काठमाडौं । इरानको संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले देशका सर्वोच्च नेता मोजतबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन् ।
मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै उनले खामेनेईको स्वास्थ्यबारे फैलिएका आशंकाबीच यस्तो जानकारी दिएका हुन् ।
उनले भने, ‘मलाई प्रायः सर्वोच्च नेताको स्वास्थ्यबारे प्रश्न सोधिन्छ । म संसद्का सदस्यहरूलाई जानकारी गराउन चाहन्छु कि मोजतबा खामेनेई पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ ।’
पछिल्ला दिनहरूमा इरानी सञ्चारमाध्यमहरूले सभामुख घालिबाफले सर्वोच्च नेता खामेनेईसँग भेट गरेको समाचार प्रकाशित गरेका थिए ।
आफ्ना पिता अली खामेनेईको मृत्युपछि मोजतबा खामेनेई इरानको सर्वोच्च नेता बनेका थिए ।
तर, सर्वोच्च नेताको जिम्मेवारी सम्हालेयता उनको कुनै पनि भिडियो वा अडियो रेकर्डिङ सार्वजनिक भएको छैन ।
अहिलेसम्म उनको नाममा जारी गरिएका लिखित सन्देशहरू मात्रै सार्वजनिक भएका छन् ।
इरानी अधिकारीहरूले सुरक्षा कारणले उनको भिडियो वा अडियो सार्वजनिक नगरिएको बताएका छन् ।
यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि हालै सर्वोच्च नेताको जिम्मेवारी सम्हालेपछि आफूले मोजतबा खामेनेईसँग दुईपटक भेट गरिसकेको बताएका थिए ।