काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनप्रति असन्तुष्टि जनाएका छन् ।
उनले लुइज इनासियो लुला दा सिल्भा आफूलाई मन पर्ने नेता भए पनि निर्वाचनमा गम्भीर अनियमितता भएको जस्तो देखिएको बताएका छन् ।
सोमबार ट्रम्पले भने, ‘मलाई यो सबै निकै खराब लाग्यो । मैले कसैको पक्ष लिएको थिइनँ । तर, यो अर्को धाँधलीपूर्ण निर्वाचनजस्तो देखियो । मैले कसैलाई समर्थन गरेको थिइनँ । तर, निर्वाचन हेर्दा निकै भ्रष्ट र खराब भएको जस्तो लाग्यो ।’
उनले अगाडि भने, ‘जे होस्, म ब्राजिल चलाइरहेको छैन, अमेरिका चलाइरहेको छु । मलाई लुला मन पर्छन् । उनीसँग मेरो सम्बन्ध निकै राम्रो छ । तर, निर्वाचनको सम्पूर्ण प्रक्रिया निकै खराब देखियो । जसरी मतगणना गरियो र समयसीमा बढाइयो, त्यो निकै अनौठो थियो । यसमा धाँधली भएको छ ।’
ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भाले जित हासिल गरेका छन् । उनी चौथोपटक ब्राजिलको राष्ट्रपति बन्ने भएका छन् ।
निर्वाचनमा उनले कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।
विश्वका विभिन्न देशका नेताहरूले लुला दा सिल्भालाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन् ।