ट्रम्पको एक फोनले एनभीडीया फर्किए जेन्सन हुआङ

अमेरिकी राष्ट्रिय सुरक्षा कानुन उल्लंघन नगरेको ट्रम्पको प्रतिबद्धता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक फोन कलले जेन्सेन हुआङलाई एनभीडीयाको पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फर्काएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ ।

ट्रम्पले राष्ट्रिय सुरक्षा कानुन उल्लंघन नगरेको सुनिश्चितता दिएपछि एनभीडीयाको सञ्चालक समितिले हुआङलाई सीईओमा फर्काउने निर्णय गरेको हो ।

सीएनबीसीका अनुसार एनभीडीयाको सञ्चालक समितिको निर्णयमा ट्रम्पको व्यक्तिगत आश्वासन निर्णायक बनेको हो । 

स्रोतका अनुसार ट्रम्पले आइतबार हुआङले अमेरिकी राष्ट्रिय सुरक्षा कानुन उल्लंघन नगरेको प्रतिबद्धता जनाएका थिए ।

हुआङको पुनरागमनका लागि अन्य कारणले पनि वातावरण तयार पारेका थिए । राजीनामापछि कम्पनीको सेयर मूल्यमा आएको तीव्र गिरावट र अन्तरिम सीईओ कोलेट क्रेसको नेतृत्वमाथि उठेका प्रश्नले पनि सञ्चालक समितिलाई निर्णय लिन दबाब दिएको थियो ।

‘मैले उनीहरूलाई मनाएँ,’ एनभीडीयाले हुआङलाई सीईओमा फर्काउने घोषणा गरेलगत्तै सोमबार बिहान सीएनबीसीसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भने ।

‘मैले सम्झौता गराएँ,’ उनले भने, ‘डेढ साताअघि भन्दा हिजो उनीहरूलाई मनाउन धेरै सजिलो भयो ।’

ट्रम्पका अनुसार हुआङले राष्ट्रिय सुरक्षामा खतरा नर्पुयाउने सुनिश्चितता सञ्चालक समितिले खोजेको थियो । दुई साताभन्दा कम समयअघि राजीनामा दिएका हुआङबारे समितिले यस्तो आश्वासन मागेको थियो ।

‘हामीले आफूलाई थाहा भएका सबै कुराका आधारमा उनी सुरक्षित रहेको आश्वासन दियौं । हामीलाई उनी ठीक छन् भन्ने विश्वास छ । उनी पूर्ण रूपमा ठीक छन्,’ ट्रम्पले भने ।

null

सञ्चालक समितिको निर्णयबारे जानकार स्रोतका अनुसार ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले शुक्रबार राति नै समितिका सदस्यहरूसँग सम्पर्क गरेका थिए । उनीहरूले हुआङले अमेरिकी राष्ट्रिय सुरक्षा कानुन उल्लंघन नगरेको जानकारी गराएका थिए ।

ह्वाइट हाउसबाट यस्तो सन्देश आएपछि सञ्चालक समितिले हुआङसँग सम्पर्क गरेको थियो । त्यसपछि हुआङ शनिबार र आइतबार भएका बैठकमा सहभागी भएर सीईओमा फर्किने सम्भावनाबारे छलफल गरेका थिए ।

राजीनामापछि सेयर मूल्यमा गिरावट

एनभीडीयाका संस्थापक हुआङले नोभेम्बर १२ मा राजीनामा दिएका थिए । एनभीडीयाकै एक कर्मचारीसँग उनको प्रेमसम्बन्ध रहेको र सिंगापुरस्थित कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग पनि सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि उनले पद छाडेका थिए । 

एलिसमाथि चीनका लागि जासुसी गरेको आशंका गरिएको थियो । हुआङले राजीनामा दिएको केही समयमै एनभीडीयाकै अर्की कर्मचारीसँग पनि उनको सम्बन्ध रहेको अर्को समाचार सार्वजनिक भएको थियो ।

हुआङको राजीनामापछि कम्पनीको सञ्चालक समितिले स्थायी सीईओको खोजी गर्ने भन्दै प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरेको थियो ।

