काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । एक महिनाअघि मात्रै तोलाको सवा ३ लाख रुपैयाँ पर्ने सुनको मूल्य ४४ हजार रुपैयाँले घटिसकेको छ ।
नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको घट्यै छ । अन्तर्राष्ट्रिय विश्लेषकहरुले पनि सुनको मूल्य घट्ने विश्लेषण गरेका छन् ।
बहुमूल्य धातुको बजारसम्बन्धी सञ्चारमाध्यम किट्को न्युजले गरेको साप्ताहिक सर्वेक्षणमा सहभागी अधिकांश व्यावसायिक विश्लेषकले सुनको मूल्य थप घट्न सक्ने अनुमान गरेका छन् । तर, व्यक्तिगत लगानीकर्ताको ठूलो हिस्सा भने मूल्य पुनः बढ्ने अपेक्षामा छ ।
किट्को न्युजका अनुसार सर्वेक्षणमा सहभागी १७ जना विश्लेषकमध्ये सात जनाले आगामी साता सुनको मूल्य घट्ने अनुमान गरेका छन् । यो कुल सहभागीको ४१ प्रतिशत हो । चार जना अर्थात् २४ प्रतिशतले मूल्य बढ्ने बताएका छन् भने बाँकी छ जना अर्थात् ३५ प्रतिशतले मूल्य स्थिर रहने वा बजारको दिशा अनुमान गर्न कठिन रहेको बताएका छन् ।
सर्वेक्षणमा सहभागी १६१ व्यक्तिगत लगानीकर्तामध्ये ६७ जनाले सुनको मूल्य बढ्ने अनुमान गरेका छन् । यो ४२ प्रतिशत हो । त्यस्तै, ४१ जना अर्थात् करिब २६ प्रतिशतले मूल्य थप घट्ने र ५३ जना अर्थात् ३३ प्रतिशतले स्थिर रहने अपेक्षा गरेका छन् ।
यसले व्यावसायिक विश्लेषकहरू तत्कालीन बजारप्रति बढी सतर्क देखिए पनि व्यक्तिगत लगानीकर्तामा सुनको मूल्य पुनः बढ्ने आशा कायम रहेको देखाउँछ ।
चार हजार डलरको सीमामा सुन
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य गत साता प्रतिऔँस ४ हजार १६४ अमेरिकी डलरबाट कारोबार सुरु भएर सुरुवाती दिनमा ४ हजार १९० डलरसम्म पुगेको थियो । तर, त्यसपछि मूल्यले गति कायम राख्न सकेन । ऊर्जा मूल्यमा वृद्धि, सरकारी ऋणपत्रको प्रतिफल बढ्नु र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर उच्च राख्न सक्ने चिन्ताले सुनमाथि दबाब सिर्जना ग¥यो ।
अक्टोबर २३ को कारोबारमा सुनको मूल्य एक समय प्रतिऔँस ३ हजार ९७५ डलरसम्म झरेको थियो । यो जुनको सुरुदेखिकै न्यून तह भएको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ । त्यसपछि मूल्यमा उतारचढाव देखिए पनि सुनले चार हजार डलरको मनोवैज्ञानिक सीमा आसपास संघर्ष गर्नुपरेको थियो ।
सुनको मूल्य घट्नुको अर्को कारण सेयर बजारमा देखिएको बिक्री चाप पनि हो । प्रविधि कम्पनीका सेयरमा गिरावट आउँदा केही लगानीकर्ताले नगद जुटाउन सुनजस्ता सहजै बिक्री गर्न सकिने सम्पत्ति पनि बेच्नुपरेको विश्लेषण गरिएको छ । यस्तो अवस्थामा सुनले सामान्यतः सुरक्षित लगानीको रूपमा पाउने मागसमेत कमजोर हुन सक्छ ।
किट्को न्युजसँग कुरा गर्दै वाल्श ट्रेडिङका वाणिज्य जोखिम व्यवस्थापन सहनिर्देशक सीन लस्कले सुनको मूल्यमा निकट अवधिमा थप गिरावट आउन सक्ने सम्भावना औँल्याएका छन् ।
उनका अनुसार सुनको मूल्य ४ हजार डलरभन्दा तल झरेमा त्यस आसपासका तहमा खरिदकर्ताको चासो बढ्न सक्छ । उनले बजारको अवस्था हेर्दा सुन प्रतिऔँस ३ हजार ५०० डलरसम्म झरेपछि खरिद गर्ने अवसर आउन सक्ने सम्भावना पनि उल्लेख गरेका छन् । यद्यपि उनले यो निश्चित भविष्यवाणी नभएको र बजारको दिशा अनुमान गर्न कठिन रहेको स्पष्ट पारेका छन् ।
