काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवामा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडान गर्न र अफरसम्बन्धी जानकारी लिन ग्राहकले सम्पर्क गर्ने क्रम बढेपछि कम्पनीले १९८ नम्बरको क्षमता समेत वृद्धि गरेको छ ।
नेपाल टेलिकमका अनुसार एनटी फाइबर जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरेर आवश्यक जानकारी लिन तथा आफूलाई पायक पर्ने स्थानमा नयाँ लाइन जडानका लागि अनुरोध गर्न सक्छन् ।
त्यसैगरी, अब ग्राहकले अनलाइनबाटै एनटी फाइबर जडानका लागि आवश्यक विवरण उपलब्ध गराउन र सेवा सम्बन्धी गुनासो दर्ता गर्न सक्ने व्यवस्था पनि गरिएको छ । यसका लागि कम्पनीको अनलाइन पोर्टल मा लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत सेवा लिन सकिनेछ ।
नेपाल टेलिकमले हालै ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको एनटी फाइबर प्याकेज उपलब्ध गराएको छ । कम्पनीका अन्य विभिन्न प्याकेजसमेत उपलब्ध रहेकाले ग्राहकले आफ्नो आवश्यकता र सुविधाअनुसार उपयुक्त प्याकेज छनोट गर्न सक्नेछन् ।
एनटी फाइबर सेवामार्फत ग्राहकलाई घरमै उच्च गतिको इन्टरनेट उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले सेवा जडान तथा ग्राहक सहायता प्रक्रियालाई थप सहज बनाएको जनाएको छ।