१०० रुपैयाँ प्रिमियम संकलन गर्दा १२० भुक्तानी, ब्याक हुँदै कम्पनीहरू

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) को बीमा दाबी बढ्दै गएपछि निर्जीवन बीमा कम्पनीहरू यसको बीमा व्यवसायप्रति अनिच्छुक हुन थालेका छन् ।

दुर्घटनापछि मर्मत खर्च उच्च हुने र सामान्य प्रकृतिका दुर्घटनामा समेत ठूलो रकम दाबी भुक्तानी गर्नुपर्ने भएपछि कम्पनीहरू यस्तो व्यवसायबाट टाढिन खोज्न थालेका हुन् ।

नेपाल बीमा प्राधिकरणले गरेको अध्ययनअनुसार ईभी बीमाको औसत दाबी अनुपात (क्लेम रेसियो) १२० प्रतिशत रहेको पाइएको छ । अर्थात्, ईभी बीमाबाट कम्पनीहरूले १०० रुपैयाँ बीमाशुल्क (प्रिमियम ) संकलन गर्दा औसतमा १२० रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने अवस्था छ । 

यद्यपि, यस्तो दाबी अनुपात कम्पनीअनुसार फरक-फरक रहेको प्राधिकरणले जनाएको छ ।

नेपालमा ईभी भित्रिन थालेको प्रारम्भिक चरणमा भने बीमा कम्पनीहरूबीच यसको बीमा व्यवसाय विस्तार गर्ने प्रतिस्पर्धा नै चलेको थियो । नयाँ बजारका रूपमा ईभी बीमालाई कम्पनीहरूले अवसरका रूपमा लिएका थिए । ग्राहक आकर्षित गर्न कम्पनीहरूले यसको बीमा गर्न प्रोत्साहनसमेत गरेका थिए ।

तर, ईभीको प्रयोग र संख्या बढ्दै जाँदा बीमा दाबीको चाप पनि बढ्न थालेको कम्पनीहरूको भनाइ छ । विशेषगरी दुर्घटनापछि आवश्यक पर्ने पार्टपुर्जा सहज रूपमा उपलब्ध नहुनु, विदेशबाट आयात गर्नुपर्ने अवस्था रहनु र मर्मत खर्च महँगो हुनुजस्ता कारणले दाबी भुक्तानी रकम बढिरहेको उनीहरूको भनाइ छ ।

एक बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का अनुसार पेट्रोलियम सवारीको तुलनामा ईभीको दुर्घटना दाबी रकम निकै उच्च हुने गरेको छ । 

सामान्यतया पेट्रोलियम गाडी दुर्घटना हुँदा एकदेखि दुई लाख रुपैयाँसम्म दाबी भुक्तानी गर्नुपर्नेमा ईभीको हकमा पाँचदेखि १० लाख रुपैयाँसम्म भुक्तानी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

उनका अनुसार ईभीमा प्रयोग हुने ब्याट्री, मोटर तथा अन्य विद्युतीय उपकरणमा सामान्य क्षति पुग्दा पनि मर्मत खर्च उच्च हुने गरेको छ । 

पेट्रोलियम गाडीको तुलनामा ईभी मर्मत गर्न सक्ने दक्ष जनशक्तिको अभाव र स्पेयर पार्ट्सको महँगो मूल्यले दाबी रकम बढाएको उनको भनाइ छ । 

ईभी गाडी आयातमा भन्सार छुट भए पनि  पार्टपुर्जामा त्यस्तो सुविधा उपलब्ध छैन । ‘स्पेयर पाट्र्स निकै महँगो पर्छन्, सामान्य मर्मत गरेर हुने अवस्थामा पनि कम्पनीले सिङ्गै ब्याट्री वा पार्ट्स फेर्नुपर्ने अडान राख्ने गरेका छन्,’ उनले भने । 

ईभी बीमामा दाबी भुक्तानी बढ्दै जाँदा केही बीमा कम्पनी यस व्यवसायबाट टाढिन थालेको विषयमा आफू पनि जानकार रहेको उनले बताए । यद्यपि, आफ्नो कम्पनीले भने ईभी बीमा गर्न नछाडेको उनको भनाइ छ । ‘घाटाको व्यवसाय गर्ने कुरा त हुँदैन, तर हामीले रोकेका छैनौं,’ ती डिसीईओले भने ।

अर्का एक बीमा कम्पनीका सूचना अधिकारीका अनुसार ईभीको बीमा सुरु गर्दा कम्पनीहरूलाई यसमा आउन सक्ने क्षति र दाबीको वास्तविक अवस्थाबारे पर्याप्त जानकारी थिएन । 

