पूर्वबैंकर, सीएदेखि पर्यटन व्यवसायीले हाँकेको बैंक

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबि) को सञ्चालक समितिमा बैंकिङ, वित्तीय व्यवस्थापन, पर्यटन, उद्यमशीलता, पुँजी बजार तथा संस्थागत व्यवस्थापन क्षेत्रको अनुभव भएका व्यक्तिहरू छन् ।

चार्टर्ड एकाउन्टेन्टदेखि पर्यटन व्यवसायी, सेयर लगानीकर्ता र बैंकिङ क्षेत्रका अनुभवी अधिकारीसम्मको प्रतिनिधित्व रहेको समितिमा स्वतन्त्र सञ्चालकका रूपमा लामो बैंकिङ अनुभव भएका व्यक्तिहरू पनि आबद्ध छन् ।

साविकको नेपाल इन्भेस्टमेन्ट बैंक २०४२ माघ ६ गते दर्ता भएको थियो । नेपाल राष्ट्र बैंकबाट सोही वर्ष माघ २२ गते बैंकिङ कारोबारको इजाजत प्राप्त गरेको बैंकले २०७९ पुस २७ गते मेगा बैंक नेपालसँग मर्जर गरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

बैंकले आफ्नो व्यावसायिक विस्तारका क्रममा विभिन्न वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्ति गर्ने प्रक्रिया पनि अघि बढाएको छ । साविकको नेपाल इन्भेस्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक र जेबिल्स फाइनान्सलाई प्राप्ति गरेको थियो । त्यस्तै, साविकको मेगा बैंक नेपालले पश्चिमाञ्चल डेभलपमेन्ट बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर गर्नुका साथै गण्डकी विकास बैंकलाई प्राप्ति गरेको थियो ।

हाल एनआईएमबिको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९४ हजार रुपैयाँ छ । बैंकमा संस्थापक सेयरधनीको ६०.८१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ३९.१९ प्रतिशत स्वामित्व रहेको छ । 

पृथ्वीबहादुर पाँडे 

एनआईएमबिका अध्यक्ष पृथ्वीबहादुर पाँडे चार्टर्ड एकाउन्टेन्ट हुन् । सन् १९७८ मा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेका पाँडेले सन् १९७८ देखि १९८८/८९ सम्म नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा प्रमुखका रूपमा काम गरेका थिए । सन् १९९०/९१ मा राष्ट्रिय वाणिज्य बैंकको महाप्रबन्धक बनेका पाँडेले हिमालयन बैंकमा प्रबन्ध निर्देशकका रूपमा १० वर्षभन्दा बढी समय नेतृत्व सम्हाले ।

केन्द्रीय बैंक, सरकारी स्वामित्वको वाणिज्य बैंक र निजी क्षेत्रको बैंकमा काम गरेको अनुभव उनी विभिन्न कम्पनीमा समेत आबद्ध छन् । छाया इन्भेस्टमेन्ट, द हव नगरकोट आर्केड, कमलय रिसोर्ट, छाया देवी अपार्टमेन्ट, छाया देवी कम्प्लेक्स, हिमालय रिसोर्ट, द लिफ हस्पिटालिटी, द लिफ रिसोर्ट एन्ड स्पा तथा हिमालय इन्फ्रास्ट्रक्चरसहितका कम्पनीमा उनको आबद्धता रहेको विवरण छ । बैंकिङ तथा वित्तीय क्षेत्रसँगै विभिन्न व्यावसायिक क्षेत्रमा उनको संलग्नता छ ।

प्रजन्य राजभण्डारी

सञ्चालक प्रजन्य राजभण्डारीले सन् १९७६ मा मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका हुन् । अध्ययन पूरा गरेपछि उनले विभिन्न कम्पनीमा फरक–फरक पदमा काम गरे । हाल उनी आफ्नै व्यवसायमा संलग्न छन् । व्यावसायिक गतिविधिसँगै राजभण्डारी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छन् । उनले गोरखा दक्षिण बाहु पदवीसमेत प्राप्त गरेका छन् । उनी के.यू.पी. इन्भेस्टमेन्ट प्रालिसँग पनि आबद्ध छन् । 

मदनकुमार आचार्य 

सञ्चालक मदनकुमार आचार्य पर्यटन तथा बैंकिङ क्षेत्रमा अनुभव भएका व्यवसायी हुन् । उनले पर्यटन विषयमा स्नातक गरेका छन् र सर्वोच्च अदालतबाट वकालतको अनुमतिपत्रसमेत प्राप्त गरेका छन् । पर्यटन क्षेत्रमा तीन दशक र बैंकिङ क्षेत्रमा डेढ दशकको अनुभव हासिल गरेका आचार्य लोयल ट्राभल्स एन्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक तथा लोयल आउटडोर प्रालिका अध्यक्ष हुन् । उनी कल्पभूमि रिसोर्ट प्रालिका सञ्चालकका रूपमा पनि आबद्ध छन् । यसबाहेक नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा सदस्यका रूपमा काम गरिसकेका छन् ।

