८ प्रतिशत बजार हिस्सा ओगटेको सुबिसुको आम्दानी २.६९ अर्ब रुपैयाँ, बैंक ऋण ३.६२ अर्ब रुपैयाँ

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेडले सन् २०२५ मा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १८.०८ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रूपैयाँले कम हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब २८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। सुबिसुको आम्दानी संरचना ग्राहक र सेवाका आधारमा विविधिकृत छ । सन् २०२५ मा कम्पनीको करिब ६१ प्रतिशत आम्दानी रिटेल (खुद्रा) ग्राहकबाट रहेको छ, जुन सन् २०२४ मा ५४ प्रतिशत थियो । कर्पोरेट ग्राहकबाट करिब ३१ प्रतिशत आम्दानी भएको छ भने टेलिभिजनबाट ५ प्रतिशत रहेको छ । साथै, प्रोजेक्ट आम्दानी सन् २०२४ मा ६ प्रतिशत रहेकोमा सन् २०२५ मा घटेर २ प्रतिशतमा सीमित रहेको कम्पनीले जनाएको छ ।  प्रतिस्पर्धात्मक मूल्य, प्रवर्द्धनात्मक प्याकेज तथा छुटका कारण प्रतिग्राहक औसत आम्दानी भने निरन्तर घट्दो क्रममा रहेको कम्पनीले जनाएको छ । यो क्षेत्रको तीव्र प्रतिस्पर्धात्मक अवस्थालाई हेर्दा आगामी दिनमा पनि औसत आम्दानी दबावमै रहने र सञ्चालन नाफामा असर पर्ने अनुमान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ७७ करोड रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ९० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।  ग्राहक संख्याको आधारमा सुबिसु नेपालका शीर्ष ६ इन्टरनेट सेवा प्रदायकभित्र पर्छ । सन् २०२५ डिसेम्बर मध्यसम्म कम्पनीसँग करिब २.५६ लाख सक्रिय इन्टरनेट ग्राहक रहेका छन् । ४जी विस्तार, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच वृद्धि र डिजिटल पहलहरूले यो क्षेत्रलाई गति दिएको छ । यद्यपि, बजारमा ६० भन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी भए पनि वास्तविक रूपमा बजार अत्यधिक केन्द्रित रहेको कम्पनीले जनाएको छ । २०२५ डिसेम्बर मध्यसम्म शीर्ष २० इन्टरनेट सेवा प्रदायक कम्पनीले कुल बजारको ९९.७२ प्रतिशत हिस्सा ओगटेका छन् । तीमध्ये शीर्ष ५ इन्टरनेट सेवा प्रदायक कम्पनीको संयुक्त बजार हिस्सा करिब ७१ प्रतिशत रहेको छ भने सुबिसुको बजार हिस्सा करिब ८ प्रतिशत रहेको कम्पनीले दाबी गरेको छ ।  ठूला कम्पनीहरूले मूल्य घटाउन सक्ने क्षमता, अनुकूल भुक्तानी सर्त र मूल्य युद्धका कारण सुबिसुलाई मार्जिन दबाब र ग्राहक संरक्षणमा चुनौती देखिएको छ । यसकारण, उत्कृष्ट ग्राहक सेवा, उत्पादन तथा सेवामा फरकपन, रणनीतिक साझेदारी र नवीन प्रविधिमा निरन्तर लगानी अपरिहार्य रहेको कम्पनीले जनाएको छ । निरन्तर ऋण आवश्यकताका कारण सुबिसुको ब्याज खर्च उच्च रहेको छ, जसले नाफामा प्रत्यक्ष असर पारेको कम्पनीले जनाएको छ । कम्पनीको ऋण फ्लोटिङ ब्याजदर प्रणालीमा आधारित भएकाले बैंक तथा वित्तीय संस्थाको आधार दरमा हुने उतारचढावले ब्याजदर अस्थिर बनाइरहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार दीर्घकालीन २ अर्ब २३ करोड ७४ लाख रुपैयाँ र अल्पकालीन १ अर्ब ३९ करोड रुपैयाँ बैंक ऋण लिएको छ ।  सन् १९९९ अगस्टमा स्थापना भएको सुबिसु २५ वर्षदेखि नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय रहँदै आएको छ । कम्पनी सन् २०२२ मार्चमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीमा ७ जना अनुभवी प्रवर्द्धक रहेका छन्, जो सबै बोर्ड अफ डाइरेक्टर्सका सदस्य समेत हुन् । सुबिसुको बोर्ड अध्यक्ष सुधीर पराजुली रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउद रहेका छन् । हाल सुबिसुले उच्च गतिको फाइबर इन्टरनेट, केबल इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवासहित विभिन्न सूचना प्रविधिसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । सुबिसुको सेवा ७७ वटै जिल्लामा विस्तार भएको छ । काठमाडौं उपत्यकाभित्र १० वटा स्टेसन र देशभर ३१ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको कम्पनीसँग १०५ भन्दा बढी फ्रेन्चाइज तथा सहायक व्यवसायहरू समेत रहेका छन् ।

