यी हुन् इङ्ल्यान्डले नर्वेलाई हराउन गर्नुपर्ने ६ मुख्य काम
काठमाडौं । तीन सातासम्म कडा संघर्ष, पुनरागमन र अन्तिम क्षणका रोमाञ्चक खेलपछि इङ्ल्यान्डले यस सप्ताहान्तमा २०२६ विश्वकपको क्वार्टरफाइनलमा नर्वेको सामना गर्दैछ । थोमस टुखेलको टोलीले प्रतियोगितामा तुलनात्मक रूपमा सहज यात्रा तय गरेको देखिए पनि त्यो यात्रा त्यति सजिलो भने थिएन । अब भने उनीहरूको अगाडि नर्वेजस्तो अझ कठिन चुनौती उभिएको छ । नर्वेको टोलीको मुख्य आकर्षण विश्व फुटबलका सुपरस्टार अर्लिङ हालान्ड हुन् । उनलाई कप्तान मार्टिन ओडेगार्ड, जुलियन रियरसनलगायत च्याम्पियन्स लिगमा अनुभवी खेलाडीहरूको साथ छ । नर्वे आफ्नो उत्कृष्ट दिनमा इङ्ल्यान्डलाई हराउन पूर्ण रूपमा सक्षम टोली हो । तर यदि ह्यारी केन नेतृत्वको इङ्ल्यान्डले यी ६ महत्त्वपूर्ण पक्षमा सफलता हासिल गर्न सक्यो भने सेमिफाइनल पुग्ने सम्भावना निकै बलियो हुनेछ । १. हालान्डलाई रोक्नूहोस् इङ्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्सले प्रि–म्याच पत्रकार सम्मेलनमा भनेका थिए, ‘के कसैले अर्लिङ हालान्डलाई साँच्चै रोक्न सकेको छ ? मलाई त लाग्दैन । तर हामी प्रयास गर्नेछौं ।’ इङ्ल्यान्डले हालान्डलाई पूर्ण रूपमा रोक्न सक्दैन भन्ने होइन, तर उनलाई नियन्त्रणमा राख्न निकै कठिन हुने कुरा खेलाडीहरूलाई राम्रोसँग थाहा छ । धेरै टोली त्यसमा असफल भएका छन् । म्यानचेस्टर सिटीका यी फरवार्डले नर्वेका लागि पछिल्ला १४ प्रतिस्पर्धात्मक खेलमा २७ गोल गरेका छन् । उनले ती सबै खेलमा गोल गरेका छन्, जसमा २०२६ विश्वकपका चारवटै खेल पनि समावेश छन् । यदि उनले इङ्ल्यान्डविरुद्ध पनि गोल गरे भने विश्वकपमा आफ्नो पहिलो पाँच खेलमै लगातार गोल गर्ने पहिलो खेलाडी बन्नेछन् । यसअघि यस्तो उपलब्धि २०१४ मा कोलम्बियाका जेम्स रोड्रिगेज र युरोपेली खेलाडीमध्ये १९७० मा जर्मनीका गर्ड मुलरले हासिल गरेका थिए । हालान्डको विशेषता भनेको लामो समय खेलमा खासै सक्रिय नदेखिए पनि अवसर पाएलगत्तै घातक बन्नु हो । विश्वकपमा उनले प्रति ९० मिनेट औसत २४.८ पटक मात्र बल छोएका छन्, तर त्यसैबाट सात गोल गरिसकेका छन् । उनका १८ मध्ये १७ प्रहार पहिलो स्पर्शमै भएका छन् । त्यसैले उनी खेलभर शान्त देखिए पनि कुनै पनि क्षण निर्णायक बन्न सक्छन् । रोजर्सको भनाइमा हालान्डलाई रोक्नेभन्दा पनि उनसम्म बल पुग्ने बाटो बन्द गर्नु अझ प्रभावकारी रणनीति हुन सक्छ । २. ओडेगार्डलाई खेल बनाउन नदिनूहोस् हालान्डसम्म बल पुर्याउने नर्वेको सबैभन्दा ठूलो हतियार कप्तान मार्टिन ओडेगार्ड हुन् । ओडेगार्डले विश्वकपका पहिलो तीन खेलमा लगातार असिस्ट दिएका थिए । यस प्रतियोगितामा उनी सबैभन्दा धेरै गोलको अवसर सिर्जना गर्ने खेलाडीमध्ये एक