सात सर्त पूरा नभएसम्म इरानले अमेरिकासँग वार्ता नगर्ने

काठमाडौं । इरानी संसद्का सभामुख तथा अमेरिकासँगको वार्तामा इरानका मुख्य वार्ताकार मोहम्मद बाकर गालिबाफले इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता नहुने बताएका छन् ।

उनले मंगलबार (आज) संससदमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

बीबीसी फारसीका अनुसार गालिबाफले भने, ‘हाम्रो अडान पहिले नै स्पष्ट पारिसकेका छौं । इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न त कुनै वार्ता हुनेछ ।’

उनले शत्रुका गतिविधिको जवाफ दिन इरान तयार रहेको पनि बताए । ‘शत्रुले कुनै गल्ती गरेमा हामी युद्धको भूगोल नै बदल्न पनि तयार छौं,’ उनले भने ।

इरानले अमेरिकासमक्ष सातवटा माग समेटिएको प्रस्ताव राखेको जनाएको छ ।

इरानका अनुसार उसका सर्तहरू पूरा भएमा तोकिएको अवधिको अन्त्यमा होर्मुज जलडमरूमध्य खोलिनेछ । त्यसपछि अमेरिकासँग स्थायी सम्झौताका लागि वार्ता सुरु हुनेछ ।

इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने माग प्रमुख छ । यसमा लेबनानमाथि इजरायलका आक्रमण रोक्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी अन्त्य गर्नुपर्ने र इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने मागसमेत समावेश छन् ।

Share News