काठमाडौं । युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दिल्लीको एक अदालतले सन् २०१८ को मानहानीसम्बन्धी मुद्दामा राठीविरुद्ध सोमबार (आज) गैरजमानती पक्राउ पुर्जी जारी गरेको हो ।
प्रथम श्रेणीका न्यायिक मजिस्ट्रेट (जेएमएफसी) अनम रईस खानले यस्तो आदेश दिएका हुन् । मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ३ मा हुने तय भएको छ ।
विकास सांकृत्यायन उर्फ विकास पाण्डेले दायर गरेको यो मुद्दा सन् २०१८ मे महिनामा ध्रुव राठीले बनाएको एउटा भिडियोसँग सम्बन्धित छ । उक्त भिडियोमा राठीले विकास पाण्डेविरुद्ध झुटा दाबी गरेको आरोप छ ।
ध्रुव राठीको एक्स (तत्कालीन ट्विटर) खाताबाट सार्वजनिक गरिएको उक्त भिडियो दिल्लीका तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले पनि पुनः पोस्ट (रिट्वीट) गरेका थिए । त्यसपछि विकास पाण्डेले केजरीवाल र ध्रुव राठी दुवैविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।
यसअघि पनि अदालतले ध्रुव राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरिसकेको थियो ।
अक्टोबर १२ मा अदालतले मुद्दाको शीघ्र सुनुवाइ गर्न र ध्रुव राठीलाई हातमै समन बुझाउने मागसहित दायर निवेदन स्वीकार गरेको थियो ।
उजुरीकर्ताका वकिल समक्ष शर्माले गरेको बहसपछि अदालतले यस्तो निर्णय गरेको हो ।