हुन् । उनी केवल असिस्ट दिने खेलाडी मात्र होइनन्, विपक्षीको डिफेन्स चिर्दै बल अगाडि बढाउने जिम्मेवारी पनि उनकै काँधमा हुन्छ । क्वार्टरफाइनलअघि उच्च दबाबमा विपक्षीको रक्षापङ्क्ति तोड्ने पास दिने खेलाडीमा उनी संयुक्त रूपमा शीर्ष स्थानमा थिए । साथै उनले नर्वेका अन्य कुनै पनि खेलाडीभन्दा बढी पटक विपक्षीको पेनाल्टी क्षेत्रभित्र पास पुर्याएका छन् । त्यसैले इङ्ल्यान्डले ओडेगार्डलाई प्रभावहीन बनाउन सके हालान्डको प्रभाव पनि स्वतः कम हुनेछ । ३. नर्वेको दाहिने रक्षापट्टिबाट आक्रमण गर्नूहोस् इङ्ल्यान्डले हालान्ड र ओडेगार्डबाट आउने खतरा नियन्त्रण गर्नु त आवश्यक छ नै, त्यससँगै आक्रामक खेल पनि देखाउनुपर्नेछ । किनभने हालान्डले फेरि गोल गर्ने सम्भावना उच्च छ, त्यसैले जित्न कम्तीमा दुई गोल आवश्यक पर्न सक्छ । नर्वेको आक्रमण निकै बलियो भए पनि रक्षापङ्क्ति भने पूर्ण रूपमा भरपर्दो छैन । उनीहरूले विश्वकपका पहिलो पाँच खेलमा १२ गोल गरे पनि ९ गोल खाएका छन् । उनीहरू यहाँसम्म मुख्यतः आक्रमणको बलमा आइपुगेका हुन्, रक्षाको कारण होइन । विशेषगरी नर्वेले आफ्नो दाहिने रक्षापट्टिबाट आएका क्रसमा कमजोरी देखाएको छ । इराक, सेनेगल र फ्रान्सविरुद्ध यही क्षेत्रबाट खुला खेलमा तीन गोल खाएको तथ्याङ्क छ । साथै विश्वकपमा सबैभन्दा धेरै क्रसबाट प्रहार पनि नर्वेकै पोस्टतर्फ भएको छ । उता इङ्ल्यान्डले भने विश्वकपमा चार हेडर गोल गरिसकेको छ, जसमा तीन गोल लेफ्ट विङबाट आएको क्रसमा सम्भव भएको हो । त्यसैले एन्थोनी गोर्डनजस्ता खेलाडीले निर्णायक भूमिका खेल्न सक्छन् । ४. तीव्रता कायम राख्दै ऊर्जा पनि बचाउनुहोस् विश्वकपमा मौसम र खेलस्थलले पनि ठूलो प्रभाव पार्छ । मेक्सिको सिटीमा उचाइ चुनौती बनेको थियो भने यसपटक मियामीको अत्यधिक गर्मी इङ्ल्यान्डका लागि परीक्षा हुनेछ । स्थानीय समयअनुसार साँझ ५ बजे खेल सुरु हुँदा तापक्रम करिब ३३ डिग्री सेल्सियस रहने र आद्र्रताका कारण अनुभूत तापक्रम ४३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । टुखेलले सुरुदेखि नै आफ्नो टोलीलाई प्रिमियर लिग शैलीको तीव्र, शारीरिक र आक्रामक फुटबल खेलाउन चाहेको बताएका छन् । इङ्ल्यान्डले यस विश्वकपमा उच्च प्रेसिङमार्फत उत्कृष्ट प्रदर्शन पनि गरेको छ । तर यस्तो गर्मीमा निरन्तर प्रेसिङ गर्दा खेलाडीहरू चाँडै थाक्न सक्छन् । त्यसैले इङ्ल्यान्डले आवश्यक बेला बल आफ्नो नियन्त्रणमा राख्दै ऊर्जा बचाउन र विवेकपूर्ण रूपमा प्रेसिङ गर्नुपर्ने विश्लेषण गरिएको छ । ५. सेकेन्ड बलमा नियन्त्रण कायम राख्नूहोस् नर्वे प्राविधिक रूपमा कमजोर टोली होइन, तर उनीहरू लामो पासमार्फत छिट्टै आक्रमण निर्माण गर्न रुचाउँछन् । राइट विङमा ६ फिट ५ इन्च अग्ला