इजरायलमा आमनिर्वाचन : नेतन्याहूलाई पूर्वसेना प्रमुख आइजेनकोटको कडा टक्कर

इजरायली सेनाका पूर्वप्रमुख गादी आइजेनकोट र वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहू ।

काठमाडौं । इजरायलमा प्रधानमन्त्री चयनका लागि आमनिर्वाचनअन्तर्गत मतदान भइरहेको छ । सन् २०२३ को अक्टोबर ७ पछि इजरायलमा पहिलोपटक आमनिर्वाचन भइरहेको हो ।

निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायली सेनाका पूर्वप्रमुख गादी आइजेनकोट प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदान केन्द्रहरू खुलेका छन् । योग्य मतदाताले राति १० बजेसम्म मतदान गर्न सक्नेछन् ।

शुक्रबार सार्वजनिक गरिएको चुनावी सर्वेक्षणअनुसार नेतन्याहू र आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

इजरायलको संसद् ‘नेसेट’मा १२० सिट छन् । सरकार गठन गर्न कुनै पनि दल वा गठबन्धनले कम्तीमा ६१ सिट जित्नुपर्ने हुन्छ ।

तर, कुनै पनि राजनीतिक दल वा गठबन्धनले एक्लै बहुमत प्राप्त गर्न नसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा विभिन्न दल मिलेर गठबन्धन सरकार बनाउनुपर्ने हुन सक्छ । नयाँ सरकार गठन हुन केही साता वा महिनासमेत लाग्न सक्ने बताइएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो ।

त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो । उक्त सैन्य कारबाहीमा हालसम्म ७२ हजारभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ ।

Share News