तर क्रेसले जिम्मेवारी सम्हालेको केही दिनमै कम्पनीका केही कर्मचारी र लगानीकर्ताले उनको नेतृत्वमाथि प्रश्न उठाउन थाले । उनीहरूमध्ये धेरैले हुआङलाई नै पुनः सीईओ बनाउनुपर्ने माग गरेका थिए ।

बुधबार कम्पनीका सबै कर्मचारी सहभागी बैठकमा क्रेसको प्रस्तुति र त्यसको अघिल्लो दिन विश्लेषकहरूसँग भएको आम्दानीसम्बन्धी छलफलमा उनको प्रदर्शन केही लगानीकर्ताले अपेक्षाअनुरूप नभएको र प्रभावहीन रहेको टिप्पणी गरेका थिए ।

यता, पछिल्लो एक सातामा कम्पनीको सेयर मूल्य २५ प्रतिशतभन्दा बढीले घटेपछि सञ्चालक समिति थप दबाबमा परेको थियो । हुआङ भने एनभीडीयामा उनको पुनरागमन चाहने प्रमुख प्रविधि कम्पनीका सीईओहरूसँग निरन्तर सम्पर्कमा थिए ।

हुआङनिकट स्रोतका अनुसार राजीनामा पछिका दिनमा उनले ओपनएआईका सीईओ साम अल्टम्यान, अध्यक्ष ग्रेग ब्रोकम्यान र स्पेसएक्स तथा टेस्लाका सीईओ एलन मस्कसँग कुराकानी गरेका थिए ।

स्रोतका अनुसार हुआङ आफ्नो पदमा फर्किन चाहन्थे, तर त्यसका लागि बाटो कसरी खुल्छ भन्नेमा उनी स्वयं पनि निश्चित थिएनन् ।

नोभेम्बर १७ मा राजीनामा दिएको एक साताभन्दा कम समयमै हुआङले सार्वजनिक वक्तव्य जारी गर्दै सीईओमा फर्किन आफू तयार रहेको बताएका थिए ।

‘एनभिडियाका कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकबाट मलाई सीईओका रूपमा फर्कन आग्रह गर्दै धेरै फोन र सन्देश आएका छन्,’ उनले भनेका थिए ।

‘एनभिडिया पुस्तौंमा एकपटक जन्मिने कम्पनी हो,’ उनले थपेका थिए, ‘यदि सञ्चालक समितिले सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा मेरो पुनरागमन उचित ठान्छ भने यी आग्रह स्वीकार गर्दै सीईओका रूपमा फर्कन पाउनु मेरो लागि सम्मानको विषय हुनेछ ।’

तर सोही दिन एनभीडीयाका नवनियुक्त सञ्चालक समिति अध्यक्ष हार्भी जोन्सले कम्पनीको आम्दानीबारे विश्लेषकहरूसँगको छलफलमा हुआङलाई सीईओमा पुनः नियुक्त गर्ने आफ्नो मनसाय नरहेको बताएका थिए ।
त्यसको भोलिपल्ट क्रेसले कम्पनीका कर्मचारीहरूको बैठकमा ‘अब अगाडि बढौं,’ भनेकी थिइन् ।

हुआङलाई पुनः सीईओ बनाउने विषयमा कम्पनीले सार्वजनिक रूपमा देखाएको अनिच्छा त्यतिबेला आएको थियो, जतिबेला अमेरिकी संसद्का सदस्यहरूले उनलाई सुनुवाइका क्रममा प्रश्न गर्ने तयारी गरिरहेका थिए । साथै एसियामा कम्पनीको व्यावसायिक गतिविधिबारे आलोचना पनि बढिरहेको थियो ।

चीनमा चिप पुगेको विषयमा अनुसन्धान

नोभेम्बर १७ मा अमेरिकी न्याय मन्त्रालय र वाणिज्य मन्त्रालयले संयुक्त रूपमा असामान्य सार्वजनिक वक्तव्य जारी गर्दै मेगास्पिडमाथि अनुसन्धान भइरहेको बताएका थिए । 

अमेरिकी निर्यात नियन्त्रण कानुन उल्लंघन गरी एनभिडियाका उन्नत सेमिकन्डक्टर चिप चीन र्पुयाइएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको उनीहरूको भनाइ थियो ।

