थीहरूका लागि १०० रुपैयाँ तोकिएको छ । तर, यदि तपाईंले खल्ती एपमार्फत टिकट काट्नुभयो र युनियन पेबाट भुक्तानी गर्नुभयो भने ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । यसले ग्राहकलाई आर्थिक भार कम गर्नेछ र लाइन बस्ने झन्झटबाट पनि मुक्ति दिनेछ । गत वर्ष करिब १ लाख मानिसले एक्स्पो अवलोकन गरेका थिए । यसपालि त्यो संख्या अझ बढ्ने हाम्रो अनुमान छ । किनभने मानिसहरूमा अटोमोबाइलप्रतिको चासो बढ्दो छ र यसपालि धेरै नयाँ ब्रान्डहरू पनि थपिएका छन् । नाइमा केवल गाडी बेच्ने संस्था मात्र होइन, यसले सामाजिक उत्तरदायित्वका कामहरू पनि गरिरहेको छ भनेर तपाईंहरु दाबी गरिरहनुहुन्छ ? यसका बारेमा थप प्रष्ट पारिदिनूस् न । नाइमाले व्यावसायिक हितका साथै समाजका लागि पनि धेरै काम गरिरहेको छ । हामीले नेपाल ट्राफिक पुलिससँग मिलेर करिब १६०० जना ट्राफिक प्रहरीलाई तालिम दिएका छौं । विशेषगरी नयाँ प्रविधिका गाडीहरू ईभी र हाइब्रिड गाडीहरूको मेकानिजम कसरी चल्छ, सडक दुर्घटना हुँदा कसरी उद्धार गर्ने भन्ने प्राविधिक ज्ञान उहाँहरूलाई दिएका छौं । त्यसैगरी हामीले विभिन्न क्याम्पसहरूमा पुगेर विद्यार्थीहरूलाई सुरक्षित ड्राइभिङ र अटोमोबाइल इन्जिनियरिङका बारेमा जानकारी दिने गरेका छौं । सडक सुरक्षा र वातावरण संरक्षण हाम्रा प्राथमिकताका विषय हुन् । प्रदर्शनीस्थलमै पनि हामीले सडक सुरक्षासम्बन्धी सचेतनामूलक कक्षहरू राखेका छौं । तपाईं नाइमाको अध्यक्ष मात्र होइन, नेपालमा टोयोटाजस्तो प्रतिष्ठित ब्रान्डको नेतृत्व पनि गरिरहनुभएको छ । टोयोटाको स्टलमा यसपटक ग्राहकले के-के विशेष कुरा देख्न पाउनेछन् ? टोयोटाको तर्फबाट हामी निकै उत्साहित छौं । यसपालि हामीले टोयोटाका दुईवटा नयाँ मोडलहरू सार्वजनिक गर्दैछौं । ती मोडलहरू कुन हुन् भन्ने कुरा हामीले एक्स्पोमै सार्वजनिक गर्ने योजना बनाएका छौं । त्यसैले अहिलेलाई त्यो एउटा सरप्राइज नै रहोस् । युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा मात्र होइन, अन्य ब्रान्डहरू पनि ल्याएको छ । जस्तै, एथर इलेक्ट्रिक स्कुटर, जसले बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । साथै मोर्बिडेली र बेनेलीजस्ता प्रिमियम मोटरसाइकलहरू पनि हाम्रा स्टलमा हुनेछन् । ग्राहकले टोयोटाको स्टलमा पुगेपछि एउटा पूर्ण अनुभव पाउनुहुनेछ । हामीले विशेष फाइनान्सिङ र इन्स्योरेन्स अफरहरू पनि ल्याएका छौं । के यसपटकको प्रदर्शनीमा टोयोटाको ईभी पनि देख्न पाइन्छ ? टोयोटा सधैं गुणस्तर र सुरक्षामा विश्वास गर्छ । ईभीको सन्दर्भमा टोयोटाले विश्वव्यापी रूपमा ठोस योजनाका साथ काम गरिरहेको छ । नेपालमा यसपटक हामीले ईभी प्रदर्शनीमा राख्न नसके पनि आउँदो वर्षको सुरुवाती महिनाहरूमा टोयोटाको ईभी नेपाली सडकमा देख्न पाइनेछ । हामी हाम्रा ग्राहकलाई यस्तो गाडी दिन चाहन्छौं । जसले उनीहरूको लगानीको पूर्ण सुरक्षा गरोस् । त्यसैले, केही समयको पर्खाइपछि टोयोटाको उत्कृष्ट ईभी नेपाल आउनेछ । नाइमा स्थापना भएयता नेपालको अटोमोबाइल क्षेत्रमा कस्तो गुणात्मक परिवर्तन देख्नुहुन्छ ? नाइमा स्थापना हुँदा नेपालमा गाडी भनेको केवल धनाढ्यहरूको सोखको विषय मात्र थियो । तर आज गाडी एउटा आवश्यकता बनेको छ । नाइमाले व्यवसायीहरूलाई गोलबद्ध मात्र गरेको छैन । सरकारलाई नीति निर्माणमा पनि दबाब र सल्लाह दिने काम गरेको छ । आज हामी यस्तो मोडमा छौं जहाँ प्रविधिले हाम्रो यातायात शैली बदल्दैछ । १० वर्षअघि ईभीको कुरा गर्दा मान्छे हाँस्थे, तर आज हरेक शोरुममा ईभी प्राथमिकतामा छ । प्रविधिको यो हस्तान्तरण नै नाइमा र नेपाली अटो क्षेत्रको ठूलो उपलब्धि हो । अबको हाम्रो ध्यान पूर्वाधार विकास र सडक सुरक्षामा हुनुपर्छ । अन्तमा आम नेपाली उपभोक्ता र गाडी प्रेमीहरूलाई तपाईंको सन्देश के छ ? म सबै नेपाली दाजुभाइ, दिदीबहिनी र विशेषगरी युवा साथीहरूलाई भन्न चाहन्छु, ११ अक्टोबरदेखि १६ अक्टोबरसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा आउनूहोस् । यहाँ तपाईंले केवल गाडी मात्र देख्नुहुने छैन, भविष्यको यातायात कस्तो हुन्छ भन्ने झलक पाउनुहुनेछ । यदि तपाईं गाडी किन्ने योजनामा हुनुहुन्छ भने यो सबैभन्दा उत्तम समय हो । प्रदर्शनीमा कम्पनीहरूले वर्षभरिकै सबैभन्दा राम्रो डिस्काउन्ट र अफरहरू दिएका हुन्छन् । यदि तपाईं गाडी किन्ने अवस्थामा हुनुहुन्न भने पनि आएर गाडीहरूको नयाँ प्रविधि हेर्नूहोस् । लर्निङ सेसनमा सहभागी हुनूहोस् र अटोमोबाइलको संसारलाई नजिकबाट नियाल्नूहोस् । प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ । प्रदर्शनी स्थलको ठ्याक्कै अगाडि रहेको नेपाल पुलिस क्लबको हलमा हुने निःशुल्क लर्निङ सेसनमा पनि सहभागी भइदिनूहोला ।
नाइमा मोबिलिटी एक्स्पो अघिल्लो वर्षभन्दा भव्य हुन्छ
साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करण ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को आयोजना गर्दैछ । अटो व्यवसायी र गाडी प्रेमीहरूले यो एक्स्पोलाई मेला महाकुम्भका रूपमा लिने गरेका छन् । अटोमोबाइल क्षेत्रलाई देशको गतिशीलताको मेरुदण्ड मानिन्छ । गत वर्षदेखि नाइमाले नेपालीमा अटो शो गर्न थालेको हो । नाइमाले पहिलो संस्करणभन्दा दोस्रो संस्करण भव्य, सभ्य र व्यवस्थित हुने दाबी गरेको छ । वास्तवमा यो एक्स्पो अघिल्लो वर्षको तुलनामा कत्तिको भव्य हुनेछ ? ग्राहक र अवलोकनकर्ताले के नयाँ अनुभव गर्न पाउनेछन् ? यिनै विषयमा केन्द्रित रहेर विकासन्युजका नरेन्द्र विष्टले नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालससँग कुराकानी गरेका छन् । नाइमा मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो । पहिलो संस्करणको सफलतापछि यसपालि तपाईंहरूले के-कस्ता नयाँपन थप्नुभएको छ ? अवलोकनकर्ताहरूले यसपालि के फरक पाउनेछन् ? वास्तवमा पहिलो संस्करण देख्नुभएका अवलोकनकर्ताहरूका लागि यो दोस्रो संस्करण निकै बृहत् र परिष्कृत लाग्नेछ । पोहोरको सिकाइलाई हामीले यसपालि कार्यान्वयनमा ल्याएका छौं । पहिलो कुरा त आकारमै वृद्धि भएको छ । अघिल्लो पटक ४७ वटा स्टलहरू थिए भने यसपालि ५२ वटा स्टलहरू छन् । सहभागी ब्रान्डहरूको संख्या ५५ भन्दा बढी पुगेको छ । र सबैभन्दा उत्साहजनक कुरा त ४० वटा नयाँ मोडलका सवारी साधनहरू यसै एक्स्पोमार्फत पहिलोपटक नेपाली बजारमा लन्च गरिँदैछ । हामीले पूर्वाधार र व्यवस्थापनमा पनि निकै सुधार गरेका छौं । पोहोर पार्किङको केही समस्या देखिएको थियो । त्यसलाई सम्बोधन गर्दै यसपालि ६ दिनै नेपाल पुलिस क्लबको ब्लु प्याभिलियन भित्र व्यवस्थित पार्किङको व्यवस्था मिलाएका छौं । साथै लर्निङ सेसनमा मानिसहरूको निकै रुचि देखिएकाले यसपालि ६४५ जना क्षमताको विशाल अडिटोरियम हलमा विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रम राखेका छौं । जहाँ प्रवेश निःशुल्क गरिएको छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको हामीले यसपालिलाई डिसाबिलिटी फ्रेन्ड्ली बनाउन विशेष अपाङ्गता मैत्री डेस्क र भोलुन्टियरहरूको व्यवस्था गरेका छौं । एक्स्पोलाई व्यवस्थित बनाउन धेरै मिहिनेत देखिन्छ । यसपालिको मुख्य आकर्षण वा भनौं केन्द्रबिन्दु चाहिँ केलाई मान्ने ? एक्स्पोको मुख्य आकर्षण भनेकै ५५ वटा अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरू एउटै छानामुनि उपलब्ध हुनु हो । यसमा २६ वटा प्यासेन्जर भेहिकल (कार, जीप), १८ वटा दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर) र ८ वटा कमर्सियल भेहिकल (ट्रक, बस) का ब्रान्डहरू छन् । ग्राहकले एउटै ठाउँमा धेरै विकल्पहरू तुलना गर्न पाउनेछन् । ४० वटा नयाँ मोडल लन्च हुनु आफैमा ठुलो कुरा हो । साथै हाम्रा बैंकिङ र इन्स्योरेन्स पार्टनरहरूले दिने विशेष सुविधाहरू पनि आकर्षणका केन्द्र हुन् । स्टलहरूको व्यवस्थापन र डिजाइनमा केही नयाँपन छ कि पुरानै छन् ? हामीले यी स्टलहरूलाई प्रिमियम स्टलका रूपमा परिभाषित गरेका छौं । यसको निश्चित लम्बाई, चौडाई र उचाईको मापदण्ड तोकिएको छ। यी स्टलहरू निकै ओपन र फ्लेक्सिबल छन् । जसले गर्दा धेरै भीडभाड भएको महसुस हुँदैन र अवलोकनकर्ताले गाडीको वरिपरि घुमेर राम्रोसँग अध्ययन गर्न पाउँछन् । भृकुटीमण्डपको पुरै एरिया हामीले बुक गरेका छौं । जसले गर्दा पानी पर्दा पनि नभिज्ने र सबै स्टलमा सहज पहुँच पुग्ने गरी अपाङ्गतामैत्री प्लेटफर्महरू निर्माण गरिएको छ । तपाईंले ४० वटा