मस्कको एक्सएआई नेतृत्वमा संकट, दुई दिनमै दोस्रो संस्थापकको बहिर्गमन

काठमाडौं । एलन मस्कको कृत्रिम बौद्धिकता (एआई) कम्पनी एक्सएआईले दुई दिनभित्रै आफ्नो दोस्रो सह–संस्थापक गुमाएको छ । प्रभावशाली अनुसन्धानकर्ता जिमी बाले मंगलबार एक्स (पूर्व ट्वीटर) मा पोस्ट गर्दै आफ्नो प्रस्थानको घोषणा गरेका छन् । उनले मस्कलाई धन्यवाद दिँदै लेखेका छन्, ‘सुरुआतमा सह–संस्थापकका रूपमा सहयोग गर्न पाएकोमा कृतज्ञ छु ।’ बाको प्रस्थान एक दिनअघि मात्र अर्का सह–संस्थापक टोनी वूले पनि एक्सएआईबाट बाहिरिने घोषणा गरेपछि भएको हो । यसै महिनाको सुरुवातमा एक्सएआई‍ मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्ससँग मर्ज भएको थियो । एक्सएआईका सह–संस्थापकहरूको यो बहिर्गमन त्यतिबेला आएको हो, जब स्पेसएक्स यस वर्षभित्रै आईपीओको तयारीमा छ । टोरन्टो विश्वविद्यालयका प्राध्यापक रहेका बालाई कम्पनीको ग्रोक संस्करण ४ एआई मोडेल विकासमा प्रभाव पार्ने महत्त्वपूर्ण अनुसन्धानका लागि श्रेय दिइएको थियो । बा र वू बाहेक इगोर बाबुस्किन, काइल कोसिक र क्रिस्टियन सेगेडी लगायत अन्य सह–संस्थापकहरू पनि मस्कको एआई परियोजनाबाट अलग भइसकेका छन् । गत महिना ग्रेग याङले लाइम रोगसँगको संघर्षमा ध्यान केन्द्रित गर्न आफ्नो भूमिकाबाट पछि हट्ने घोषणा गरेका थिए । सीएनबीसीले अवलोकन गरेको कागजातअनुसार सबै सेयर साटासाटमा आधारित उक्त कीर्तिमानी सम्झौताले स्पेसएक्सको मूल्यांकन १ ट्रिलियन डलर र एक्सएआईको २५० अर्ब डलर निर्धारण गरेको थियो । यसअघि मस्कले मार्च २०२५ मा घोषणा गरिएको अर्को सेयर–आधारित कारोबारमार्फत आफ्नो सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) लाई एक्सएआईमार्फत अधिग्रहण गरेका थिए । यी बहिर्गमनहरू त्यतिबेला आएका हुन्, जब एक्सएआई युरोप, एसिया र अमेरिकाका विभिन्न क्षेत्रमा नियामक निकायहरूको छानबिनको सामना गरिरहेको छ। छानबिन त्यसपछि सुरु गरिएको थियो, जब कम्पनीको ग्रोक एआई च्याटबट र तस्बिर निर्माण उपकरणले सहमति विना बनाइएका अश्लील प्रकृतिका तस्बिरहरू व्यापक रूपमा सिर्जना र प्रसारण गर्न अनुमति दिएको आरोप लागेको थियो । ती तस्बिरहरू वास्तविक व्यक्ति र बालबालिकासमेतका फोटोमा आधारित थिए । मस्कले २०२३ मा ओपनएआई र गुगलसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले ११ अन्य व्यक्तिसँग मिलेर एक्सएआई स्थापना गरेका थिए । कम्पनीले त्यसबेला आफ्नो वेबसाइटमार्फत ‘ब्रह्माण्डको वास्तविक स्वरूप बुझ्ने’ लक्ष्य राखेको जनाएको थियो ।

एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ अभियान सुरु

काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मङ्गलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ कार्यक्रम सुरु गरेका छन् । साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाबारे विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्य लाभान्वित हुने अपेक्षा गरिएको छ । नमुना परियोजनाका रूपमा सुरु गरिएको यो कार्यक्रम बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा सञ्चालन हुनेछ । कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी साइबर सचेतना सत्र सञ्चालन गरिनेछ । साथै इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तिका तयार गरी सहभागी विद्यार्थीहरूलाई वितरण गरिनेछ । पहिलो चरण सफल भएपछि आगामी आर्थिक वर्षदेखि अन्य प्रदेशमा पनि विस्तार गरिने योजना रहेको छ । यस वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेसः एक्सप्लोरिङ द सेफ एन्ड रिस्पोन्सिबल युज अफ एआई’ रहेको छ । कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित एसआईटी सत्रमार्फत गरिएको हो । कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले डिजिटल सुरक्षा र कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे विद्यार्थीहरूसँग अनुभव साटेका थिए । उनले भने, 'अभिभावकका रूपमा व्यक्तिगत डाटाको सुरक्षा मेरो लागि अत्यन्त महत्वपूर्ण विषय हो । प्रविधि जीवनको अभिन्न हिस्सा बन्दै जाँदा त्यससँग सम्बन्धित जोखिमबारे सचेत रहनु आवश्यक छ । एसआईटी कार्यक्रममार्फत हामी युवालाई सुरक्षित र जिम्मेवार डिजिटल प्रयोगका लागि सक्षम बनाउन चाहन्छौँ ।' नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले डिजिटल साक्षरता आजको समयको अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै युवालाई सुरक्षित अनलाइन व्यवहार सिकाउने अभियान दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको बताए । उनले भने, 'डिजिटल प्लेटफर्मले युवाको सोच र व्यवहारमा ठूलो प्रभाव पारिरहेका छन् । त्यसैले अनलाइन सुरक्षा सबैको साझा जिम्मेवारी हो । एसआईटी अभियानमार्फत हामी विद्यार्थीलाई जिम्मेवार डिजिटल प्रयोग र आफ्नो डिजिटल पदचिन्ह जोगाउने सीप प्रदान गर्दैछौँ ।' हालसम्म कास्की, ललितपुर र भक्तपुरका नौ विद्यालयमा एसआईटी सत्र सञ्चालन भइसकेका छन् । ती सत्रबाट ७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । कार्यक्रम कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ । एनसेल फाउन्डेसनको सुरक्षित तथा समावेशी डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्ने प्रतिबद्धतासँग जोडिएको यो अभियानले डिजिटल साक्षरता र साइबर सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।