भारत छाड्न इमरान खानलाई दिइएको सूचनाबारे बम्बई उच्च अदालतले के भन्यो ?

काठमाडौं । बम्बई उच्च अदालतले भारत छाड्न दिइएको सूचनाविरुद्ध अभिनेता इमरान खानले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ नोभेम्बर २ सम्मका लागि स्थगित गरेको छ ।

उक्त सूचनामा इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिइएको थियो ।

केन्द्र सरकारका तर्फबाट अदालतमा उपस्थित सहायक सोलिसिटर जनरल (एएसजी) ले अर्को सुनुवाइसम्म इमरान खानविरुद्ध कुनै कारबाही नगरिने मौखिक आश्वासन दिएका छन् ।

अदालतले पनि अर्को सुनुवाइसम्म यस विषयमा थप कारबाही नगर्न आदेश दिएको छ ।

यसअघि इमरान खानले मुम्बईस्थित विदेशी क्षेत्रीय दर्ता अधिकारी (एफआरआरओ) ले अक्टोबर १४ मा जारी गरेको भारत छाड्न दिइएको सूचनालाई चुनौती दिँदै बम्बई उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

एफआरआरओका अनुसार अमेरिकी नागरिक इमरानले एउटा विरोध प्रदर्शनमा सहभागिता जनाएका थिए ।

अभिनेता इमरान खानको जनसम्पर्क टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दुई वर्षको उमेरदेखि भारतमा बस्दै आएका अभिनेता तथा ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्डधारक इमरान खान पालले मुम्बईस्थित विदेशी क्षेत्रीय दर्ता अधिकारी (एफआरआरओ) ले अक्टोबर १४, २०२६ मा जारी गरेको भारत छाड्ने सूचनालाई बम्बई उच्च अदालतमा चुनौती दिएका छन् ।'

Share News