काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल अझै सुरु हुन सकेको छैन । वर्षाका कारण प्रभावित बनेको उक्त खेललाई अम्पायरहरूले ५-५ ओभरमा घटाएर खेलाउने निर्णय गर्दै साँझ ७ः२५ बजे टस र ७ः४१ बजेबाट खेल सुरु गर्ने समय तय गरेका थिए ।
तर, उक्त निर्णयप्रति सुदूरपश्चिम रोयल्सले असहमति जनाएपछि खेल अन्योलमा परेको हो । मैदानमै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसबाह उल हक, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का तथा अम्पायर र क्युरेटरबीच लामो छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।
छलफल निष्कर्षविहीन बनेपछि कप्तान दीपेन्द्रसिंह ऐरीसहित सुदूरपश्चिमका अन्य खेलाडीहरू मैदान छाडेर बाहिरिएका छन् भने मैदानमा विनोद भण्डारी मात्रै देखिएका छन् ।
अर्कोतर्फ विराटनगर किङ्सका खेलाडीहरू भने मैदानमै उपस्थित छन् । वर्षा थमिसकेको अवस्थामा पनि खेल नहुने संकेत पाएपछि रंगशालामा उपस्थित समर्थकहरूले मोबाईलको टर्च बालेर विरोध जनाइरहेका छन् ।