अलेक्जान्डर सोर्लोथलाई खेलाउनु पनि यही रणनीतिको हिस्सा हो । यस विश्वकपमा नर्वेले आफ्नै गोलकिपरबाट विपक्षीको क्षेत्रमा लामो गोल–किक खेलाउने टोलीमध्ये अग्रस्थानमा रहेको छ । गोलकिपर ओर्जान नाइलान्डबाट सोर्लोथतर्फ जाने लामो पास उनीहरूको सबैभन्दा धेरै प्रयोग हुने आक्रमणको माध्यम बनेको छ । यदि इङ्ल्यान्डले उच्च प्रेसिङ गर्यो भने नर्वेले बल सिधै हालान्ड वा सोर्लोथतर्फ उछाल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पहिलो हेडर जित्नु मात्र पर्याप्त हुँदैन, त्यसपछि खस्ने ‘सेकेन्ड बल’ पनि आफ्नो नियन्त्रणमा लिनुपर्ने हुन्छ । यस पक्षमा इङ्ल्यान्ड बलियो देखिन्छ । विश्वकपमा टोलीको ड्युल जित्ने प्रतिशत ५४.५ रहेको छ, जबकि इलियट एन्डरसन, जुड बेलिङ्घम र डेक्लान राइसले बल पुनः कब्जामा लिन उत्कृष्ट प्रदर्शन गरेका छन् । यी तीन मिडफिल्डरको प्रदर्शन इङ्ल्यान्डको सफलताका लागि निर्णायक बन्न सक्छ । ६. ठूला प्रतियोगिताको अनुभवको फाइदा उठाउनूहोस् इङ्ल्यान्डसँग ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको प्रशस्त अनुभव छ । २०१६ को युरोकपमा आइसल्यान्डसँग अप्रत्याशित हार बेहोरेपछि प्रशिक्षक गारेथ साउथगेटको आगमनसँगै टोलीले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । साउथगेटको नेतृत्वमा इङ्ल्यान्ड २०१८ विश्वकपको सेमिफाइनल पुगेको थियो । २०२२ विश्वकपमा फ्रान्ससँग क्वार्टरफाइनलमा पराजित भए पनि त्यसअघि र त्यसपछि दुवै युरोकपको फाइनल खेलेको थियो । यसपटक क्वार्टरफाइनलमा पुगेसँगै इङ्ल्यान्ड विश्वकपको अन्तिम आठमा पुग्ने इतिहासमा ११औं पटक सफल भएको छ । ब्राजिल र जर्मनीमात्र यस मामिलामा इङ्ल्यान्डभन्दा अगाडि छन् । यता नर्वेका लागि भने यो नयाँ अनुभव हो । उनीहरू पहिलो पटक कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका हुन् । आइभरी कोस्ट र ब्राजिलमाथिको जित पनि नर्वेको नकआउट चरणमा पहिलो दुई जित हुन् । इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड, कप्तान ह्यारी केनलगायत खेलाडीहरू दबाबपूर्ण खेल खेल्न अभ्यस्त छन् । पिकफोर्ड मैदान उत्रिए विश्वकपमा इङ्ल्यान्डका लागि आफ्नो १८औं खेल खेल्नेछन् र यससँगै उनी पिटर शिल्टनलाई पछि पार्दै विश्वकपमा इङ्ल्यान्डका सबैभन्दा अनुभवी खेलाडी बन्नेछन् । यही अनुभवलाई सही रूपमा उपयोग गर्न सके इङ्ल्यान्डले नर्वेको चुनौती पार गर्न सक्ने विश्लेषण गरिएको छ । (अप्टा एनालाइसिसबाट अनुदित तथा सम्पादित) अन्य सान्दर्भिक सामग्रीहरू : हालान्डको नाममै उन्माद ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
हालान्डको नाममै उन्माद
