काठमाडौं । फ्रान्सेली राष्ट्रिय टोली तथा स्पेनिस क्लब रियल मड्रिडका स्टार फुटबलर किलियन एम्बाप्पेले चीनका दिवंगत नेता माओ त्सेतुङबारे गरेको टिप्पणीप्रति माफी मागेका छन् ।
चीनका पूर्वनेता माओलाई ‘तानाशाह’ भनेर सम्बोधन गरेपछि एम्बाप्पे विवादमा परेका थिए । उनको टिप्पणीलाई लिएर विवाद चर्किएपछि चीनका विभिन्न ब्रान्डले उनीसँगको व्यावसायिक सम्झौतासमेत रद्द गरेका छन् ।
एम्बाप्पेले फ्रान्सेली अन्तर्वार्तामूलक कार्यक्रम ‘द ब्रिज’ मा आफूलाई सबैभन्दा बढी हँसाउने एउटा इन्टरनेटमा प्रचलित व्यंग्यात्मक तस्बिर (मिम) बारे चर्चा गरेका थिए ।
कार्यक्रममा उनले भनेका थिए, ‘मलाई सबैभन्दा बढी हँसाउने मिम एउटा व्यक्तिसँग सम्बन्धित छ । मलाई लाग्छ, उनी चीनका तानाशाह हुन् ।’
यति भनेपछि एम्बाप्पे हाँस्न थालेका थिए । त्यसपछि कार्यक्रममा माओ त्सेतुङको जस्तो देखिने तस्बिरमा एम्बाप्पेको अनुहार जोडिएको एउटा मिम देखाइएको थियो ।
उक्त मिम फुटबल जगतमा एम्बाप्पेको प्रभावलाई लिएर गरिने ठट्टासँग सम्बन्धित थियो । क्लब र फुटबलसम्बन्धी निर्णयमा उनको प्रभाव अत्यधिक रहेको भन्दै सामाजिक सञ्जालमा उनलाई व्यंग्यात्मक रूपमा ‘तानाशाह’ भन्ने गरिएको छ ।
तर, चीनका ऐतिहासिक नेतासँग तुलना गर्दै गरिएको उनको टिप्पणी विवादित बनेको थियो ।
विवाद बढेपछि एम्बाप्पेले विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति अनुचित भएको स्वीकार गरेका छन् ।
उनले भनेका छन्, ‘मेरो टिप्पणी अनुचित थियो । अहिले मैले बुझेको छु कि त्यसबाट चीन र विश्वभर रहेका चिनियाँ समुदायका धेरै मानिसको भावनामा चोट पुगेको छ ।’
उनले थपेका छन्, ‘मेरो अभिव्यक्तिका कारण दुःखी भएका सबैसँग म माफी माग्छु ।’
एम्बाप्पेको टिप्पणीप्रति स्पेनको शीर्ष फुटबल प्रतियोगिता ला लिगाले पनि माफी मागेको छ ।
ला लिगाले एम्बाप्पेको पछिल्लो टिप्पणीका कारण चिनियाँ फुटबल समर्थकको भावनामा चोट पुगेको भन्दै गहिरो दुःख व्यक्त गरेको छ ।
को हुन् माओ त्सेतुङ ?
माओको नेतृत्वमा चीनमा कम्युनिस्ट शासन स्थापना भएको थियो । चीनमा उनलाई आधुनिक राष्ट्रनिर्माणका प्रमुख नेताका रूपमा सम्मान गरिन्छ । उनको तस्बिर आज पनि चिनियाँ मुद्रा तथा बेइजिङको तियानआनमेन चोकमा देख्न सकिन्छ ।
यद्यपि, माओको शासनकाल विवादरहित भने थिएन । विशेषगरी सन् १९५८ देखि १९६२ सम्मको ‘महान् अग्रगामी अभियान’ का क्रममा चीनले विनाशकारी अनिकाल सामना गर्नुपरेको थियो । त्यसबाट करोडौं मानिसको मृत्यु भएको अनुमान छ ।
त्यस्तै, सन् १९६६ देखि १९७६ सम्म चलेको ‘सांस्कृतिक क्रान्ति’ का क्रममा व्यापक राजनीतिक दमन, हिंसा र सामाजिक उथलपुथल भएको थियो ।
यिनै कारणले माओको शासनलाई विभिन्न इतिहासकार तथा राजनीतिक विश्लेषकले अधिनायकवादी शासनका रूपमा व्याख्या गर्ने गरेका छन् । तर, चीनको आधिकारिक राजनीतिक दृष्टिकोणमा माओलाई राष्ट्रको एकता र कम्युनिस्ट क्रान्तिका ऐतिहासिक नेताका रूपमा उच्च सम्मान दिइन्छ ।
यसैले माओसँग सम्बन्धित टिप्पणी चीनमा राजनीतिक तथा ऐतिहासिक रूपमा संवेदनशील मानिन्छ ।