नयाँ मोडल लन्च हुने भन्नुभयो । के ती सवारी साधनहरू नेपालमै पहिलोपटक देखिने हुन् ? विशेषगरी दुई पाङ्ग्रेमा कस्ता नयाँ उत्पादनहरू छन् ? ४० वटै मोडलहरू नेपाली बजारका लागि बिल्कुलै नयाँ हुन् । यसमा प्यासेन्जर कारदेखि लिएर कमर्सियल र मोटरसाइकलसम्म छन् । कतिपय मोडलहरू त सरप्राइजका रूपमा राखिएका छन् । जुन एक्स्पोकै दिन सार्वजनिक हुनेछन् । दुई पाङ्ग्रेमा पनि नयाँ ईभी स्कुटर र उच्च क्षमताका बाइकहरू प्रदर्शनमा रहनेछन् । नाइमाले स्थापनाकालदेखि नै अटो क्षेत्रलाई कसरी हेरिरहेको छ ? हाम्रो समाजमा अझै पनि गाडीलाई विलासिताको वस्तु मान्ने सोच छ, यसमा तपाईंको धारणा के छ ? सवारीसाधन अब विलासिता होइन, यो एक अत्यावश्यक आवश्यकता हो । हाम्रो नारा नै मोबिलिटी फर अल हो । देशको गतिशीलता जति बढ्छ, आर्थिक गतिविधि त्यति नै तीव्र हुन्छ । गतिशीलताले रोजगारी सिर्जना गर्छ र देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा टेवा पुर्याउँछ । एक वर्षको दौरानमा हामीले के अनुभव गरेको छौं भने अब मानिसहरूले सवारी साधनलाई जीविकोपार्जनको माध्यम र एउटा एसेटका रूपमा बुझ्न थालेका छन् । यो लायबिलिटी होइन । त्यसैले हामीले पूर्वाधार विकास र सहज बैंकिङ कर्जाका लागि बारम्बार आवाज उठाइरहेका छौं । पछिल्लो समय सडकमा विद्युतीय सवारीसाधन (ईभी) को लहर देखिएको छ । नाइमामा आबद्ध कम्पनीहरूले ईभीको मागलाई कसरी सम्बोधन गरिरहेका छन् ? नाइमामा हाल ३६ वटा प्रमुख आयातकर्ता कम्पनीहरू आबद्ध छन् । नेपालमा आयात हुने प्रमुख ईभी, आईसीई (पेट्रोल/डिजेलबाट चल्ने) र हाइब्रिड सवारी साधनका आयातकर्ताहरू हामीसँग हुनुहुन्छ । अहिले सरकारको नीति ईभीमैत्री भएकाले र भन्सारमा केही सहुलियत प्राप्त भएकाले ईभीको आयात बढेको देखिनु स्वाभाविक हो । नाइमाले सधैं इनेबलिंग इन्भायरोमेन्टको वकालत गर्छ । हाम्रा सदस्य कम्पनीहरूसँग सबै प्रकारका अत्याधुनिक प्रविधियुक्त सवारी साधनहरू उपलब्ध छन् । बजारमा अहिले ईभी र परम्परागत इन्जिन गाडीहरूबीच के-कस्तो प्रतिस्पर्धा छ ? ग्राहकले के रोजिरहेका छन् ? यसलाई प्रतिस्पर्धा भन्दा पनि फ्रीडम अफ चोइसका रूपमा हेर्नुपर्छ । ग्राहकले आफ्नो आवश्यकता र भूगोल अनुसार गाडी रोज्न पाउँछन् । कसैलाई लामो दुरी वा अफ-रोडका लागि पेट्रोल/डिजेल गाडी नै चाहिएला, कसैलाई सहरभित्रका लागि ईभी उपयुक्त होला । नाइमाले सधैं ग्राहकलाई बुझेर मात्र निर्णय लिन आग्रह गर्छ । तुलनात्मक रूपमा अहिले ईभी आयातकर्ताहरूको संख्या र उत्साह बढी देखिए पनि हाइब्रिड र पेट्रोल/डिजेल गाडीहरूको आफ्नै महत्त्व र बजार छ । एक्स्पोमा आउने ग्राहकका लागि छुट र फाइनान्सिङका के-कस्ता सुविधाहरू छन् ? एक्स्पो एउटा महोत्सव हो । यहाँ सहभागी ५५ वटै ब्रान्डले स्पेसल अफर सार्वजनिक