काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानमाथि शानदार जित निकालेको छ ।
मंगलबार (आज) ओमानको अल अमिरातमा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रन बनाउँदै अलआउट भयो । यससँगै नेपालले विश्वकप लिग–२ को १३४औं खेलमा महत्त्वपूर्ण जित हात पारेको हो ।
यसअघि टसको विवरण प्राप्त नभए पनि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए ।
उनले ६७ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । त्यस्तै, करण केसीले विस्फोटक ब्याटिङ गर्दै १६ बलमै ४० रन जोडे । उनले आफ्नो आक्रामक इनिङ्समा चार छक्का र एक चौका प्रहार गरे ।
ओपनर अर्जुन कुमालले ५९ बलमा चार चौकासहित ४० रन बनाए । ईशान पाण्डेले ५५ बलमा ३७ रन जोड्दा बसिर अहमदले ५० बलमा ३७ रनको योगदान दिए ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन बनाए । सन्दीप जोराले १० रन जोड्दा आसिफ शेख चार रनमै आउट भए ।
ओमानका लागि शकिल अहमद, शाह फैसल र सोनावलेले नेपाली ब्याटरलाई आउट गरेका थिए । यद्यपि, नेपालले मध्यक्रम र तल्लोक्रमको उपयोगी योगदानमा प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भयो ।
२६४ रनको लक्ष्य पछ्याएको ओमानले नेपाली बलिङसामु अपेक्षित प्रदर्शन गर्न सकेन । घरेलु टोली ४० ओभरमै समेटिएपछि नेपालले ११३ रनको प्रभावशाली जित दर्ता गरेको हो ।