काठमाडौं । प्रहरी नियन्त्रणमा परेका सम्पूर्ण पत्रकारहरू रिहा भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पक्राउ परेका सबै पत्रकारहरू रिहा भइसकेको जानकारी दिएका हुन् ।
मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।
यसअघि शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरी टोलीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो ।
यसैगरी, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए ।
मैनालीलाई नलगी नजाने भन्दै प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमै बसेको थियो ।
पछि साँझपख प्रहरी टोलीले पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई भोलिपल्ट साइबर ब्युरोमा हाजिर हुन उर्दी दिँदै कार्यालयबाट निस्किएको थियो ।