विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको जित
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ । मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एकरएक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए । खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३ औँ मिनेटमा ट्युनिसियाका ओमारले एक गोल फर्काए । यसैगरी खेलको ५९औँ मिनेटमा भिक्टोरले स्वीडेनका लागि तेस्रो गोल गरे । खेलको ८६औँ मिनेटमा स्वीडेनका लागि माथिइस स्भानवर्गले एक गोल थपे । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौँ गोल गरेपछि स्वीडेनले ट्युनिसियमाथि ५-१ गोलको जित निकाल्यो । जितपछि स्वीडेनले शीर्ष तीन अंक जोडेको छ । समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेल्दै समान एकरएक अंंक बाँडेका थिए ।
६० करोडको निजी क्रिकेट मैदान तयार, सरकारी रङ्गशाला १४ वर्षदेखि अलपत्र
काठमाडौं । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्र गतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ । निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सम्पन्न हुने चरणमा पुग्दा सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने बजेट अभाव र सुस्त कार्यान्वयनका कारण अझै पूर्ण हुनसकेको छैन । तिलोत्तमा नगरपालिका-१७ पूर्वदरखसवामा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरको लगानीमा करिब ६० करोड रुपैयाँ लागतमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरिएको हो । ६ बिघा क्षेत्रफलमा फैलिएको उक्त रङ्गशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भिआइपी बक्सलगायतका संरचना निर्माण भइरहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा रङ्गशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनका अनुसार मैदान राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न तयार भइसकेको छ भने अन्य पूर्वाधार विस्तारको काम जारी छ । हाल २ देखि ३ हजार दर्शक अट्ने क्षमता रहेको रङ्गशालालाई आगामी दिनमा १५ देखि २० हजार दर्शक क्षमतामा विस्तार गर्ने योजना रहेको छ । रङ्गशालासँगै आवासीय सुविधासहितको क्रिकेट एकेडेमी सञ्चालन गरी दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसले खेलकुदसँगै पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । लगानीकर्ता पक्षले मैदानसम्म पुग्ने सडक, विद्युत् र अन्य आधारभूत पूर्वाधार निर्माणमा सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूले रङ्गशाला निर्माणका लागि सरकारी आर्थिक सहयोग नचाहिए पनि पहुँचमार्ग र सार्वजनिक पूर्वाधार विकासमा राज्यको भूमिका आवश्यक रहेको धारणा राखेका छन् । यता, भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्ने योजना भने लामो समयदेखि अलपत्र छ । वि.सं २०६८ मा सुरु गरिएको उक्त परियोजनाको हालसम्म करिब १६ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार पर्याप्त बजेट विनियोजन नहुनु र बहु वर्षीय योजना अन्तर्गत कार्यान्वयन नगरिनु परियोजना सुस्त हुनुका मुख्य कारण हुन् । हालसम्म करिब १२ करोड रूपैयाँ खर्च भए पनि रङ्गशालाका अधिकांश संरचना निर्माण हुन बाँकी छन् । डीपीआरअनुसार प्रारम्भिक लागत ३८ करोड रूपैयाँ अनुमान गरिएको भए पनि समयसँगै निर्माण लागत बढेकाले अहिले रङ्गशाला सम्पन्न गर्न ७० करोड रुपैयाँ बढी आवश्यक पर्ने अनुमान गरिएको छ । खेलकुद क्षेत्रका सरोकारवालाले क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सरकारी रङ्गशाला निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार निजी क्षेत्रले देखाएको उत्साह र लगानीले रुपन्देहीलाई क्रिकेटको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याएको छ भने सरकारी परियोजनाले पनि सोही गतिमा अघि बढ्न आवश्यक छ ।
विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित
काठमाडौं । तीन राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकामा आजदेखि सुरुआत भएको समूह डी को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोतिामा सुखद सुरुआत गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो । त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यसजितसँगै समूह डी मा रहेको अमेरिकाले शीर्ष तीन अक बटुलेको छ । समूह डी मा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।