गर्नेछन् । फाइनान्सिङका लागि यसपालि हामीसँग तीनवटा बैंकिङ पार्टनरहरू छन् । ग्लोबल आइएमई बैंक (को-स्पोन्सर), सिद्धार्थ बैंक र एनएमबी बैंक । गत वर्ष एउटा बैंक मात्र थियो । आवश्यकता महसु्स गरी यसपटक हामीले दुईवटा बैंक थपेका हौं । मानिसहरूले डाउन पेमेन्ट गरेर किस्ताबन्दीमा गाडी किन्न चाहने हुनाले बैंकहरूले त्यहीं तत्कालै परामर्श र प्रक्रिया अगाडि बढाउनेछन् । साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स पार्टनरका रूपमा रहेकाले बीमाको काम पनि त्यहीं हुनेछ । अर्को विशेष अफर युनियन पेमार्फत टिकट काट्दा ५० प्रतिशत क्यासब्याक पाइनेछ । पठाओले एक्स्पो आउन र जानका लागि विशेष डिस्काउन्टेड राइड दिने व्यवस्था गरेका छाैं । धेरै मानिसहरू गाडी किन्न एक्स्पो नै कुर्नुहुन्छ । उनीहरूले शोरुममा भन्दा एक्स्पोमा गाडी किन्दा के फाइदा पाउँछन् ? सबैभन्दा ठुलो फाइदा भनेको समयको बचत र तुलना हो । एउटै ठाउँमा दुई घण्टा समय दिँदा तपाईंले बजारका सबै विकल्पहरू देख्न पाउनुहुन्छ । शोरुम-शोरुम धाउनु पर्दैन । अर्को कुरा एक्स्पोमा कम्पनीहरूले दिने अफरहरू शोरुमको भन्दा अझ आकर्षक र तत्काल निर्णय लिन सहयोग गर्ने खालका हुन्छन् । त्यहाँ विज्ञहरूको टिम हुन्छ । जसले तपाईंको आवश्यकता बुझेर सही सल्लाह दिन्छ । नाइमाले अटो व्यवसायीहरूका चुनौतीहरूका बारेमा पनि कुरा उठाइरहेको छ । अहिलेको मुख्य चुनौती के हो ? हाम्रो प्रमुख माग भनेको स्थिर नीति हो । अटो व्यवसायमा ठुलो पुँजी लगानी हुन्छ । यो वर्ष एउटा नीति अर्को वर्ष अर्कै नीति हुँदा लगानी जोखिममा पर्छ । कम्तीमा ५ देखि १० वर्षका लागि पूर्वानुमान योग्य नीति हुनुपर्छ । हामीले यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेका छौं । अर्को मुद्दा लोन टु भ्यालु रेसियो हो । अहिले ८० प्रतिशतसम्म लोन हुनुपर्छ भन्ने हाम्रो माग छ । मध्यम र न्यून आय भएका मानिसहरूले थोरै डाउन पेमेन्टमा गाडी लिएर त्यसलाई आम्दानीको स्रोत बनाउन सकून् भन्ने हाम्रो चाहना हो । बैंकहरूमा तरलता हुँदाहुँदै पनि कसिलो नीतिका कारण बजार चलायमान हुन सकेको छैन । हामीले सरकारलाई १४ बुँदे मागपत्र पनि बुझाएका छौं । बैंक कर्जा लिने ग्राहकहरूको क्षमता र बजारको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? नेपालमा गाडी किनेर त्यसैबाट कमाएर किस्ता तिर्ने एउटा ठुलो जमात छ । त्यसैले गाडी अब एउटा एसेट हो । यद्यपि हाम्रो प्रतिव्यक्ति आय अझै कम भएकाले गाडी किन्ने पहुँच सबैमा नहुन सक्छ । तर नाइमाका सदस्यहरूले सस्तो ह्याचब्याकदेखि महँगो लक्जरी गाडीसम्मका विकल्पहरू दिएकाले ग्राहकको इच्छाअनुसार गाडी छान्न सक्ने अवस्था छ । अहिलेको उपभोक्ताहरू निकै सचेत छन् । नाइमा एक्स्पो सकिनेबित्तिकै नाडाको पनि अटो शो