काठमाडौं । अविरल झरी पर्न रोकिएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत रोकिएका खेलहरू सुरु गर्ने तयारी तीव्र पारिएको छ । शनिबार साँझ ५ बजेका लागि तय भएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सञ्चालन गर्नका लागि हाल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सुकाउने काम भइरहेको छ ।
यसैबीच, खेल हेर्नका लागि त्रिवि मैदानमा दर्शकहरूको उपस्थिति पनि बढ्न थालेको छ । तर, निरन्तरको वर्षाका कारण मैदान र आसपासको क्षेत्र हिलो र ढापिलो बनेकाले खेल हेर्न पुगेका दर्शकहरूले ठूलो सास्ती खेप्नुपरेको छ । हिलोका कारण समस्यामा परे पनि दर्शकहरू खेल सुरु हुने आशामा मैदानमा पर्खिरहेका छन् ।
मैदान सुकाउने काम भइरहे पनि साँझको खेल हुने वा नहुने भन्ने विषय अझै निश्चित भइसकेको छैन । यसअघि आजै दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल भने वर्षाका कारण प्रभावित हुँदै अन्ततः रद्द गरिएको थियो । खेल रद्द भएसँगै नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवै टोलीले १-१ अंक बाँडेका छन् ।