काठमाडौं । विश्व फुटबलका चर्चित स्ट्राइकर अर्लिङ हालान्ड सधैंजसो चर्चाको केन्द्रमा रहने गरेका छन् । तर यसपटक उनको लोकप्रियता नयाँ उचाइमा पुगेको छ । नर्वे आफ्नो इतिहासकै सबैभन्दा ठूलो खेल, विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग भिड्न तयारी गरिरहँदा हालान्डप्रतिको आकर्षण चरम सीमामा पुगेको हो । २५ वर्षीय हालान्डले अहिले सम्पूर्ण राष्ट्रको आशा बोकेका छन् । तर उनी भने यस क्षणको भरपुर आनन्द लिइरहेका देखिन्छन् । उनको लोकप्रियताको स्तर यति धेरै बढेको छ कि त्यसलाई बेवास्ता गर्नै सकिँदैन । ‘आज गर्ने एउटा काम... गुगलमा मेरो नाम खोज्नूहोस्,’ हालान्डले सामाजिक सञ्जालमार्फत लेखेका थिए । One thing to do today… search my name on Google 😉 — Erling Haaland (@Erling) July 9, 2026 गुगलमा उनको नाम खोज्दा अहिले चर्चित बनेको ‘भाइकिङ रो’ विशेष प्रभावसहित देखिन्छ, जसमा नर्वेको विश्वकप यात्राको प्रतीक बनेको दमदार ड्रमको ताल पनि समावेश गरिएको छ । २८ वर्षपछि विश्वकपमा स्थान बनाएको नर्वेले प्रतियोगितामा ऐतिहासिक प्रदर्शन गर्दै ब्राजिललाई पराजित गरेपछि हालान्ड राष्ट्रिय नायक बनेका हुन् । फुटबलमा खासै रुचि नराख्ने समर्थकहरू पनि उनको प्रदर्शनबाट प्रभावित भएका छन् । सामाजिक सञ्जालमा हालान्डलाई इंग्ल्यान्डविरुद्ध भाइकिङ सेनाको नेतृत्व गरिरहेको देखाइएका कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका भिडियोदेखि उनलाई के–पप स्टारका रूपमा पुनःकल्पना गरिएका सामग्रीसम्म भाइरल भइरहेका छन् । यसले उनी अहिले विश्वकै सबैभन्दा चिनिने व्यक्तिमध्ये एक बनेको पुष्टि गर्छ। उनका सामाजिक सञ्जालमा करोडौं फलोअर छन् भने ‘हालान्ड’गीत विश्वकपका मीम, हाइलाइट्स र उत्सवका भिडियोहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ । नर्वेको प्रशिक्षण शिविर, इन्टर मियामीमा पनि सञ्चारमाध्यमको अभूतपूर्व भीड देखिएको छ । क्यामेरा र पत्रकारहरूको उपस्थितिले हालान्डको लोकप्रियताको स्तर स्पष्ट देखाउँछ । ‘सायद यो अहिलेसम्मकै सबैभन्दा ठूलो पत्रकार सम्मेलन हो,’ मिडफिल्डर मोर्टेन थोस्र्बीले सञ्चारकर्मीहरूको भीडतर्फ हेर्दै भने । ‘मैले यस्तो हुने कल्पना गरेको थिइनँ’ हालान्ड गोल्डेन बुटको दौडमा समेत रहेका छन् । उनले नर्वेसँगको आफ्नो सफलताको यस्तो रूप आउने कल्पना नगरेको स्वीकार गरे । ‘मैले यो बिल्कुलै अपेक्षा गरेको थिइनँ । ब्राजिलसँगको खेलअघि पनि मैले यस्तो सोचेकै थिइनँ,’ उनले भने, ‘विश्वकपमा नर्वेसँग क्वार्टरफाइनलसम्म पुग्नु मेरो लागि पनि निकै आश्चर्यको विषय हो ।’ उनले विश्वकप खेल्न पाउनु आफ्नो करिअरकै ठूलो सपना र सम्मान भएको बताए । ‘विश्वकै उत्कृष्ट टोलीहरूविरुद्ध आफ्ना नर्वेजियन साथीहरूसँग विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा खेल्न पाउनु अत्यन्त विशेष अनुभव हो,’ उनले भने । ‘हालान्ड सेलिब्रिटी होइनन्, प्रेरणा हुन्’ हालान्डका सहकर्मीहरू भने उनको गोलभन्दा बढी उनको सरल स्वभावको प्रशंसा गर्छन् । मिडफिल्डर क्रिस्टियन थोर्स्टभेटका अनुसार हालान्ड उनीहरूका लागि सेलिब्रिटीभन्दा प्रेरणाका स्रोत हुन् । ‘हरेक खेलाडीको आफ्नो जीवनशैली र अभ्यास गर्ने तरिका हुन्छ । हामी एकअर्काबाट व्यावसायिकता सिक्छौं र फुटबलबाहिर मानसिक रूपमा कसरी सन्तुलित रहने भन्ने कुरा पनि बुझ्छौं,’ उनले भने । ‘अर्लिङको आफ्नै शैली छ । उनी यति सफल भइरहेका बेला उनीबाट के सिक्न सकिन्छ भन्ने जान्न हामी सबै उत्सुक हुन्छौं ।’ ‘यो नर्वेका लागि सामान्य होइन’ अन्तिम १६ मा पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएको क्षण नर्वेली समर्थकहरूका लागि अझै अविश्वसनीयजस्तै लागिरहेको छ । त्यस जितले टोलीको आत्मविश्वास पनि निकै बढाएको हालान्ड बताउँछन् । ‘ब्राजिलविरुद्ध खेल्नु नै हाम्रो लागि असाधारण थियो । त्यसपछि ब्राजिललाई हराएर अमेरिकामा विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग खेल्न पाउनु झन् विशेष अनुभव हो,’ उनले भने । ‘यदि तपाईं नर्वेका दृश्यहरू हेर्नुहुन्छ भने यो हाम्रो देशका लागि सामान्य कुरा होइन। यो साँच्चै असाधारण क्षण हो,’ उनले थपे । नर्वेली समर्थकहरूले आफ्नो परीकथाजस्तै विश्वकप यात्राको खुसी न्यूयोर्कको टाइम्स स्क्वायरदेखि बोस्टनका एस्केलेटरसम्म ‘भाइकिङ रो’ प्रदर्शन गरेर मनाइरहेका छन् । हालान्ड स्वयं पनि यस माहोलको खुलेर आनन्द लिइरहेका छन् । ‘ठट्टा–मजाक गर्न सक्नु महत्त्वपूर्ण हुन्छ । मलाई रमाइलो गर्न मन पर्छ । दैनिक जीवनमा खुसी रहन, राम्रो प्रशिक्षण गर्न र उत्कृष्ट तयारी गर्न यही मेरो मन्त्र हो,’ उनले भने । ‘हामी अहिले विश्वकप खेलिरहेका छौं । त्यसैले यो क्षणलाई भरपुर आनन्द लिनुपर्छ, किनकि कुनै पनि कुरा सधैं रहँदैन । यहाँ रहुञ्जेल यसलाई मनभरि बाँच्नुपर्छ,’ उनले थपे । अन्य सान्दर्भिक सामग्रीहरू : ‘विश्वकप पहिले नै तय थियो ?’ अर्जेन्टिनालाई लिएर फैलिएका षड्यन्त्रका दाबीहरू विश्वकपमा अनुभवको दबदबा, इतिहासकै सबैभन्दा बढी उमेरका खेलाडी मैदानमा विश्वकपको उपाधि होड थप रोमाञ्चक क्रिस्टियानो रोनाल्डो : इतिहास रचे, तर विश्वकप ट्रफी चुम्न सकेनन् हालान्ड : दि नर्वेजियन हिरो चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ?