हुँदैछ । के यो दुई संस्थाबीचको टकराव हो कि स्वस्थ प्रतिस्पर्धा ? यसलाई टकरावका रूपमा हेर्नु हुँदैन । हामी एक-अर्काका परिपूरक हौं । नाडाको २८०० भन्दा बढी सदस्य भएको लामो इतिहास छ । नाइमा चाहिँ आयातकर्ता र उत्पादकहरूको विशिष्टीकृत संस्था हो । भृकुटीमण्डपको सीमित क्षेत्रफलका कारण हामीले हाम्रै कतिपय सदस्यहरूलाई पनि स्टल दिन सकेनौं । त्यसैले उद्योगको मागअनुसार हामीले भविष्यमा कमर्सियल भेहिकल वा अन्यका लागि छुट्टै एक्स्पो गर्ने सोच पनि राखेका छौं । एउटै संस्थाले मात्रै यो सबै क्षेत्रको माग धान्न सक्ने अवस्था छैन । त्यसैले यो उद्योगकै हितमा छ । नाडा शो र नाइमा एक्स्पोमा के फरक छ ? नाइमाले आफूलाई कसरी युनिक बनाएको छ ? नाइमा एक्स्पोको मुख्य विशेषता भनेको यो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको मात्रै शुद्ध प्रदर्शनी हो । यहाँ पार्टपुर्जा वा अन्य सहायक सामग्री भन्दा पनि मुख्य सवारी साधनमै केन्द्रित छ । लर्निङ सेसनलाई निकै महत्त्व दिएका छौं । जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय एक्सपर्टहरू आउनुहुन्छ । हामीले यसलाई नेपालकै सबैभन्दा व्यवस्थित र बृहत् अटो एक्स्पोका रूपमा प्रमाणित गर्न खोजेका छौं । यसपालिको एक्स्पोमा कति अवलोकनकर्ता आउने र कति कारोबार हुने अपेक्षा छ ? हामीले करिब डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेका छौं । हामी व्यापारको प्रत्यक्ष ट्र्याक त राख्दैनौं, तर पोहोरको भन्दा बढी बुकिङ हुने र कारोबार हुनेमा हामी विश्वस्त छौं । पोहोर बुकिङ गर्ने ग्राहकहरू क्वालिटी कस्टमर थिए र ती बुकिङहरू वास्तविक व्यापारमा परिणत भए । यसपालि पनि ग्राहकको गुणस्तर र संख्या दुवै बढ्ने अपेक्षा गरेका छाैं । यो एक्स्पोपछि नेपालको अटो बजार कुन दिशामा जाला ? ग्राहकलाई के भन्न चाहनुहुन्छ ? एक्स्पोपछि कुन ब्रान्ड र मोडलमा ग्राहकको बढी रुचि छ भन्ने कुरा सडकमा देखिन थाल्नेछ । यो एक्स्पो व्यापार मात्र होइन, एउटा कम्प्रिहेन्सिभ लर्निङ स्थल हो । ग्राहकले मैले बुझेर, जानेर र सोधेर गाडी किनेँ भन्ने अनुभूति गराउनु नै हाम्रो सफलता हो । म सबैलाई भृकुटीमण्डप आउन र अटोमोबाइलको नयाँ प्रविधिसँग साक्षात्कार गर्न आह्वान गर्दछु ।
फेरि ग्यासको अभाव
काठमाडौं । कीर्तिपुरकी सरिता जोशीको दैनिकी अचेल ग्यास डिपोहरू चहार्दैमा बित्छ । बिहान सबेरै उठेर रित्तो सिलिन्डर डोर्याउँदै नजिकैको पसल पुग्छिन्, तर उत्तर सधैं एउटै हुन्छ, ‘ग्यास आएको छैन ।’ ५ दिन भइसक्यो, उनको भान्सामा चुलो बलेको छैन । ‘एउटा ग्यासका लागि दिनभरि पसल-पसल धाउनुपर्छ,’ सरिता भन्छिन्, ‘लामो समय पालो कुर्दा पनि ग्यास पाइँदैन । भान्सा नै ठप्प हुने अवस्था आयो, हाम्रो दुःख कसले बुझ्ने ?’ यो सास्ती सरिताको मात्र होइन, काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरका हजारौं उपभोक्ताको साझा पीडा हो । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को चरम अभाव देखिएको छ । तर, अचम्मको कुरा के छ भने, सरकार र ग्यास उद्योगीहरू भनिरहेका छन् ग्यासको आयातमा कुनै कमी छैन । अभाव कि त्रास ? नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवहरी घिमिरेका अनुसार नेपालमा ग्यासको आपूर्ति सामान्य छ । मासिक ४५ देखि ५० हजार मेट्रिक टन ग्यास नियमित आइरहेको छ । घिमिरेले बजारमा ग्यासको अभाव हुनुमा ग्यासको आपूर्ति कम नभई उपभोक्ताले अनावश्यक रूपमा सिलिन्डर होल्ड गर्नु मुख्य कारण रहेको बताए । नेपालमा ग्यासको आयात र आपूर्ति सामान्य अवस्थाकै जस्तो रहेको अध्यक्ष घिमिरेको भनाइ छ । मुलुकलाई मासिक रूपमा आवश्यक पर्ने ४५ देखि ५० हजार मेट्रिक टन ग्यास नियमित रूपमा भित्रिरहेको उनले जानकारी दिए । बजारमा ग्यास नपाइने हो कि भन्ने त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेको घिमिरेको भनाइ छ । ‘जसलाई महिनामा एउटा सिलिन्डर भए पुग्छ, उहाँहरूसँग ५ वटासम्म सिलिन्डर हुनु र सबै भरेर राख्न खोज्नुले बजारमा माग अस्वाभाविक रूपमा बढेको हो,’ उनले भने, ‘एउटै उपभोक्ताले ५ महिनाको स्टक एकैपटक राख्न खोज्दा आपूर्ति व्यवस्थामा चाप परेको छ । ’ आपूर्तिमा केही समस्या देखिएको स्वीकार गर्दै घिमिरेले भारतको पश्चिम बंगालमा रहेका दुईवटा रिफाइनरीमा भइरहेको मर्मत सम्भार (मेन्टेनेन्स) का कारण आयातमा सामान्य प्रभाव परेको बताए । यद्यपि, यो समस्या छोटो समयका लागि मात्र भएको र छिट्टै समाधान हुने उनले विश्वास दिलाए । विपन्न र थोरै सिलिन्डर हुनेलाई मर्का अनावश्यक सञ्चय गर्ने प्रवृत्तिका कारण वास्तविक अभावमा रहेका उपभोक्ता, विशेषगरी जसको घरमा एउटा मात्र सिलिन्डर छ र त्यो सकिएपछि तुरुन्तै भर्नुपर्ने बाध्यता छ, उनीहरू बढी मारमा परेको घिमिरेले बताए । उनले भने, ‘जसको एउटा मात्र सिलिन्डर छ र चुलो निभ्न लागेको छ, उहाँहरूलाई अहिले गाह्रो भएको छ । सञ्चय गर्नेहरूका कारण वास्तविक अभाव सिर्जना भएको हो । ’ बजारमा देखिएको यो अवस्थामा सरकार, ग्यास उद्योगी वा बिक्रेताको कुनै दोष नरहेको अध्यक्ष घिमिरेले प्रस्ट पारे । उनले भने, ‘आयात कम भएको भए सरकारको दोष हुन्थ्यो, लुकाएको भए उद्योगी वा बिक्रेता दोषी हुन्थे । तर, यहाँ आयात सामान्य छ, वितरण पनि भइरहेको छ । निगम र व्यवसायीबीच आरोप-प्रत्यारोप ग्यासको अभावलाई लिएर नेपाल आयल निगम र ग्यास व्यवसायीहरूले भने एक-अर्कालाई दोषारोपण गरिरहेका छन् । नेपाल ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार अहिलेको अभाव हुनुमा आयल निगम र ग्यास उद्योगीहरूको मुख्य भूमिका छ । उनी भन्छन्, ‘ग्यास