काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ। शनिबारदेखि लागू हुने गरी सेवा अवधि थपिएसँगै प्रभावित क्षेत्रका ग्राहकले थप एक सातासम्म यी सेवा निःशुल्क प्रयोग गर्न पाउने भएका छन्।
यसअघि कम्पनीले बाढी प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, सबै नेटवर्कमा भ्वाइस कल र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त अवधि शुक्रबार सकिने भएपछि सेवा निरन्तरता दिँदै थप सात दिन विस्तार गरिएको एनसेलले जनाएको छ।
कम्पनीका अनुसार विपद्को समयमा सञ्चार सेवा सूचना आदानप्रदान, उद्धार तथा राहत वितरण र आपसी समन्वयका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले प्रभावित समुदायलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको हो।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कठिन परिस्थितिमा सञ्चार पहुँच कायम राखेर प्रभावित समुदायलाई सहयोग पुर्याउने प्रयास जारी रहने बताए। उनले यसले परिवारसँग सम्पर्क कायम राख्न र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे।
१८ मोबाइल टावर पुनः सञ्चालनमा
बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका १८ वटा मोबाइल टावर एनसेलले पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार अझै प्रभावित रहेका अन्य ९ वटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको छ।
यसअघि एनसेल फाउन्डेसनमार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग पनि उपलब्ध गराएको थियो। साथै बाढी प्रभावित क्षेत्रमा सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न एसएमएस र सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको जनाएको छ।