कृष्णा पौडेल उत्तरी अमेरिकी राष्ट्रमा फुटबलको महाकुम्भ मेला फिफा विश्वकपले विश्वकै ध्यान आकर्षित गरिरहेको छ । विश्वकपमा ४८ देशका १ हजार २ सय ४८ खेलाडीको प्रत्यक्ष सहभागिता रह्यो । सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिने फिफा विश्वकपमा विशेष त युवा वर्ग बढी आकर्षित छन् । विश्वभरका खेलाडीहरू हरेक युवाका आइकन पनि हुन् । विश्वकप फुटबलजस्तै अर्को चासोको विषय हो, जलवायु परिवर्तन । पृथ्वीको तापक्रम वृद्धिसँगै विश्वभरनै जलवायु जन्य विपद्का घटना बढ्दै गइरहेका बेला यो अभियानमा युवाहरुको सहभागीतालाई महत्वपूर्ण खम्बाको रुपमा हेरिएको छ । जलवायु परिवर्तनका अलराउण्डरका रूपमा युवालाई अघि बढाउनुपर्छ भन्ने अवधारणाअनुसार जलवायु कार्यमा कार्यरत संघसंस्था वर्गलाई प्राथमिकता दिएको पाइन्छ । अलराउण्ड भनेको सबै क्षेत्र र रणनीतिमा आफूलाई तयार बनाउनु हो । विश्वकप फुटबलका हरेक खेल र गोलमा चासो राखे जस्तै जलवायु कार्यमा पनि युवाको चासो आवश्यक छ । यसै सन्र्दभमा काठमाडौंमा जलवायु कार्य, विश्वकप र युवा सहभागीता विषयक कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी युवाहरुले फुटबल मैदानको रणनीतिलाई विश्व जलवायु कार्यसँग तुलना गरेर रोचक प्रश्तुती गरे । फुटबलको मैदानमा खेलाडीको भुमिका जस्तै विश्व जलवायु कार्यको मैदानमा त्यसका सरोकारवालाको भुमिका जोडेर गरिएको युवासमुहको प्रश्तुती प्रभावकारी र सिर्जनात्मक थियो । फुटबलको मैदानमा रक्षापंक्ति, मिडफिल्ड र फरवार्ड गरी तीन पक्षको महत्वपूर्ण भुमिका रहने गर्दछ । त्यसैगरी जलवायु कार्यका लागि पनि सरकार, विभिन्न अन्तर्राष्ट्रिय निकाय र संघसंस्थाले फरकफरक भुमिका निर्वाह गरिरहेका हुन्छन् । यी सरोकार पक्षको प्रत्यक्ष अनि प्रभावकारी सहभागितामा मात्र जलवायु कार्यमा सफलता मिल्छ । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दैै आएको प्रकृति रिसोर्सेस सेन्टरले गरेको कार्यक्रममा सहभागी युवाहरुले जलवायु कार्यका लागि रक्षापंक्ति, मिडफिल्ड, फरवार्ड एवं गोलकिपरको रुपमा विभिन्न संस्थाहरुलाई राखेर जलवायु परिवर्तनको विश्वव्यापी असरलाई नजरअन्दाज नगर्न चेतावनी दिए । पेरिस सम्झौतासँगै जलवायुकार्यका विभिन्न कोषहरुबाट अलग रहेको अमेरिकालाई जिम्मेवारीबाट बाहिर गएमा पराजित हुनुपर्ने सन्देश पनि दिए । एउटा समूहकी सहभागीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोलकिपरका रूपमा राखेर डिफेन्डर, मिडफिल्डर र फरवार्ड लाइनमा राम्रो संयोजन गर्दै गोल गरेर ढाल्ने प्रश्तुती दिइन् । विभिन्न समूहमा रहेका युवाहरूले सबै सरोकारवालालाई जलवायु कार्यका खेलाडीको रुपमा परिभाषित गर्दै जलवायु कार्यको रणनीतिक मैदानमा चित्रण गरेका थिए । केहीले कार्बन उत्सर्जनमा महत्वपूर्ण भुमिका खेलेका देशलाई बढी जिम्मेवार हुनुपर्नेमा जोड दिँदै मुख्य भुमिकामा राखे । केही युवाले आन्तरिक तयारीलाई प्राथमिकतामा राखि सबै सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, समुदाय लगायतलाई क्षमता र कार्यप्रकृतिअनुसारको भुमिकामा राखे । जलवायु कार्यमा कसरी गोल गर्न सकिन्छ ? अर्थात् जलवायु परिवर्तनमा कसको भुमिका कस्तो स्थानमा रहने ? केन्द्रिय सरकारको भुमिका कस्तो हुने ? नागरिक समाज, समाजिक संस्था, युवा र अन्तर्राष्ट्रिय निकायलाई पनि खेलाडीको रुपमा प्रश्तुत गरियो । सरकारको भुमिका फरवार्ड लाइनमा राखि जलवायु कार्यमा गोल हान्न सफल बनाउने ढंगको प्रश्तुती पनि युवाहरुले गरे । केही युवाले मिडफिल्डमा नीति निर्माण सम्बन्धि काम गर्ने संस्थालाई राखी समुदाय र अनुसन्धानकर्तालाई स्ट्राइकर बनाएर गोल हान्ने वातावरणको सिर्जना गरे । संयुक्त राष्ट्र संघ (युएन) मा १ सय ९५ राष्ट्र आवद्ध छन् । तर विश्व फुटबल महासंघ (फिफा)मा २ सय १२ राष्ट्र सदस्य छन् । प्रकृति रिसोर्सेस सेन्टरका कार्यक्रम व्यवस्थापक सन्तकुमार महर्जनले विश्वकपमा सहभागी हरेक राष्ट्रलाई क्लाइमेट एक्टरको रूपमा अगाडि बढाउन सके विश्वभर नै सकारात्मक सन्देश जाने उल्लेख गरे । संघीय, प्रादेशिक र स्थानीय सरकार, वित्तीय संस्था, समुदाय लगायत सरोकारवालाले महत्व र भुमिकाका आधारमा फुटबल मैदानका खेलाडीले जस्तै भुमिका निर्वाह गरे जलवायु कार्यमा सफलता प्राप्त गर्न सकिने उनको धारणा थियो । क्लाइमेट एक्टरको भुमिका स्पष्ट गर्नसक्दा मात्रै पनि जलवायुकार्यमा धेरै काम गर्न सकिने तर्क सहभागीको थियो । कार्यक्रममा सहभागी युवाहरुले आफ्नो मनपर्ने देशको जर्सी लगाएर फुटबल खेल्नुको साथै ती देशलाई जलवायु सन्देश पनि दिएका थिए । प्रकृति रिसोर्सेस सेन्टरकी कार्यक्रम संयोजक प्रज्ञा शेरचनले फुबटलको माध्यमबाट युवा जलवायु अभियन्तामार्फत विश्वका नेताहरूलाई जलवायु कार्यबाट बाहेक हुन नहुने सन्देश दिने प्रयास गरिएको बताए । कार्यक्रममार्फत युवाहरुले संयुक्तराष्ट्रसंघीय जलवायु महासन्धिका सदस्य राष्ट्रहरुले कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउन लिएको लक्ष्य हासिल गर्न जिम्मेवार बन्न र विश्वकप फुटबलको आयोजक फिफालाई जलवायुमैत्री प्रतियोगिता बनाउनुपर्ने सन्देश दिएका थिए । जलवायु परिवर्तन सम्बन्धी सयुक्त राष्ट्रसंघ महासन्धिका सदस्य राष्ट्रहरुको दुबईमा भएको २८ औँ विश्व जलवायु सम्मेलनले यो सताब्दीको मध्येसम्म विश्वमै कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउने लक्ष्य निर्धारण गरेको थियो । विश्वमै बढी कार्बन उत्सर्जन गर्ने देश चीनले विश्वको कुल कार्बन उत्सर्जनको करिव ३३ प्रतिशत हिस्सा ओगटेको छ । चीनले सन् २०६० सम्म कार्बन उत्सर्जनलाई नेट जिरोमा पुर्याउने लक्ष्य लिएको छ । त्यसैगरी विश्वको कुल उत्सर्जनको ११ प्रतिशत हिस्सा ओगटेर दोस्रो स्थानमा रहेको मुलुक अमेरिकाले कुनैपनि लक्ष्य निर्धारण गरेको छैन । उसले जलवायु कार्यलाई नै वहिष्कार गरेको स्थिति