कम्पनीहरूले भ्याट क्रेडिटका लागि मात्रै बजारमा झन्डै ६० लाख अतिरिक्त सिलिन्डर बेचेका छन् । आयल निगमले यसलाई नियमन गर्न नसक्दा अहिलेको समस्या आएको हो । ’ अर्यालले बजारमा ग्यासको मागभन्दा बढी सिलिन्डर भएकाले उपभोक्ताले एउटाको ठाउँमा तीनवटा सिलिन्डर भर्न खोज्दा माग तेब्बर देखिएको दाबी गरे। सरकारले उपभोक्ताको समस्या नसुनेको भन्दै उनले थपे, ‘सरकार कानमा तेल हालेर बसेको छ । जबसम्म सिलिन्डरको धरौटी रकमको सरकारी ग्यारेन्टी हुन्न, तबसम्म यो लफडा चलिरहन्छ । ’ व्यवसायीका अनुसार ४ महिनाअघि नै फुल सिलिन्डर वितरण गरेको भए यस्तो अभाव हुने थिएन । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर भने आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्छन् । बजारमा ग्यासको अभाव देखिनुमा उपभोक्ताको प्रतीक्षा र एकाएक बढेको मागलाई उनी मुख्य कारण मान्छन् । ठाकुर भन्छन्, ‘बीचमा ७.१ केजी (आधा) ग्यास वितरण हुँदा उपभोक्ताहरू १४.२ केजी (पूरा) ग्यास आउला भनेर कुरेर बसे । असार १ गतेदेखि पूरा सिलिन्डर दिने निर्णय भएपछि एकाएक माग बढ्यो, जसले गर्दा बजारमा सिलिन्डर रोटेसनमा दबाब देखियो । ’ निगमका अनुसार अहिले भारतबाट दैनिक करिब ११० बुलेट ग्यास आइरहेको छ, जबकि सामान्य अवस्थामा ९० देखि ९५ बुलेटले पुग्ने गर्छ । बजारको माग धान्न अहिले दैनिक १०० बुलेटभन्दा बढी लोडिङ भइरहेको निगमले जनाएको छ । निगमका प्रवक्ता ठाकुरका अनुसार नेपालभर दैनिक करिब १ लाख सिलिन्डर ग्यास खपत हुन्छ, जसको ५० देखि ५५ प्रतिशत हिस्सा काठमाडौं उपत्यकाले मात्र ओगट्छ । आपूर्ति नियमित भइरहेकाले अबको एक देखि दुई हप्ताभित्र बजार पूर्ण रूपमा सहज हुने निगमको दाबी छ । यद्यपि, व्यवसायीहरू भने सरकारले तत्काल ठोस कदम नचाले यो समस्या आगामी ६ महिनासम्म लम्बिन सक्ने चेतावनी दिन्छन् । अभावका बीच कतिपय ठाउँमा कालोबजारी भएको गुनासो आए पनि व्यवसायीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन् । उपभोक्ताले भने आधा ग्यास १० दिन पनि नटिकने गरेको गुनासो गरेका छन् । निगमले सिलिन्डर लिँदा तौल जोखेर मात्रै लिन र केही त्रुटि देखिएमा गुनासो गर्न आग्रह गरेको छ । आयल निगम र व्यवसायीबीचको यो खिचातानीका बीच सर्वसाधारण भने रित्तो सिलिन्डर लिएर घण्टौं लाइनमा बस्न रित्तो हात घर फर्किन बाध्य छन् । समाधान कहिले ? आयल निगमले अबको एक देखि दुई साताभित्र बजार पूर्ण रूपमा सहज हुने दाबी गरेको छ । तर, व्यवसायीहरू भने सरकारले ठोस कदम नचाले यो समस्या ६ महिनासम्म लम्बिन सक्ने चेतावनी दिइरहेका छन् । बजारमा कतिपय ठाउँमा कालोबजारी भएको र आधा ग्यास १० दिन पनि नटिक्ने गरेको गुनासो उपभोक्ताको छ । यस्तो अवस्थामा निगमले तौल जोखेर मात्र सिलिन्डर लिन आग्रह गरेको छ ।