काठमाडौं । नेपाल प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको, खोजी गरेको र त्रसित बनाएको घटनाप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको छ ।
समाचार संकलन, सम्पादन र प्रकाशनको संवेदनशील कार्य भइरहेको अवस्थामा सादा पोशाकका प्रहरी सञ्चारगृहमै पुगेर धरपकड गर्नु प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको स्थापित मान्यताविपरीत भएको संघका सचिव सन्तोष रोकायाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समाचारको विषयलाई लिएर अनुसन्धान गर्नुपरे कानुनी प्रक्रिया र स्थापित विधि अवलम्बन गरिनुपर्नेमा सञ्चारगृहमा प्रवेश गरेर भयभीत बनाउने शैली कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने संघको स्पष्ट पार्दै भनाइ छ ।
विज्ञप्तिमा समाचारको स्रोत खुलाउन दबाब दिने, धम्की दिने वा स्रोतको गोपनीयता भङ्ग गर्न बाध्य पार्ने कार्य पत्रकारिताको आधारभूत मूल्य र मान्यताविरुद्ध भएको औंल्याइएको छ ।
समाचारको स्रोतको गोपनीयता पत्रकारको व्यक्तिगत सुविधा मात्र नभई स्वतन्त्र पत्रकारिता र नागरिकको सूचनाको हकसँग जोडिएको महत्त्वपूर्ण विषय भएकाले स्रोतको सुरक्षा सुनिश्चित नभए खोजमूलक पत्रकारिता र सत्तालाई जवाफदेही बनाउने अभ्यास नै कमजोर हुने संघले चेतावनी दिएको छ ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै संघले प्रकाशित समाचारप्रति कसैको असहमति वा गुनासो भए त्यसको निरूपणका लागि प्रेस काउन्सिल नेपालमा उजुरी दिने जस्ता कानुनसम्मत प्रक्रियाहरू विद्यमान रहेको बताएको छ ।
तर, ती प्रक्रियालाई छलेर प्रहरी प्रयोग गर्ने, समाचार कक्षमै नियन्त्रणमा लिने र सञ्चारमाध्यमको नियमित काममा अवरोध पुर्याउने कदमले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख छ ।
पत्रकारिताका नाममा हुने गैरजिम्मेवार गतिविधिप्रति असहमति राख्दै आएको स्पष्ट पार्दै संघले समाचारमा चित्त नबुझ्ने वा राज्य पक्षले विद्यमान कानुन अनुसार नै व्यवहार गर्नुपर्नेमा जोड दिएको छ ।
व्यावसायिक पत्रकारिता गरिरहेका पत्रकार र सञ्चारमाध्यममाथि समाचारको स्रोत खोज्ने वा विमति राख्ने बहानामा राज्यको तर्फबाट हुने फौजदारी प्रकृतिको व्यवहार कदापि सह्य नहुने विज्ञप्तिमा भनिएको छ ।
सञ्चारमाध्यमको संवैधानिक अधिकार, प्रेस स्वतन्त्रता, समाचार स्रोतको गोपनीयता र कानुनी प्रक्रियाको पूर्ण सम्मान हुनुपर्ने मान्यता दोहोर्याउँदै अनलाइन पत्रकार संघले पत्रकारमाथि हुने जुनसुकै प्रकारको गैरकानुनी धरपकड, धम्की र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।