एनपीएल-२ क्रिस लिन चम्किँदा सुदूरपश्चिमद्वारा चितवनलाई १७० रनको चुनौती
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसामु जितका लागि १७० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको सम्मानजनक योगफल तयार पारेको हो । सुदूरपश्चिमको इनिङ्सलाई उकास्न ओपनर क्रिस लिनले मुख्य भूमिका खेले। आक्रामक शैलीमा प्रस्तुत भएका लिनले ५६ बलको सामना गर्दै ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले मैदानको चारैतर्फ सट प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए तर दुर्भाग्यवश उनी ’रिटायर्ड हर्ट’ भएर मैदान छाड्न बाध्य भए । लिनबाहेक अन्य ब्याटरहरूले पनि टोलीको स्कोरमा महत्त्वपूर्ण योगदान दिए । विनोद भण्डारीले २१ रन जोड्दा आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २४–२४ रन बनाएर इनिङ्सलाई अन्त्यसम्म सम्हाले । बलिङतर्फ चितवन राइनोजका सैफ जैबले कसिलो बलिङ गर्दै २ विकेट हात पारे । त्यस्तै, रञ्जित कुमार र जर्ज स्क्रिमशले १–१ विकेट लिँदै सुदूरपश्चिमलाई रोक्ने प्रयास गरे । अब १७० रनको विजय लक्ष्य पछ्याउँदै चितवन राइनोजले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
एनपीएलमा आज दुई खेल हुँदै, चितवन र पोखरालाई जित्नै पर्ने दबाब
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज २ खेल हुँदैछन् । पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । ५ खेलबाट ४ अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौंले भने ६ खेलबाट ८ अङ्क जोडेको छ । प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । ५ खेलबाट ४ अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।
आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै, लुम्बिनीलाई जित्नै पर्ने दबाब
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपरान्ह ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले ५ खेलबाट ८ अङ्क जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले ५ खेलमा २ मात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।