बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ डिसेम्बरमा भारतबाट स्वदेश फर्किने

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना । फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बर १६ मा भारतबाट स्वदेश फर्किने बताएकी छन् ।

बंगलादेशमा उक्त दिन विजय दिवस मनाइन्छ । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो ।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार मंगलबार स्वदेश फर्किने मिति सार्वजनिक गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानसँग राष्ट्रिय ध्वजावाहक विमानमार्फत आफ्नो स्वदेश फिर्तीको व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।

हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘५ अगस्ट २०२४ मा शेख हसिनालाई बंगलादेशको विमानमार्फत भारत ल्याइएको थियो । अब उनी दिल्लीबाट ढाकासम्मको हवाई यात्राको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्छिन् ।’

हसिनाका सहयोगी अबु ओबैदा अरिनले एपीसँग कुरा गर्दै स्वदेश फर्किन उनले १६ डिसेम्बर अर्थात् विजय दिवसको दिन रोज्नुको विशेष अर्थ रहेको बताए ।

उनले हसिना स्वदेश फर्किएपछि उनकै नेतृत्वमा बंगलादेश पुनः शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।

हसिना ५ अगस्ट २०२४ मा भारत गएकी थिइन्। विद्यार्थी आन्दोलन चर्किएपछि उनले १५ वर्ष लामो शासन छाड्नुपरेको थियो । उक्त आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारी मारिएका थिए ।

हसिनालाई उनको अनुपस्थितिमै मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको थियो । उनले उक्त फैसला अस्वीकार गर्दै आएकी छन्। बंगलादेश फर्किएपछि यस मुद्दामा आफ्नो पक्ष प्रस्तुत गर्ने उनको भनाइ छ ।

Share News