काठमाडौं । रुसको सरकारी तथ्यांकको विश्लेषणबाट सन् २०२२ मा युक्रेनमाथि युद्ध सुरु भएयता कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको खुलासा भएको छ ।
बीबीसी न्युजका अनुसार रुसको सरकारी तथ्यांक संकलन गर्ने संस्था रोसस्टाटका विवरण विश्लेषण गर्दा यस्तो तथ्य बाहिर आएको हो ।
तथ्यांकले युक्रेनमाथि रुसले गरेको पूर्णस्तरको आक्रमणले देशको मृत्युदर र मृत्युको प्रवृत्तिमा कस्तो परिवर्तन ल्याएको छ भन्ने देखाएका छन् । साथै यस युद्धमा रुसले चुकाउनुपरेको ठूलो मानवीय मूल्य पनि उजागर गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुमा यो युद्ध केही दिनमै समाप्त हुने अनुमान गरेका थिए । तर युद्ध सुरु भएको करिब पाँच वर्ष पुग्न लागेको छ ।
बीबीसी रुसी सेवाले सन् २०२१ देखि सन् २०२६ को सेप्टेम्बरसम्मका १ करोड १० लाखभन्दा बढी मृत्युका अभिलेख प्राप्त गरेको थियो । बेलारुसको साइबर पार्टिजन्स बीवाई र युक्रेनको साइलेन्ट क्रो नामक समूहले गरेको साइबर आक्रमणपछि यी विवरण सार्वजनिक भएका हुन् ।
रोसस्टाटले आफू साइबर आक्रमणको निशानामा परेको स्वीकार गरेको छ । यद्यपि, कुनै सुरक्षित वा गोप्य सूचना चुहिएको भन्ने कुरा भने उसले अस्वीकार गरेको छ ।
बीबीसी रुसी सेवाले स्वतन्त्र रुसी सञ्चार संस्था मिडियाजोनासँग मिलेर यी तथ्यांकलाई युद्धमा मारिएका रुसी सैनिकको पुष्टि भएका विवरणको सूचीसँग तुलना गरेको थियो ।
युद्ध सुरु भएयता सार्वजनिक रूपमा उपलब्ध स्रोतका आधारमा तयार पारिएको उक्त सूची र सरकारी तथ्यांकबीच ९० प्रतिशत अभिलेख मेल खाएको पाइएको छ ।
सैन्य विशेषज्ञहरूको अनुमानमा बीबीसीको सूचीमा उल्लेख भएका २ लाख ९० हजार १२ मृत्यु वास्तविक मृत्युको ४५ देखि ५५ प्रतिशत मात्रै हुन सक्छन् ।
उक्त सूची सरकारी प्रतिवेदन, सामाजिक सञ्जालमा सार्वजनिक गरिएका पोस्ट, नयाँ निर्माण गरिएका स्मारक तथा चिहानबाट प्राप्त विवरणका आधारमा तयार पारिएको हो ।
विशेषज्ञहरूको यही अनुमानलाई आधार मान्दा युक्रेन युद्धमा मारिएका रुसी सैनिकको वास्तविक संख्या ५ लाख २७ हजार २९५ देखि ६ लाख ४४ हजार ४७१ सम्म हुन सक्ने देखिएको छ ।