सामाजिक सुरक्षा र सञ्चयकोषमा आबद्ध हुने सेवाग्राहीलाई विशेष छुट

काठमाडौँ । किस्ट शिक्षण अस्पताल काठमाडौँले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष (पिएफ) मा आबद्ध सेवाग्राहीलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।  

सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा तथा भर्ना भएका बिरामी (ओइपिडी) लाई उपचार गराउँदा लागेको खर्चको ८० प्रतिशत कोषले व्यहोर्ने र सेवाग्राहीले २० प्रतिशत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको अस्पतालले स्पष्ट गरेको छ ।

त्यसैगरी, कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजना कार्यक्रमअन्तर्गत सो अस्पतालमा भर्ना भई उपचार गराउँदा सामान्य रोगका लागि वार्षिक रु एक लाख र घातक रोगका हकमा सेवा अवधिभर रु १० लाखसम्म उपचार खर्च परिपूर्ति हुने व्यवस्था गरेको पनि अस्पताल  जनाएको छ ।

सो अस्पतालका अध्यक्ष अभिषेक थापाका अनुसार आन्तरिक चिकित्सा, शल्यचिकित्सा, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, मिर्गौला रोग, आँखा रोगलगायत विभिन्न विशेषज्ञ सेवाको उपचारमा सो छुट पाइने छ ।

कोषले उपलब्ध गराएको परिचयपत्रसहित अस्पतालमा रहेको सम्बन्धित सहायता कक्षमा सम्पर्क गरी सेवाग्राहीले सहज रुपमा विशेष छुट लिनसक्ने सो अस्पतालले जनाएको छ ।   
 

Share News