काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाख रुपैयाँभन्दा बढीको आर्थिक हानि-नोक्सानी पुर्याई गैरकानुनी लाभ लिएको अभियोगमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जना उच्च अधिकारी तथा कर्मचारीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।
पूर्व-नियोजित योजना र मिलेमतोमा सङ्गठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ हानि-नोक्सानी पुर्याएको प्रारम्भिक छानबिनबाट पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिई मिति २०८३ कात्तिक १३ गते देशका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को ‘आपराधिक विश्वासघात गर्न नहुने कसूर’ तथा ‘सङ्गठित अपराध निवारण ऐन, २०७०’ अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही बलरा-३ घर भई काठमाडौं लैनचौरस्थित संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख (तत्कालीन महाप्रबन्धक) ४५ वर्षीय संजिव झा रहेका छन् ।
उनलाई काठमाडौंको लैनचौरबाट नियन्त्रणमा लिइएको हो। त्यसैगरी, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत ४६ वर्षीय बिजय कुमार यादव (बालाजु, काठमाडौंबाट) र तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज तथा हाल केन्द्रीय कार्यालय लैनचौरमा जेटीएका रूपमा कार्यरत ५५ वर्षीय मनहरी शर्मा (पोखरा, कास्कीबाट) पक्राउ परेका छन् ।
यसैगरी, तत्कालीन चनौलि चिस्यान केन्द्र इन्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजना सङ्कलन केन्द्रमा जेटीएका रूपमा कार्यरत ४९ वर्षीय रामकेवल रायलाई सर्लाहीको मोहनपुरबाट, बागमती धुलो दूध कारखाना हेटौंडाका भरपाई पदका कर्मचारी २८ वर्षीय जितेन्द्र कुमार यादवलाई चितवनको भरतपुरबाट र नवलपुर/गरुडा चिस्यान केन्द्रका इन्चार्ज (डेरी ब्वाई पद) ३२ वर्षीय नविन राय यादवलाई सर्लाहीको लालबन्दीबाट नियन्त्रणमा लिइएको छ ।
अन्य पक्राउ पर्नेहरूमा माडी चिस्यान केन्द्र चितवनमा कार्यरत दैनिक पारिश्रमिक पदका कर्मचारी ४६ वर्षीय शिव नन्दन राय र सोही चिस्यान केन्द्रका इन्चार्ज (जेटीए) ४८ वर्षीय विख बहादुर भण्डारी रहेका छन् ।
उनीहरू दुवै जनालाई चितवनको माडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । संस्थानलाई गंभीर हानि-नोक्सानी पुर्याउने गरी भएको यस ठगी तथा सङ्गठित अपराधसम्बन्धी घटनामा पक्राउ परेका सबैमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।