अर्कोतर्फ, एफएक्सप्रोका वरिष्ठ बजार विश्लेषक एलेक्स कुप्त्सिकेभिचले सुनको मूल्य हालको न्यून तहबाट पुनः बढ्न सक्ने बताएका छन् । उनका अनुसार लामो समयदेखि प्रतिऔँस ३ हजार ९५० देखि ४ हजार १०० डलरको दायरामा सुनमा खरिदकर्ताको माग देखिँदै आएको छ । पछिल्लो गिरावट आवश्यकताभन्दा बढी भएको हुन सक्ने भएकाले छोटो अवधिमा मूल्यमा सुधार आउन सक्ने उनको विश्लेषण छ ।
तेलको मूल्य र अमेरिकी ब्याजदरको दबाब
मध्यपूर्वमा जारी तनाव तथा ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने जोखिमले तेलको मूल्य बढाएको छ । तेल महँगिँदा मुद्रास्फीति थप चर्किन सक्ने र त्यसलाई नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ब्याजदर उच्च राख्नुपर्ने सम्भावना बढ्छ ।
सुनले ब्याज प्रदान गर्दैन । त्यसैले ब्याज दिने सरकारी ऋणपत्रको प्रतिफल बढ्दा लगानीकर्ताका लागि सुनको तुलनात्मक आकर्षण घट्न सक्छ । अमेरिकी मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क अपेक्षाभन्दा उच्च आउनु र ब्याजदर फेरि बढ्न सक्ने आशंकाले पछिल्लो गिरावटलाई थप बल दिएको छ ।
आगामी साता अमेरिकी केन्द्रीय बैंकसहित युरोपेली केन्द्रीय बैंक, क्यानडाको केन्द्रीय बैंक र जापानको केन्द्रीय बैंकका निर्णय तथा आर्थिक तथ्याङ्कमा बजारको ध्यान रहनेछ । मुद्रास्फीति घट्ने संकेत देखिएमा सुनको मूल्यमा सुधार आउन सक्छ । तर, ब्याजदर लामो समय उच्च रहने वा थप बढ्ने अपेक्षा बलियो भएमा मूल्यमा दबाब कायम रहन सक्छ ।
नेपालमा सुनको भाउ अझै घट्ला ?
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर र स्थानीय बजारको अवस्थाबाट प्रभावित हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस कति डलर घट्छ भन्ने आधारमा मात्रै नेपालमा प्रतितोला मूल्य कति पुग्छ भनेर निश्चित गर्न सकिँदैन ।
अहिलेको गिरावटपछि पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने सम्भावना पूर्ण रूपमा समाप्त भएको छैन । वाल स्ट्रिटका विश्लेषकको सर्वेक्षणले तत्काल थप गिरावटको जोखिम देखाएको छ । यद्यपि व्यक्तिगत लगानीकर्ताको अपेक्षा र बजारमा मूल्य पुनः बढ्न सक्ने सम्भावनालाई पनि बेवास्ता गर्न मिल्दैन ।
नेपालमा सुनको मूल्य यसअघि प्रतितोला ३ लाख २२ हजार रुपैयाँसम्म पुगेको थियो । त्यहाँबाट घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा आइपुग्नुले बजारमा ठूलो परिवर्तन देखाउँछ ।
सुनको मूल्यमा ठूलो गिरावट आएपछि उपभोक्ता र लगानीकर्ताले खरिद गर्ने उपयुक्त समयबारे चासो राख्नु स्वाभाविक हो । तर, छोटो अवधिमा मूल्यको दिशा स्पष्ट नभएकाले अहिले नै सुन सबैभन्दा सस्तो भएको निष्कर्ष निकाल्नु जोखिमपूर्ण हुन सक्छ ।
गहना बनाउन सुन किन्नुपर्ने उपभोक्ताले आफ्नो आवश्यकता र बजेटलाई प्राथमिकता दिन सक्छन् । लगानीका लागि खरिद गर्नेहरूले भने एकैपटक सबै रकम खर्च गर्नुको सट्टा जोखिम वहन गर्न सक्ने क्षमताअनुसार चरणबद्ध खरिद गर्ने विकल्प विचार गर्न सक्छन् ।