साढे ३ अर्बमा ५० मेगावाटको पाल्पा सौर्य आयोजना बन्दै, बैंकको ऋण २.७० अर्ब रुपैयाँ

काठमाडौं । नेपालको नवीकरणीय ऊर्जा उत्पादनमा निजी क्षेत्रको लगानी विस्तार हुँदै गर्दा लुम्बिनी प्रदेशको पाल्पामा ५० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण हुने भएको छ । गोग्रीन इनर्जी लिमिटेडले पाल्पाको माथागढी गाउँपालिका-६ मा निर्माण गर्न लागेको यो आयोजनामा ३ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

आयोजना निर्माण भएपछि वार्षिक औसत ९५.२१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यसले जलविद्युतमा आधारित नेपालको विद्युत् प्रणालीमा सौर्य ऊर्जाको योगदानसमेत थप्नेछ ।

गोग्रीन इनर्जीले आयोजनाका मुख्य संरचना निर्माणका लागि माथागढी गाउँपालिका-६ मा करिब ५४.६० हेक्टर अर्थात् ८२ बिघा जग्गा प्रस्ताव गरेको छ । उक्त क्षेत्रमा तीनवटा छुट्टाछुट्टै ब्लक बनाएर सौर्य विद्युत् आयोजना विकास गर्ने योजना छ ।

आयोजनामा ६५० वाट क्षमताका ९२ हजार ३०७ वटा सौर्य फोटोभोल्टाइक प्यानल जडान गर्ने प्रस्ताव गरिएको छ । ती प्यानलबाट कुल ५९ हजार ९९९.५५ किलोवाट पिक क्षमताको विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युतलाई २८४ किलोवाट क्षमताका १७५ वटा स्ट्रिङ इन्भर्टरमार्फत रूपान्तरण गरी ५० मेगावाट क्षमताको विद्युत् प्रणालीमा पठाइनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ३३/१३२ केभी क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिनेछ । एउटा ट्रान्सफर्मर ३२ एमभीए र अर्को २७ एमभीए क्षमताको हुनेछ ।

त्यसैगरी, आयोजना स्थलदेखि नेपाल विद्युत् प्राधिकरणको सुनवल सबस्टेसनसम्म करिब १२ किलोमिटर लामो १३२ केभीको एकल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । यसमार्फत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

आयोजनाको कुल लागत ३ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ अनुमान गरिएको छ । प्रतिमेगावाट लागत ६ करोड ७१ लाख ९० हजार रुपैयाँ पर्ने देखिएको छ ।

कम्पनीले आयोजनाको लगानी संरचना ७८ प्रतिशत ऋण र २२ प्रतिशत स्वपुँजी कायम गर्ने योजना बनाएको छ । यसअनुसार २ अर्ब ६३ करोड रुपैयाँ ऋण र ७२ करोड ९४ लाख ५० हजार रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ ।

ऋणतर्फ २ अर्ब ६५ करोड रुपैयाँ दीर्घकालीन र ५ करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ७० करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्ने तयारी गरिएको छ । कम्पनीका प्रवर्द्धकहरूले २०२६ जुलाई मध्यसम्ममा ३० करोड १६ लाख ३० हजार रुपैयाँ स्वपुँजी लगानी गरिसकेका छन् ।

आयोजनाको ऋण व्यवस्थापन प्रक्रिया अघि बढिरहेको छ । हाल आयोजना कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले जग्गा प्राप्ति तथा आवश्यक उपकरण खरिद प्रक्रिया जारी छ ।

आयोजनाको विद्युत् बिक्रीका लागि गोग्रीन इनर्जीले नेपाल विद्युत् प्राधिकरणसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । कम्पनीले २०२६ अप्रिल १ मा प्राधिकरणसँग ५० मेगावाट विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता गरेको हो ।

सम्झौताअनुसार आयोजनाबाट उत्पादित विद्युत् प्रतियुनिट ५ रुपैयाँ ३९ पैसाका दरले बिक्री हुनेछ । पीपीए टेक अर पे प्रणालीमा आधारित छ । 

पीपीए व्यावसायिक विद्युत् उत्पादन सुरु भएको मिति अर्थात् सीओडीदेखि २५ वर्षसम्म वा आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि समाप्त नहुँदासम्म कायम रहनेछ । यीमध्ये जुन अवधि पहिले समाप्त हुन्छ, सोही अवधिसम्म सम्झौता लागू हुनेछ ।

गोग्रीन इनर्जी लिमिटेडमा रमेश कर्प समूहसँग सम्बन्धित व्यक्तिगत प्रवर्द्धकका साथै संस्थागत प्रवर्द्धकको लगानी रहेको छ । मेरिगोल्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र ग्यालेक्सी भेन्चर लिमिटेड कम्पनीका संस्थागत प्रवर्द्धक हुन् । कम्पनीको पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षता सुशील गुप्ताले गरेका छन् । 

विद्युत् विकास विभागले पाल्पा सौर्य विद्युत् आयोजनासम्बन्धी सार्वजनिक सूचना जारी गर्दै प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । विद्युत् ऐन, २०४९ र विद्युत् नियमावली, २०५० अनुसार आयोजनाको अनुमति प्रक्रियाअन्तर्गत प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आयोजना निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, वायु प्रदूषणलगायतका कारण वातावरणमा प्रतिकूल असर नपर्ने गरी काम गर्ने प्रस्ताव गरिएको छ । विभागले आयोजना निर्माण तथा सञ्चालनबाट स्थानीय क्षेत्रमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित राय तथा प्रतिक्रिया दिन सरोकारवालालाई आग्रह गरेको छ ।

Share News