तर, ईभीको प्रयोग बढेसँगै दुर्घटना र दाबीको संख्या बढ्न थालेको उनी बताउँछन् । त्यसपछि प्राप्त क्लेम रेसियोले कम्पनीहरूलाई यो व्यवसाय चुनौतीपूर्ण रहेको देखाएको उनको भनाइ छ ।

‘सुरुमा कति क्षति आउँछ भन्नेमा कम्पनीहरू पनि जानकार थिएनन्,’ उनले भने, ‘विस्तारै गाडीको दुर्घटना बढ्न थाल्यो र त्यसको लस रेसियो आउन थालेपछि बीमा कम्पनीहरू पन्छिन थाले, किनभने त्यो लस थेग्नै सकिँदैन ।’

उनले पनि ईभी गाडीको स्पेयर पार्ट्स अत्यन्तै महँगा भएको कुरामा जोड दिएका छन् ।  

उनका अनुसार पेट्रोलियम गाडी सामान्य ग्यारेजमा लगेर मर्मत गर्न सकिने भए पनि ईभीमा त्यस्तो सुविधा सहज छैन । ईभी मर्मतका लागि आधिकारिक सर्भिस सेन्टरमै लैजानुपर्ने र त्यहाँ प्रयोग हुने पार्टपुर्जाको मूल्य उच्च हुने भएकाले दाबी रकम बढ्ने गरेको उनको तर्क छ ।

सुरुवाती चरणमा ईभीको प्राविधिक पक्ष बुझ्ने दक्ष जनशक्तिसमेत पर्याप्त थिएन । सामान्य समस्या आउँदासमेत त्यसको डाइग्नोसिस (पहिचान)  गर्न कठिन हुने गरेको थियो । अहिले भने सवारी आयातकर्ता कम्पनीहरूले नेपाली प्राविधिकलाई तालिम दिन थालेपछि यो समस्या केही कम भएको उनको भनाइ छ ।

यद्यपि, काठमाडौं उपत्यकाबाहिर ईभी मर्मत तथा सर्भिसिङको सुविधा अझै पर्याप्त छैन । उपत्यकाबाहिर गाडीमा समस्या आए काठमाडौं ल्याउनुपर्ने अवस्था रहेको उनले बताए ।

ईभी बीमामा दाबी रकम उच्च हुनुको अर्को प्रमुख कारण ब्याट्रीको मूल्य हो । ती सूचना अधिकारीका अनुसार उदाहरणका लागि ७० देखि ७१ लाख रुपैयाँ पर्ने गाडीको ब्याट्रीको मूल्य मात्रै करिब ४१ लाख रुपैयाँ पर्छ । 

ईभीको ब्याट्रीमा क्षति पुग्दा बीमा कम्पनीले बेहोर्नुपर्ने दायित्व पनि बीमालेखको प्रकृतिअनुसार फरक हुन्छ । सामान्य मोटर बीमामा ब्याट्रीको मूल्यमा ५० प्रतिशत ह्रासकट्टी (डिप्रिसिएसन) लाग्ने व्यवस्था छ । यस्तो अवस्थामा ४० लाख रुपैयाँ पर्ने ब्याट्रीमा क्षति भए बीमितले ह्रासकट्टीपछि करिब २० लाख रुपैयाँ मात्रै पाउने र त्यसमा पनि स्याल्भेज कटौती हुन सक्ने उनको भनाइ छ ।

तर, अटो प्लस सुविधा लिएको अवस्थामा भने ब्याट्रीमा लाग्ने ह्रासकट्टी नहुने भएकाले बीमितले क्षतिको तुलनामा बढी रकम दाबी भुक्तानी पाउन सक्छन् । यसका लागि बीमितले अतिरिक्त बीमाशुल्क तिर्नुपर्छ । धेरैजसो कम्पनीले अटो प्लस सुविधा दिएका छन् । ब्याट्री गयो भने अटो प्लसमा डिप्रिसिएसन लाग्दैन ।

‘सामान्यत बीमामा ४० लाखको ब्याट्रीमा ५० प्रतिशत ह्रासकट्टी गर्दा २० लाख मात्रै कभर हुन्छ, तर, अटो प्लसमा करिब ४० लाख रुपैयाँसम्म पनि कभर हुन सक्छ,’ उनले भने ।

अटो प्लस सुविधाले बीमितलाई आर्थिक सुरक्षामा सहयोग गरे पनि बीमा कम्पनीको दाबी दायित्व बढाउने गरेको उनको भनाइ छ । यही कारण पनि कम्पनीहरू ईभी बीमाप्रति अनिच्छुक हुन थालेको उनले बताए ।