छ । विश्वको कुल कार्बन उत्सर्जनको करिव ८ प्रतिशत हिस्सा ओगटेको भारतले सन् २०७० सम्म नेट जिरोमा पुग्ने लक्ष्य लिएको छ । युरोपले लिएको लक्ष्य सकारात्मक रुपमा अघि बढेको छ । कार्बन उत्सर्जन घटाउने सिद्धान्त अनुसारका भौतिक पूर्वाधारहरु निर्माण भएका छन् । पछिल्लो समयमा चर्किंदै गएको द्वन्द्वका कारण लक्ष्य प्राप्तिको मार्गमा केही अवरोध हुने देखिएपनि युरोप आफ्नो लक्ष्य प्राप्तिको दिशामा अघि बढेको देखिन्छ । फिफाले सन् २०३३ देखि २६ सम्मको बजेट ११ अर्ब डलर घोषणा गरेको थियो । यति ठूलो बजेट र प्रतियोगिताले उत्सर्जन गर्ने कार्बनको परिमाण कति हो ? त्यसले वहन गर्नुपर्ने जलवायु दायित्व कति हो ? कूल बजेटको कति प्रतिशत उत्सर्जन न्युनिकरणमा छुट्याउनुपर्छ ? ग्लोबल कार्बन एकाउन्टिङ प्लेटफर्म (ग्रीनली) काअनुसार यो प्रतियोगिता सञ्चालनका क्रममा लगभग ७७ लाख ६७ हजार ५ सय ४३ टक कार्बन उत्सर्जन हुनेछ । ग्रीनलीले दर्शकको यात्रा, होटल तथा आवास, शहरभित्रको यातायात, खाना, रंगशाला सञ्चालन, टिम तथा खेलाडीहरुको यात्रा लगायत शिर्षकमा छुट्टा छुट्टै उत्सर्जन परिमाण प्रक्षेपण गरेको छ । अहिले विश्वकप खेलाइएका १३ रंगशालाले विश्वकै प्रतिष्ठित हरित भवन मूल्यांकन प्रणाली ‘एलइइडी’को प्रमाणपत्र प्राप्त गरेका छन् । हरित भवन प्रविधिले विश्वकप २०२२ को तुलनामा रंगशालाबाट निस्कने उत्सर्जन घटेपनि अहिले खेलहरु भइरहेका स्थानको दूरी लामो भएका कारण सबै भन्दा बढी उत्सर्जन दर्शकहरुको यातायातबाट भएको छ । यसले सन् २०२२ को ३६ लाख टनलाई दुई गुणा बढाएर झन्डै ७८ लाख टन उत्सर्जन पुर्याएको हो । यद्यपि आयोजक राष्ट्रबाट केही राम्रा अभ्यास भने भएका छन् । फुटबल समर्थकले प्रयोग गर्ने हरेक पर्चा, पम्पलेटमा प्लास्टिकको प्रयोग निषेध गरिएको छ । विद्युतीय सवारी साधन प्रयोगमा जोड दिइएको छ । फिफाले हरेक प्रतियोगिताबाट उत्सर्जन गरेको कार्बनको परिमाणको तुलनामा उत्सर्जन कम गर्न गरेको प्रयास नगन्य छ । यसको मतलव विश्वकपका दर्शकहरुलाई निषेध गर्नु वा यो उत्साहको घेरालाई साँघुरो बनाउनु भन्ने होइन । सवाल वातावरणीय लागत स्वीकारको हो । फिफाले जलवायु कार्यका लागि कति खर्च गरेको छ भन्ने विश्लेषण हुनु जरुरी छ । ठूला कार्यक्रममा हुने कार्बन उत्सर्जनको मापन गरी न्युनिकरणका लागि लगानी गर्न आवश्यक छ । यस्ता इभेन्टलाई नेट निजोको अवधारणामा कसरी कार्यान्वयन गर्ने, उत्सर्जन घटाउन आयोजकले के गर्ने भन्नेमा प्रभावकारी बहस गरिनुपर्छ । विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? के २०३० को विश्वकप नेट जिरो हुन्छ त ? कहिलेदेखि फिफाले नेट जिरोको अवधारणाबाट प्रतियोगिता सञ्चालन गर्नसक्छ ? यस्ता सवालमा व्यापक छलफल आवश्यक छ ।