‘सेमिकन्डक्टरजस्ता संवेदनशील प्रविधि अमेरिकी अर्थतन्त्रका सबैभन्दा मूल्यवान् र रणनीतिक सम्पत्तिमध्ये पर्छन्,’ दुवै मन्त्रालयले भनेका थिए ।

तर त्यसको केही दिनपछि ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले एनभिडियाको सञ्चालक समितिलाई हुआङ स्वयं राष्ट्रिय सुरक्षाका लागि जोखिम नभएको जानकारी गराएका थिए ।

अमेरिकी वाणिज्य मन्त्रालयले सोमबार नै मेगास्पिडलाई व्यापार प्रतिबन्ध सूचीमा राखेको थियो ।

सोमबार सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पलाई महान्यायाधिवक्ता टोड ब्लान्चेले हुआङमाथि लाग्न सक्ने आपराधिक दायित्व र अमेरिकी निर्यात कानुन उल्लंघन गरी एनभीडीयाका चिप चीन पुगेको विषयमा के जानकारी दिएका थिए भनेर सोधिएको थियो ।

जवाफमा ट्रम्पले भने, ‘उनीहरूले निकै राम्रो अनुसन्धान गरेका थिए र हुआङ स्वयंलाई दोषमुक्त ठहर गरिएको उनीहरूको निष्कर्ष थियो ।’

उक्त विषयबारे जानकार एक स्रोतका अनुसार ट्रम्प र उपराष्ट्रपति जेडी भान्स दुवै हुआङलाई विशिष्ट व्यक्तित्वका रूपमा हेर्छन् । 

उनीहरूले हुआङले एन्थ्रोपिकजस्ता बन्द स्रोतमा आधारित एआई मोडल विकास गर्ने कम्पनीहरूलाई अत्यधिक शक्तिशाली हुनबाट रोक्न भूमिका खेलिरहेको विश्वास गरेका थिए ।

ती स्रोतका अनुसार ट्रम्प र भान्सलाई यस विषयका राष्ट्रिय सुरक्षा पक्षबारे जानकारी गराइएको थियो । उनीहरूले त्यस सन्दर्भमा हुआङले कुनै गैरकानुनी वा अनुचित काम गरेको प्रमाण फेला पारेका थिएनन् ।

ट्रम्पको विश्वासमा उनको प्रशासन र हुआङबीचको निकट सहकार्यले अमेरिकालाई राष्ट्रिय सुरक्षा जोगाउन र अत्याधुनिक एआई चिप प्रतिबन्धित ग्राहकसम्म पुग्न नदिन सबैभन्दा राम्रो अवसर प्रदान गर्छ ।

‘मेहनत गर, बाँकी तिमीलाई थाहा छ’

ट्रम्पका अनुसार एनभीडीयाको सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई पुनः सीईओ बनाउने निर्णय गरेपछि उनले आइतबार हुआङसँग फोनमा कुराकानी गरेका थिए ।

‘मैले उनलाई फोन गरेर भनेँ– जेन्सेन, म तिमीलाई एउटा कुरा गर्न आग्रह गर्छु– मेहनत गर,’ ट्रम्पले भने ।

‘उनलाई के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने थाहा छ,’ ट्रम्पले भने, ‘मैले केवल मेहनत गर भनेँ । किनकि तिमीले गरेको कामलाई कसैले उछिन्न सक्दैन, यदि तिमीले मेहनत गर्यौ भने । कोही पनि सक्दैन, नजिकसम्म पनि पुग्न सक्दैन ।’

‘शिखर सम्मेलन’मार्फत विश्वमा प्रभाव विस्तार गर्दै चीन

बंगलादेशमा बम, आगजनी र राजनीतिक भूकम्प 

आणविक युद्ध नलड्ने तीन महाशक्तिको घोषणा 

आईपीओमा एन्थ्रोपिकको विश्व रेकर्ड, कम्पनीको बजार मूल्य १.५ ट्रिलियन डलर पुग्यो

जेन्सनको पुनरागमनमा बोर्डको ‘ब्रेक’, जासुसीको छानबिन जारी 

एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको नयाँ दाबी 

सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी

Share News