बीमा कम्पनीहरूका लागि ईभी बीमा दाबीको आर्थिक भार मात्रै नभई ग्राहक सेवा र बजार प्रतिष्ठाको विषयसमेत बनेको छ । कम्पनीले व्यवसाय विस्तारसँगै बीमितलाई प्रभावकारी सेवा दिनुपर्ने हुन्छ । 

तर, अत्यधिक महँगो मर्मत खर्चका कारण दाबी भुक्तानी गर्न कठिनाइ भए त्यसले कम्पनीको बजार छविमा नकारात्मक असर पार्न सक्ने बीमा कम्पनीका सूचना अधिकारी बताउँछन् ।

उनका अनुसार बीमा कम्पनीले व्यवसाय मात्रै हेरेर हुँदैन, त्यसअनुसार सेवा दिन सक्ने क्षमता पनि राख्नुपर्छ । ‘बीमा गरेर दाबी पर्दा भुक्तानी गर्न नसक्ने अवस्था आए त्यसले कम्पनीप्रतिको विश्वास कमजोर बनाउँछ,’ उनले भने ।

उनका अनुसार ईभी मर्मतका लागि आधिकारिक सर्भिस सेन्टरबाट आउने लागत अनुमान (कोटेसन) र गाडीको बीमांक रकमबीच ठूलो अन्तर देखिने गरेको छ । 

उदाहरणका लागि ५० लाख रुपैयाँ मूल्यको गाडी दुर्घटनामा परेपछि शोरुमले मर्मतका लागि डेढ करोड रुपैयाँसम्मको लागत अनुमान दिने अवस्था पनि रहेको उनले बताए ।

‘५० लाखको गाडी दुर्घटना भयो, शोरुममा लगेर जाँदा डेढ करोडको कोटेसन आउँछ, अब बीमा कम्पनीले बीमा गरिसकेपछि म तिर्दिनँ भन्न मिल्दैन,’ उनले भने ।

ईभीको जोखिमअनुसार प्रिमियम निर्धारण गर्नुपर्ने

बीमा कम्पनीहरूका अनुसार ईभीको उच्च दाबीले आर्थिक दायित्व बढाउनुका साथै यसको जोखिम मूल्यांकन र बीमाशुल्क निर्धारणलाई समेत चुनौतीपूर्ण बनाएको छ । 

२०७३ सालमा जारी भएको मोटर बीमा दरसम्बन्धी निर्देशिकाले अहिलेको ईभी बजार, प्रविधि र जोखिमको वास्तविकतालाई सम्बोधन गर्न नसकेको उनीहरूको भनाइ छ । त्यसैले बदलिँदो सवारी बजार र जोखिमअनुसार प्राधिकरणले मोटर बीमाको नयाँ ट्यारिफ तथा नीतिगत व्यवस्था तत्काल लागू गर्नुपर्ने आवश्यकता रहेको कम्पनीहरूले बताएका छन् ।

यद्यपि, बीमा प्राधिकरणले दुई वर्षअघि नै ईभीका लागि छुट्टै बीमा दर निर्धारण गर्ने बताएको थियो । तर, हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । ईभीको जोखिमअनुसार बीमा दर परिवर्तन गर्न पटक-पटक आग्रह गर्दा पनि प्राधिकरणले सम्बोधन नगरेको बीमा कम्पनीहरूको गुनासो छ ।

एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का अनुसार २०७३ सालमा जारी भएको मोटर बीमा दरसम्बन्धी निर्देशिकाले तोकेको बीमाशुल्क नै अहिले पनि लागू भइरहेको छ । 

तर, १० वर्षअघिको तुलनामा सवारीसाधनको प्रविधि, जोखिम र दाबी भुक्तानीको दायित्वमा ठूलो परिवर्तन आइसकेको छ । ‘१० वर्षअघि तोकिएको शुल्क आज पनि त्यही छ, जबकि बीमा कम्पनीको दायित्व भने बढ्दै गएको छ,’ उनले भने । 

उनका अनुसार ईभीको जोखिमअनुसार मोटर बीमा निर्देशिका संशोधन गरी तत्काल नयाँ बीमाशुल्क निर्धारण गर्न आवश्यक छ । त्यसमा पनि समग्र सवारीसाधनको मूल्यलाई मात्र आधार नबनाई ब्याट्री, मोटरलगायतका पार्टपुर्जाको जोखिमअनुसार छुट्टाछुट्टै बीमाशुल्क निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

यता, नेपाल बीमा प्राधिकरणले भने मोटर बीमा दरसम्बन्धी निर्देशिकामै ईभी बीमाको व्यवस्था समेट्ने तयारी गरिरहेको जनाएको छ । ईभीका लागि छुट्टै ट्यारिफ निर्धारण गर्ने विषयमा अध्ययनसमेत सम्पन्न भइसकेको प्राधिकरणको भनाइ छ ।

Share News