उनले २०५१ देखि २०५४ सालसम्म नेपाल पर्यटन बस संघको महासचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । २०७५ सालमा नेपाल पर्यटन थिंक ट्यांकको समूह सदस्यका रूपमा समेत काम गरेका आचार्यको अनुभव पर्यटन व्यवसाय, संस्थागत नेतृत्व र बैंकिङ क्षेत्रसँग जोडिएको छ ।

कविकुमार टिबरेवाला

सञ्चालक कविकुमार टिबरेवालाले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनी विभिन्न व्यावसायिक क्षेत्रमा लगानी गर्नुका साथै कम्पनी सञ्चालन र व्यवस्थापनमा संलग्न रहँदै आएका छन् । विभिन्न क्षेत्रमा सेयर लगानी गरेका टिबरेवाला युवा उद्यमीका रूपमा परिचित छन् । उनी एमबी पेट्रोल्युब ई प्रालि, सायन होल्डिङ कम्पनी, डेली ग्रोसरी प्रालि तथा सिद्धि म्यानेजमेन्ट प्रालिसँग आबद्ध छन् । 

दिपंकर शाक्य उदई 

दिपंकर शाक्य उदईको मानव संसाधन व्यवस्थापन, कर्मचारी सम्बन्ध तथा संस्थागत व्यवस्थापनमा अनुभव छ । उनले होटल तथा आतिथ्य क्षेत्रमा पनि काम गरेका छन् । शाक्यले होटल डेल अन्नपूर्णमा मानव संसाधनसम्बन्धी जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले कामना सेवा विकास बैंकमा सम्बन्ध व्यवस्थापकका रूपमा काम गरेका थिए । भारतको पुणेस्थित रेडिसन ब्लु होटलमा औद्योगिक प्रशिक्षार्थीका रूपमा काम गर्दा उनले होटलका विभिन्न विभागमा व्यावहारिक अनुभव हासिल गरेका थिए । उनले व्यवस्थापन तथा लेखा विषयमा स्नातकोत्तर र होटल व्यवस्थापनमा स्नातक गरेका छन् । 

शालिकराम बेलबासे 

सञ्चालक शालिकराम बेलबासेसँग पुँजी बजारमा डेढ दशकभन्दा बढीको अनुभव छ । उनले कलेज तहमा अर्थशास्त्र अध्यापन गर्दै एक दशकभन्दा बढीको शैक्षिक अनुभव पनि हासिल गरेका छन् । बेलबासेले अर्थशास्त्र तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

बैंकिङ क्षेत्रमा करिब १० वर्षको अनुभव भएका बेलबासेले साविक नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा सदस्यका रूपमा काम गरेका थिए । उनी विभिन्न वित्तीय संस्था, विद्यालय, कलेज तथा जलविद्युत् परियोजनाका संस्थापक र प्रवद्र्धकसमेत हुन् । बेलबासे म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका आजीवन सदस्य पनि हुन् ।

शोभा श्रेष्ठ

स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठसँग बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव छ । उनले बैंकिङ सञ्चालन, निक्षेप व्यवस्थापन, बजारीकरण, खुद्रा बैंकिङ तथा शाखा व्यवस्थापनलगायत क्षेत्रमा विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हालेकी छन् ।

श्रेष्ठले नेपाल इन्भेस्टमेन्ट बैंकमा करिब ३० वर्ष काम गरेकी थिइन् । बैंकमा रहँदा उनले निक्षेप बजारीकरण प्रमुख, शाखा प्रबन्धक, खुद्रा बैंकिङ प्रमुख तथा कर्जा प्रशासन विभागलगायत जिम्मेवारी सम्हालेकी थिइन् । लामो समय एउटै बैंकमा विभिन्न तह र विभागमा काम गरेको अनुभव उनको व्यावसायिक यात्राको महत्त्वपूर्ण पक्ष हो ।

निक्षेप बजारीकरण प्रमुखका रूपमा कार्यरत रहँदा उनले हरित जलवायु कोषअन्तर्गत बैंकलाई मान्यताप्राप्त संस्थाका रूपमा स्थापित गर्ने प्रक्रियामा वैकल्पिक सम्पर्क व्यक्तिका रूपमा काम गरेकी थिइन् । हाल उनी उपाय बिजनेस सोलुसन्स प्रालिकी प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् ।

साथै, एनआईएमबि र नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा स्वतन्त्र सञ्चालक तथा नेपाल सेन्ट्रल रिन्युएबल इनर्जी फन्डको स्वतन्त्र मूल्याङ्कन समितिमा सदस्यका रूपमा आबद्ध छन् ।श्रेष्ठले त्रिभुवन विश्वविद्यालयअन्तर्गत शंकरदेव क्याम्पसबाट सन् १९९६ मा बजारीकरण तथा लेखाशास्त्र विषयमा एमबीए गरेकी छन् । 

Share News